Samadhan National Daily

      हुलाकीको कथा : तलब बढ्यो, काम घट्यो

      वालिङ , २३ आश्विन:

      हुलाकी घरमा आयो कि चिठी लेख्ने मानिस नै घरमा आएजस्तो गरी चिठी पाउने परिवार खुसीले गद्गद् हुने सयम थियो । मोबाइल फोन, टेलिफोन, फ्याक्स, इमेल इन्टरनेट, कुरियर्स आदिको विकास भएकै थिएन । त्यतिबेला सञ्चारको मुख्य माध्यम हुलाक थियो ।

      २०३० सालमा ३५ रुपैयाँ तलबमा हुलाकी बनेका हरिनास २ का हुमबहादुर भुजेल मासिक ५ सय वटासम्म चिठी बाँड्ने गरेको सम्झन्छन् । सेवा पनि हुने आर्थिक समस्या पनि टर्ने सोचेर हुलाकी बनेका भुजेलले प्रविधिमा यति छिटो छलाङ होला भन्ने सोचेकै थिएनन् । उनको घरमा अझै पनि ३० सालदेखिको चिठी बाकस अर्थात् पत्र मञ्जुषा छ तर सरकारी चिठीबाहेक अन्य खालका पत्र जम्मा हुँदैन ।

      भुजेल अहिले पनि कार्यरत छन् , जति उनको तलब बढ्यो ,झन् पत्र संख्या भने घट्दै गयो । ‘ती दिन याद आउँछ, घर—घरै चिठी पुर्‍याउँथें अहिले आफैं साउदी भएको कान्छो छोरोसँग भिडियो कुराकानी गर्छु,’ भजुलले भने, ‘३५ रुपैँयाबाट तलब बढेर ६ हजार ७ सय ८० भयो, चिठी घटेर महिनामा ४/५ वटा आउँछन्, त्यो पनि सरकारी ।’

      ‘पहिलेपहिले त हुलाकमा लाइन हुन्थ्यो चिठी पठाउनेको, चिठीको उत्तर आउन २ देखि ६ महिना पनि कुर्न पर्ने हुन्थ्यो, अहिले हातहातै मोबाइल , उत्तिखेरै खबर,’ भुजेलले सुनाए ।

      स्थानीय राजु गुरुङले भने, ‘चिठी त कति पठाइयो कति ? अहिले त चिठी लेख्ने शैली, सम्बोधन बिर्सियो जस्तो लाग्छ ।’ ‘ चिठी पठाउन हुलाक गइन्थ्यो । हुलाकी दाइ गाउँ घरतिर आउँदा मेरै चिठी आयो कि भनेर ए हुलाकी दाइ ! चिठी आ’छ ? भनिन्थ्यो,’ उनले विगत सम्झे । पत्र सन्देश उही भएपनि संवाहक र गतिशीलतामा परिवर्तन आउँदा विश्व जगत नै साँघुरो बनेको छ ।

      अहिले हुलाकको काम सरकारी चिठी पत्र र पत्र—पत्रिका बोक्नेमात्र भएको बताउँछन् जिल्ला हुलाक कार्यालय स्याङ्जाका खरिदार रमेशराज ढकाल । उनले भने, ‘मोबाइल र इन्टरनेट त्योे बेलामा थिएनन्, हामीलाई चापाचाप थियो, अहिले फुर्सद नै पाएका छौं ।’ टेलिकम, पार्सल , कुरियरर्स लगायतका धेरै काम हुलाकले गर्ने भन्ने कागजमा लेखिए पनि कार्यान्वयन भने भएन ढकालले भने ।

      पछिल्लो समय हुलाकको उपयोग त व्यक्तिगत रुपमा हुनै छोड्यो, टेलिफोन, मोबाइल फोनभन्दा पनि इन्टरनेटको पहुँचसँगै भ्वाइस च्याट तथा भिडियो च्याटको उपयोग बढ्न थालेको छ ।


      प्रतिकृया दिनुहोस्