Samadhan National Daily

      जीवनमा ऊर्जा थप्ने ‘प्रिय सुफी’

      पाेखरा, २१ आश्विन:

      ‘जिन्दगी साचे जस्तो कसैको हुँदैन । तर जिन्दगीमा सोच्नै छाडनु चाहिँ कसैले हुन्न’ यो वाक्यांश हो उपन्यासकार सुबिन भट्टराइको नवीनतम् कृति ‘प्रिय सुफी’ को ।

      कथाकी पात्र, समर लव, साया, मनसुनपछि अहिले प्रिय सुफीले पाठकको मन जित्न सफल भएका छन् सुबिन । उनी प्रेमरसले भरिपूर्ण उपन्यास लेख्ने लेखकका रुपमा ख्यातिप्राप्त लेखक हुन् । यो उपन्यासले लेखक भट्टराईलाई बहुआयामिक लेखकको रुपमा स्थापित गर्छ ।

      यो नयाँ कृति प्रिय सुफीमा पनि प्रेमका रङ छताछुल्ल छन् । तर यो पुस्तकमा पहिल्यैका कृतिमा जस्तो युवायुवती बीचको प्रेममात्र नभई दिदीबहिनी बीचको प्रेम, बाबु छोरी बीचको प्रेम, साथीहरु बीचको प्रेम सबैलाई उजागर गरिएको छ ।

      यो पुस्तकलाई मनोरञ्जन भन्दा पनि सकारात्मक सोच, बाच्ने उत्प्रेरणा जगाउने, जीवनमा आशाका किरण थपिदिने, जीवन जिउनका लागि ऊर्जा दिने पुस्तकको रुपमा लिन सकिन्छ । जुन उद्देश्य राखेर लेखक भट्टराइले यो उपन्यास लेखे, उनी पूर्ण सफल भएका छन् । जीवनलाई सकारात्मक बाटोतर्फ उग्रसर गराउने, नयाँ ऊर्जा र उमङ थप्ने यो उपन्यासको उद्देश्य रहेको देखिन्छ ।

      अझ आफ्नो जीवन नै समाप्त पार्न लागेको व्यक्तिले एक पटक यो उपन्यास अध्ययन गर्‍यो भने उस्ले आफ्नो धारणा नै बदल्न सक्छ । जीवनदेखि विरक्त लागेर, निराशा भएर, जीवनप्रतिको मोह नै भंग भएर नैराश्य भएकाहरुका लागि यो उपन्यासले नयाँ जीवनका लागि औषधीको काम गर्न सक्छ ।

      झमक घिमिरेको जीवन काँडा कि फूल ’, जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडा, जगदीश घिमिरेको अन्तरमनको यात्रा, कर्ण शाक्यको सोच जस्तै यो पुस्तकलाई पनि त्यही समूहमा राख्न सकिन्छ । जन्मजात होस् या जीवनको कुनै काल खण्डमा बिरामी वा दुर्घटनामा परेर फरक जीवन बिताउन विवश भएका, शारीरिक रुपमा अशक्त भएकाहरुको सोचाइ र उनीहरुले भोग्नुपरेको पीर व्यथालाई लेखकले जीवन्तरुपमा प्रस्तुत गरेका छन् ।

      शारीरिक रुपमा अपांग व्यक्तिले के सोच्दो हो ः जसका हात खुट्टा धेरै चल्न सक्दैनन्, अक्सर उनीहरुकै मनमा धेरै कुरा चल्दा रहेछन् । उपन्यासभित्रको १ वाक्यांशबाटै बुझ्न सकिन्छ, शारीरिक रुपमा असक्त भएकाहरुको सोचाइ कस्तो होला । उनीहरुलाई धेरै माया र प्रेम आवश्यक पर्छ । उत्प्रेरणा जगाउने र सकारात्मक सोचाइ आउने क्रियाकलाप गराइरहनु पर्छ । उनीहरुलाई कुनै चिजमा व्यस्त बनाइराख्नु पर्छ । ताकी नैराश्यले मनमा डेरा जमाउन नपाओस् ।

      धृणा, अपहेलना र तिरस्कारले हिनतावोध र नैरश्य उत्पन्न हुने, डिप्रेसनको रोगी भई जीवनलीला नै समाप्त गर्ने उपाय पनि गर्न सक्छन् । यसरी लेखकले यथार्थलाई उजागार गर्नुका साथै समाधानका उपाय पनि देखाएका छन् । आमा नभएको घरको अवस्था, दिदी बहिनी बीचको प्रेम र परिवारका सदस्यको जीवन भोगाइलाई उनले निकै मार्मिक ढंगबाट प्रस्तुत गरेका छन् ।

      मानवको जीवनमा आउने हरेक संवेदना, आँसु, हासो, रोदन, माया, प्रिती, तिरस्कार, धोका, पीडा, कुण्ठा, व्यथा, विरह, निरशा, प्रेरणा, अन्धविश्वास, आत्मविश्वास, उदासी, खुसी, वैरागी, निष्ठुरपना, बलिदान, समर्पण आदि सबैलाई निकै सावधानीपूर्वक लेखकले हरेक अक्षरले संयोजन गरेका छन् ।

      प्रिय सुफीमा लेखकले प्रेमको दायरालाई फराकिलो बनाएका छन् भने प्रेम पाउन मान्छेले के के गर्न सक्छ भन्ने थुप्रै उदाहरणसमेत प्रस्तुत गरेका छन् । प्रेम प्राप्तिका लागि आफूलाई बादल्नेदेखि आफ्ना नानीदेखि लागेको बानी परिवर्तन गर्न सक्छन् । त्यही प्रेममा बिछोड हुँदा मान्छेले आफैंलाई सिध्याउनेसम्मको दुस्साहस गर्न सक्छन भन्ने कुरा उनले दर्शाएका छन् ।

