Samadhan National Daily

      स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्ता हुन सकेन, बहाना ‘चलानी नम्बर’काे

      पाेखरा, १५ आश्विन:

      तलब नपाएको तथा करारलाई स्थायी नियुक्ति दिनुपर्ने मागसहित हड्तालमा उत्रिएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र प्रशासनबीच आइतबार वार्ता हुन सकेन ।

      अस्पताल प्रशासनले चलानी नम्बर नै नभएको चिठी पठाएर वार्तामा बोलाएको भन्दै आफूहरु सहभागी नभएको प्रतिष्ठान कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।

      ‘प्रशासनले पठाएको चिठीमा चलानी नम्बर नै थिएन । आधिकारिक सूचना बिना हामी कसरी वार्तामा जाने र ? आइतबार २ बजे हुने भनिएको वार्ता भएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘चलानी नम्बर बिना चिठी पठाउने एउटा जिम्मेवार निकाय कसरी गैर जिम्मेवार बन्न सक्छ ?’ कर्मचारी युनियनले राखेको माग पूरा नभएसम्म हड्ताल जारी रहने अध्यक्ष श्रेष्ठले सुनाए ।

      युनियनका सदस्य शंकर भण्डारीले प्रतिष्ठानले आफूहरुको माग सम्बोधन नगरे अझै सशक्त रुपमा अघि बढ्ने बताए । उनले भने, ‘स्थायी कर्मचारीको पनि स्तर बृद्धि भएको छैन । करारले अझै स्थायी नियुक्ति पाएका छैनन् । यी कुरा सम्बोधन नभए अझै कडा रुपमा जान्छौं ।’ कर्मचारी आन्दोलनका कारण प्रतिष्ठानमातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अत्यावश्यक बाहेक सबै सेवा थप्प छन् ।

      प्रतिष्ठान प्रशासनले भने ३ महिनादेखि रोकिएको तलब खातामा जम्मा गरिदिइसकेको जनाको छ । प्रतिष्ठानका लेखाप्रमुख ईन्द्रप्रसाद पौडेलले भने, ‘सिनेटका कारण रोकिएको तलब शुक्रबार नै खातामा जम्मा गरिदिइसकेका छौं ।’

      प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाले प्रतिष्ठानको कार्य क्षेत्रमा भएको माग पूरा गरिसकेको र बाँकी क्षेत्राधिकारभन्दा बाहिर भएकाले आफूहरु असमर्थ भएको बताए । उनले भने, ‘अस्थायीलाई स्थायी बनाउने हाम्रो कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो । हामी कसरी सम्बोधन गर्न सक्छौं ?’

      युनियनले प्रतिष्ठानमा कार्यरत करार कर्मचारीलाई समयमा तलब व्यवस्था गर्नुपर्ने, उनीहरुलाई यथाशीघ्र स्थायी नियुक्ति पत्र दिनुपर्ने र स्थायी कर्मचारीको स्तर बृद्धि गर्नुपर्ने लगायत माग राखेर गत बिहीबारदेखि काम छाडेर हडतालमा उत्रिएका छन् ।


      प्रतिकृया दिनुहोस्