Samadhan National Daily

      साफ यु–१८ महिला च्याम्पिनसिपमा नेपाल बन्यो उपविजेता

      भुटान, २३ आश्विन:

      भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पिनसिपमा उत्कृष्ट खेल पस्कँदै नेपाल उपविजेता बनेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशसँग १–० को झिनो गोल अन्तरले हार बेहोर्नु परेको हो ।

      भुटानको थिम्पुमा रहेको खेल मैदानमा राम्रो खेल प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भएको नेपाली टिमलाई भाग्यले भने साथ नदिँदा हार्नु पर्‍यो । दोस्रो हाफमा बंगलादेशले अफ साइड हुँदै हानेको गोललाई रेफ्रीले सदर गर्नु नेपालको लागि दुर्भाग्य बन्यो । पहिलो र दोस्रो हाफमा बंगलादेशलाई दबाबमा राखेको नेपाली टिमले पाएको केही सुनौलो अवसर सदुपयोग गर्न नसक्नु पनि हारको कारण बनेको हो ।

      नेपाली टिमकी खेलाडी स्टाइकर रेखा पौडेलले सर्वाधिक गोल कर्ताको उपाधि पाइन् । उनले ७ गोल गर्दै उपाधि हात पारेकी हुन् । खेल राम्रो खेल पनि भाग्यले साथ नदिएको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘बंगलादेशले १ गोल गर्‍यो, जुन अफ साइड दियो,’ उनले भने, ‘२÷३ जना खेलाडी अफ साइड हुँदा पनि रेफ्रीले अफ साइड दिएन् ।’ नेपाली टिमले निकै राम्रो खेलको उनले सुनाए । ‘म मेरो टिमको खेलप्रति सन्तुष्टी छु,’ उनले भने, ‘खेल राम्रो खेलेर मात्र हुदैन, कहिले काँही भाग्यले साथ दिँदैन, त्यस्तै भयो ।’

      राम्रो खेल्दा पनि नतिजा हात नपरेको टिम कप्तान सरु लिम्बुले बताइन् । ‘खेल राम्रो भएको थियो,’ उनले भनिन्, ‘रेफ्रीकै कारण हारेका हौ ।’ रेफ्रीले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा नगर्दा हार बेहोर्नु परेको कप्तान लिम्बुले सुनाइन् । ‘दिनु पर्ने ठाँउमा अफ साइड दिएन्,’ उनले भनिन्, ‘त्यही १ गोलले गर्दा हामी हार्नु पर्‍यो ।’

      यता भारतले भुटानलाई हराउँदै तेस्रो स्थान हात पारेको छ । आइतबारनै सम्पन्न खेलमा भारतले १–० गोल अन्तरले भुटानलाई हराउँदै तेस्रो स्थान हात परेको हो भने भुटानले चौथो स्थानमा चित्त बुझाउन वाध्य भयो । असोज १२ गतेदेखि सुरु भएको खेलमा ६ वटा राष्ट्रले भाग लिएको थियो । खेलमा नेपाल, भारत, बंगलादेश, भुटान, मालदिप्स र पाकिस्तानले भाग लिएका थिए श्रीलंकाले सहभागिता जनाएको थिएन् ।


      प्रतिकृया दिनुहोस्