      मौलिक तथा बोलीचालीको भाषामा प्रयोग हुने शब्द प्रयोगले उपन्यासलाई जीवन्त बनाउन मद्दत गरेको छ । पढदै गर्दा कता कता सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा भेटिने स्टाटस र टुइट जस्ता वाक्यंश भेटिइरहन्छन् ।

      टुइटर र फेसबुकमा सर्च गरेर हेर्दा धेरै स्टाटस र टुइट ह्यास ट्याग प्रिय सुफी गरी थुप्रै वाक्यांश यस उपन्यासबाट साभार गरिएको पाइन्छ । किनकी हरेक जस्तो पेजमा जीवनलाई उत्प्रेरित गर्ने सुन्दर हरफ, त कतै आदर्श वाक्यह लेखिएको भेटिन्छ । जस्तैः ‘मनका बगैचाहरू सुकेपछि रहरका पुतलीहरू पनि बसाइ सर्दा रहेछन, भाग्यमा ठूलो भ्वाङ परेपछि सपनाहरू पनि चुहिएरै सकिदा रहेछन् ।’

      संसारमा कोही मान्छे गलत हुँदैन किनकी सत्यको परिभाषा हरेक मान्छेसित फरक हुन्छ । ‘प्रेम पाएको मान्छेले प्रेम दर्साउन सक्छ, प्रेम नै नपाएको मान्छेले प्रेमको बदलामा प्रेम नै कहाँ फर्काउछ र । मन यस्तो धागो हो, जहाँ सपनाकै मालाहरु ज्यादा उनिन्छन् । अरुको जीवन बुझ्नमा समय खेर नफाल । तुलनाले मानिसलाई कहिल्यै खुसी दिन सक्दैन ।

      प्रिय सुफीमा मानसिक अवस्थाको बारेमा समेत चित्रण गरिएको छ । प्रेममा पर्दाको मानसिक अवस्था, प्रेममा धोका पाउदाको मानसिक अवस्था र शारीरिक रुपले अशक्त हुँदाको मानसिक अवस्था । उपन्यासमा २ वटा फरक फरक घटनालाई प्रस्तुत गरिएको छ । जसलाई उपकथा पनि मान्न सकिन्छ । दुवै कथाको उद्देश्य भने एउटै छः सकारात्मक सोच ।

      प्रिय सुफीमा भाषाको प्रयोग साह्रै उत्कृष्ट छ । उपन्यासमै घोत्लिरहदा कतै हाँसोको फोहरा नै छुट्छ भने कतै चालै नपाई परेली भिजिसकेको कुरा किताबको पन्नामा परेको आँसुले बताउँछ । अर्कातिर भर्खर प्रेममा परेका जोडी र क्याम्पस पढ्दै गरेका युवायुवतीले प्रिय सुफी आफ्नै कहानीमा आधरित रहेको ठान्ने छन् ।

      क्याम्पसको पढाइ सकेर बसेकाहरुले क्याम्पसमा बिताएका स्वर्णीम पलहरु सम्झनेछन् । बाबु र छोरीको प्रेम तथा दिदीबहिनी बीचको प्रेम, जसलाई बिभिन्न कोणबाट प्रस्तुत गरिएको छन । प्रेमको सुरुवात, प्रेमको अंकुरण, प्रेममा रोमान्स, प्रेम प्राप्तिप्रति लालयित, आकर्षण, प्रेममा परीक्षा, प्रेममा बिछोड आदि सबै कुरालाई निकै रोचक ढंगबाट लेखकले समावेश गरेका छन् ।

      यो पुस्तकको सबैभन्दा मजबुत पक्ष भनेको सकारात्मक सोच र जीवनलाई नयाँ ऊर्जा प्रदान गर्न, उत्प्रेरित गराउन सक्ने लेखकीय कला नै हो । जुन उनले एक हाड तथा जोर्नीको रोगीको माध्यमबाट उसले भोगेको जीवन भोगाइका परिदृश्यमार्फत् पाठकसमक्ष प्रस्तुत गरेका छन् । लेखक स्वयंले आफ्ना भनाइमार्फत यो उपन्यास एक सत्य घटनामा आधारित हो भनेका छन् ।

      यो उपन्यासमा प्रयोग भएका मेडिकल टर्मीनोलोजीहरु र्ह्युमाटिक फेभर, सेरोनेगेटिभ स्पन्ड्याल आर्थोप्याथी, स्टेरोइड लगायत रोग तथा औषधीका नाम तथा सेवन गर्ने तौर तरिकाको उल्लेख गरिएको हुँदा लेखकले हाड तथा जोर्नी विषशज्ञसँग परामर्श लिएको अनुमान गर्न सकिन्छ । कहिलेकाँही डाक्टरबाट रोगको गलत पहिचान हुँदा बिरामीले धेरै दुःख पाउछ भने कुरा पनि प्रिय सुफीमा देख्न सकिन्छ ।

      उनले चिकित्सालाई नकारात्मक रुपमा भने चित्रण गर्न खोजेका छैनन् । जीवनमा ऊर्जा थप्ने र हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नका लागि प्रिय सुफी पठनीय पुस्तक हो ।


      प्रतिकृया दिनुहोस्