Samadhan National Daily

      बन्दीपुरमा पर्यटक बढे

      दमौली, २३ आश्विन:

      सिजन सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको आगमन बढ्न थालेको छ । चिसो बढेसँगै बन्दीपुर घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । भदौ महिनासम्म बन्दीपुरमा अफ सिजन रहने गर्दछ । उक्त समयमा निकै कम मात्रामा मात्रै पर्यटक बन्दीपुर आउने गरेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए ।

      तर, असोज १५ गतेदेखि भने पर्यटकको चहलपहल बढेको उनले बताए । अहिले बन्दीपुरमा दैनिक २ सय भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको उनले बताए । ‘दसैं र तिहार नजिकिँदै छ, त्यो समयमा झन् पर्यटकको भीड लाग्छ,’ उनले भने, ‘बन्दीपुरका लागि पर्यटकीय सिजन अब सुरु भयो ।’ उनका अनुसार बन्दीपुरका ठूला होटलहरु गाउँघर, वल्डइन, ग्रिनपार्क, फेवा, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस लगायतमा बुकिङ समेत सुरु भइसकेको छ ।

      बन्दीपुर घुम्न आएका मध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुरमा पिकनिकको लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् । ‘चाडपर्व सुरु भएसँगै पिकनिकका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन्,’ उनले भने, ‘पिकनिकका लागि आउने विद्यार्थी बाहेक अन्य सबैले बन्दीपुरमा १ रात भनेपनि बिताउने गरेका छन् ।’बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेल लगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ ।

      ती सबै होटलहरुमा एकै पटक १ हजार ३ सयदेखि १ हजार ४ सय पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरका होटलहरुमा करिब १ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् । बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलको बारेमा जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकोले पनि विदेशीहरु आकर्षित हुने गरेका छन् ।

      बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमश्रृखंला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।


      प्रतिकृया दिनुहोस्