Samadhan National Daily

      नेपाली मिडियामा ‘एप्पल पाेलिटिक्स ?’ फेक फोटो र स्टाटसले मुस्ताङी चकित

      मुस्ताङ, २१ आश्विन:

      मुस्ताङको भनेर फेसबुकमा प्रचार गरिएको अन्तैको फोटो ।

      ‘देश सरकारले अन्धाधुन्ध कर उठाएपछि आम्दानीभन्दा बढी कर तिनुपर्दा जोमसोमका किसानले आफ्नै स्याउका बोटहरु धमाधम नष्ट गर्दै । ” स्याउका बोट काटेर भुइँमा लहरै राखेको फोटोसहित यस्तो वाक्य लेखेको दृश्य र वर्णन अहिले फेसबुकभरि फैलिएको छ ।

      धेरैलाई अचम्मित बनाएको त्यस्तो दृश्य र लेखाइले मुस्ताङीलाई भने चकित र आक्रोशित दुवै बनाएको छ । इपत्रकार फेसबुक पेजमा बिहीबार आएको पोस्ट धेरैले सेयर गरेका थिए । उक्त पेजमा अन्तमा भनिएको छ, ‘अब भने देशको अर्थतन्त्र उकालो लाग्ने भो ।’ त्यस्तो व्यंग्यले मुस्ताङका स्थानीय चकित छन् ।

      उक्त पेजमा प्रकाशित समाचारकाबारे आफू अनभिज्ञ रहेको निमिक्त प्रमुख जिल्ला अधिकारी मुरारी निरौलाले सुनाए । उनले जोमसोममा किसानले स्याउका बोटहरु नष्ट गरेको समाचार सत्य नभएको बताए । उनले सामाजिक रुपमा विकृति, विसंगति फैलाउने तथा अस्थिरता सिर्जना गर्नेहरुको खोजी गरिने जनाए । ‘प्रोपोगान्डा फैलाउन पाइँदैन, जनमानसमा भ्रम सिर्जना गर्नु सामाजिक अपराध हो,’ उनले भने ।

      जोमसोमका किसान तथा नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले मुस्ताङमा स्याउका बोट काटिएको भन्ने कुरा पूरै झुटो भएको बताए । उनले अनर्गल प्रचार गर्नेहरुलाई सरकारले कारबाही गर्नुपर्ने माग पनि गरेका छन् । ‘प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनामार्फत मुस्ताङका सबै स्थानीय तहमा स्याउ जोनको रुपमा अघि बढिरहेकाले यसलाई उल्टो प्रचार गर्न खोजिएकोमा दुख लाग्यो,’ उनले भने ।

      घरपझोङ गाउँपालिका कृषि शाखा प्रमुख विमल खड्काले फोटो बाहिरको राखेर जोमसोमको नाम दिएर गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना गरेको बताए । ‘स्थानीय तह अभ्यासको चरणमा रहेकाले कर दायरा निर्धारण गर्दा केही कमी कमजोरी भएका होलान् तर प्रदेशको नाम जोडेर अन्धाधुन्ध कर उठाउँदा किसान स्याउ बोट नष्ट गरे भन्ने कुरा सरासर झुटो हो,’ उनले भने ।

      मुस्ताङ जिल्लामा सरकारले स्याउको जोन हबका रुपमा विकास गर्दै गरेको अवस्थामा मुस्ताङका किसानको हितविपरीत गरिएको अनर्गल प्रचारमा कुनै सत्य नभएको उल्लेख गरे । वागबानी विकास अधिकृत बालकृष्ण अधिकारीले सामाजिक सञ्जालको दुरुपयोग गर्नेको पहिचान हुनुपर्ने जिकिर गरे । मुस्ताङ सुन्दर शान्त जिल्ला भएको करकै विषयलाई लिएर यहाँको किसानले आफ्नै सम्पत्ति नष्ट गर्न नसक्ने बताए ।

      उनले विरोध जनाउने अन्य विकल्प पनि भएको उल्लेख गर्दै स्याउ खेतीबाटै यहाँको आधा अर्थतन्त्र धानिएको दाबी गरे । मुस्ताङमा कुल ४ सय १५ हेक्टर जमिनमा स्याउ उत्पादन भइरहेको छ । १२ सय हेक्टर जमिनमा स्याउ खेती गरिएको छ ।


      प्रतिकृया दिनुहोस्