Samadhan National Daily

      नेपालसामु टिक्न सकेन ‘बलियाे’ चीन

      पाेखरा, २४ आश्विन:

      विश्वमा चीनकाे दबदबा बढ्दाे छ । अार्थिक, सामरिक, खेलकाे क्षेत्रमा चीनकाे अा‌ंकडा अग्लिदाे छ । र, त्यही चीनसँग नेपालले के मा प्रतिष्पर्धा गर्न सक्ला ? उत्तर खाेज्दा मस्तिष्क रन्थनिन सक्छ । तर उत्तर अाउछः क्रिकेट । आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकाल्नेक्रममा चीन नराम्राेसँग पछारियाे ।

      आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो ।

      चीनका होङ जियाङ यानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । चीनका सातजना ब्याट्सम्यान शून्य रनमै आउट भए ।

      चीनलाई २६ रनमै सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले तीन-तीन विकेट लिए । चीनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै बिनाविकेटको क्षतिमा पूरा गर्यो‍। नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदीप ऐरीले पनि अविजित चार रन जोडे ।

      चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो । एशिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिङ्गापुरसँग खेल्नेछ । जितसँगै छनोटमा नेपाल पाँच खेलबाट १० अङ्क जोडेर शीर्ष स्थानमा छ ।

      चीन भने पाँच खेलमै पराजित हुँदा तालीकामा अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।


      प्रतिकृया दिनुहोस्