Samadhan National Daily

      कुश्माका शैक्षिक संस्थाको अवस्था र गुणस्तरमा सुधार

      पर्वत, २१ आश्विन:

      कुस्मा नगर शिक्षा शाखाले नगरभित्रका विद्यालयमा अनुगमनलाई तीव्रता दिएको छ । सामुदायिक तथा निजी विद्यालयको अनुगमनपछि शैक्षिक संस्थाको अवस्था र गुणस्तरमा सुधार देखिएको छ ।

      कुस्मा नगर क्षेत्रमा ६७ सामुदायिक र १४ निजी विद्यालय सञ्चालन भएका छन् । नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, स्रोत व्यक्तिसहित विषय शिक्षक अनुगमनमा नियमित जाने गरेका छन् । संस्थागत विद्यालयमा मासिक शुल्क, पाठ्यक्रमको प्रकार, लेखा परीक्षण, व्यवस्थापन समिति, विद्यार्थीको नतिजा मूल्याङ्कन लगायतमा चासो बढाएका छन् । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको पढाइ अवस्था, कक्षा अवलोकन जस्ता क्रियाकलापको अवलोकन गरेका छन् ।

      ‘हामीले प्राय छड्के अवलोकन गर्छौ,’ शिक्षा शाखाका अधिकृत क्षेत्रीले भने, ‘कमजोरी भएमा विद्यालयका प्रधानाध्यापकलाई सच्याउन आग्रह गर्छाैं,’ क्षेत्रीले भने । प्रअबाट सुधार नआएमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित प्रधानाध्यापक, शिक्षकसँगै बसेर समस्याको समाधान खोजिने उनले बताए ।

      कुस्मा नगरपालिकाका धेरैजसो सामुदायिक विद्यालयहरुमा इसिडी तथा अंग्रेजी माध्यमका कक्षाहरु सञ्चालन भइसकेका छन् । इसिडी शिक्षकको पारिश्रमिक कमी तथा शिक्षक दरबन्दी मिलान नहुँदा समस्या भएको डाँडाखर्कको पञ्चकोशी माविका प्रअ अर्जुन शर्माले बताए । कालिका मावि खुर्कोटको ५ कोठे भवन निर्माणमा सहयोग गर्न नगरपालिका र नगरशिक्षा शाखासँग प्रअ बाबुराम शर्माले आग्रह गरेका छन् ।

      सामुदायिक विद्यालयले संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न थालेका छन् । संस्थागत विद्यालयले आधुनिक र वैज्ञानिक स्तरको पढाइको सुरुआत गर्न खोजेका छन् । नगर शिक्षाले समयसमयमा शिक्षकको क्षमता वृद्धि गर्न तालिमसमेत आयोजना गरेको छ । कुस्मा ठुलीपोखरीको जनता सुदर्शन माविका शिक्षक आनन्द रिमाले भने, ‘यसरी तालिम पटक पटक दिंदा शिक्षकको क्षमतामा सुधार आउँछ ।’


      प्रतिकृया दिनुहोस्