Samadhan National Daily

      दसैंकाे लागी भेडा–च्याङ्ग्रा बेंसी अाउँदै

      मुस्ताङ, २१ आश्विन:

      दसैंलाई लक्षित गरी उत्तरी सीमावर्ती कोरला, डोल्पा, मुगु, जुम्ला र उपल्लो मुस्ताङबाट सदरमुकाम जोमसोम ल्याएका भेडा–च्याङ्ग्रा बेशी झर्दै छन् । चिसो मरुभूमिमा हुर्काइएका भेडा–च्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले च्याङ्ग्राको माग बढी हुन्छ ।

      जिल्लाको छोसेर, छोनुन, सुर्खाङ, चराङ, घमी र घिलिङका स्थानीयले तिब्बततिरबाट ससाना पाठापाठी किनेर तिनलाई हुर्काएर जोमसोममा बिक्री गर्न ल्याउने गरेका छन् । वारागुङ गाउँपालिकाका बासिन्दाले पनि भेडा–च्याङ्ग्रा पालनलाई नै व्यवसाय बनाएका छन् । च्याङ्ग्रा पाल्नका लागि हिमाली उपआयोजनाले पनि विगतमा उपल्लो मुस्ताङका किसानलाई सहयोग गरेको थियो ।

      यस वर्ष पनि जोमसोममा पशुपंक्षीको भेटनरी परीक्षण गरिएको छ । यसको दर्ताका आधारमा अन्तिम समयसम्म २० हजार भेडा च्याङ्ग्रा जिल्लाबाट बाहिरिने पशु चिकित्सक शिवलाल भुषालले अनुमान लगाए । अघिल्लो वर्ष २३ हजार भेडा, च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ३ हजार कम भएको भुषालले बताए ।

      पशुपंक्षी तथा पशुपक्षी जन्य पदार्थको आन्तरिक ओसारपोसार तथा बिक्री वितरणका लागि भेटेरिनरी प्रमाणपत्र आवश्यक पर्ने चिकित्सक भुषालले बताए । स्वास्थ्यमा प्रतिकूल असर पर्ने सक्ने भएकाले निकासी तथा पैठारीमा सरकारले भेटेरिनरी परीक्षण अनिवार्य गराएको हो ।

      गत वर्ष जोमसोम ल्याइएका भेडा च्याङ्ग्राको भेटेरीनरी प्रमाणपत्र साविक कार्यालयबाटै उपलब्ध गराइएकोमा यसपटक फिल्डमै खटिएर पशुपंक्षीको अवस्था हेरेर प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।

      पशु चिकित्सकले परीक्षण गर्दा प्रति चौपाया १५ देखि २० रुपैयाँसम्म लिने गरेको व्यापारीहरुले बताए । तर चिकित्सकले भेटनरी परीक्षणको मापदण्डमा रहेर प्रमाणपत्र उपलब्ध गराउन नसकेको व्यापारीहरुको आरोप छ । यता चिकित्सक भुषाल दसैं लक्षित भेडा च्याङ्गाको क्रमै संग परीक्षण गर्न सम्भव नभएको बताए । उनले पशुको अवस्था हेरेर प्रमाणपत्र दिने गरेको जनाए । जोमसोममा गत मंगलबारबाट पशुपंक्षी र भेडा–च्याङ्ग्राको परीक्षण सुरु भएको हो ।

      अहिले भेडा, च्याङ्ग्रा खरिद गर्न व्यापारीहरु मुस्ताङ आएका छन् । म्याग्दी, कास्की,लमजुङ, सिन्धुपाल्चोक, काठमाडौं, चितवन, मुगु, जुम्ला र डोल्पाका व्यापारी मुस्ताङ आएका हुन् । यसरी च्याङग्रा खरिद गर्न जोमसोममा करिब सय जति व्यापारी आएको जनाइएको छ ।

      संघीय सरकारले चौपायाको निकासी तथा पैठार कर नलिने घोषणा गर्न ढिलाइ गर्दा कतिपय व्यापारी स्थानीय तह तथा वन उपभोक्ता समिति आदिलाई बिभिन्न नामका कर बुझाउन बाध्य भए । सरकारले दसैं लक्षित पशुपंक्षी निकासी कर नउठाउन शनिबार निर्देशन दिएको थियो ।

      सरकारले निकासी कर छुट गरेकाले पोखरा काठमाडौं लैजाने व्यापारीलाई राहत पुगेको सिन्धुपाल्चोकका व्यापारी अमृत श्रेष्ठले बताए । चितवनका व्यापारी सुरेश तिमिल्सिनाले मुस्ताङमै भेडाच्याङ्ग्रा महंगो पर्ने भएकाले बजारमा लगेर बिक्री गर्न मुस्किल हुने चिन्ता जनाए ।

      बिचौलियाका कारण जोमसोममा मूल्य बढी तिर्नुपरेको काठमाडौंका व्यापारी राजेन्द्र निरौलाको भनाइ छ । उनले यस वर्ष विगतको तुलनामा भेडा–च्याङ्ग्रा कम झरेको अनुमान गरे ।

      लेकबाट जोमसोम झारिएका च्याङ्ग्रा ५ प्रतिशत मुस्ताङमै खपत हुने स्थानीय अजित थकालीको अनुमान छ । यसवर्ष जोमसोमै १ च्याङ्ग्राको मूल्य २० हजारदेखि २३ हजार र भेडाको १६ देखि १९ हजारसम्म छ ।

      नेपाल खाद्य संस्थानले मुस्ताङबाट १ हजार च्याङग्रा किनेको छ । राजधानीको मागलाई पूर्ति गर्न तथा कालोबजारी नियन्त्रण गर्न खाद्य संस्थान मुस्ताङ शाखाले च्याङ्ग्रा खरिद गरेको शाखा प्रमुख गंगाप्रसाद शाहले जानकारी दिए ।

      जिल्ला प्रशासन कार्यालय मुस्ताङको निर्णय अनुसार यस वर्ष खाद्य संस्थानले जिउँदो च्यांग्रा प्रतिकेजी ५ सय ३० मा खरिद गरेको छ । यसरी किनिएका च्यांग्रा २६ गते संस्थानको केन्द्रीय कार्यालयमा बिक्री गरिने शाखा प्रमुख शाहले बताए ।


      प्रतिकृया दिनुहोस्