Samadhan National Daily

      अपराधी सबैको साझा शत्रु होः मुख्यमन्त्री गुरुङ

      दमौली, २५ आश्विन:

      गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अपराधी सबैको साझा शत्रु भएको बताएका छन् । ६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार दमौलीमा गरेको ‘महिला हिंसा र लागुऔषधविरुद्ध सँगसँगै हिँडौं’ अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री गुरुङले अपराधी कुनै पनि पार्टीको हुन नसक्ने भन्दै अपराधविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

      अपराधीको न कुनै सीमाना छ, न कुनै जात र वर्ग छ,’ उनले भने, ‘अपराधी समाजको लागि अपराधी हो ।’ मुख्यमन्त्री गुरुङले अपराधीलाई जोगाउन कुनै पनि राजनीतिक दल लाग्न नहुनेमा जोड दिए । ‘विज्ञान र प्रविधिले विकास सँगसँगै अपराध पनि बढायो,’ उनले भने, ‘अपराधी सबैको साझा शत्रु भएकाले यसको अन्त्यका लागि साझा संकल्प आवश्यक छ ।’

      मुख्यमन्त्री गुरुङले समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्रै नभई समाजका हरेक वर्गको रहेको चर्चा गर्दै समाज र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिए । ‘नागरिक बर्दीबिनाको प्रहरी भएकाले प्रहरीसँगै मिलेर अपराध न्यूनीकरणमा लाग्नुपर्छ,’ उनले भने ।

      गुरुङले प्रहरीमाथि बढी राजनीतिकरण भएकाले त्यसलाई अन्त्य गर्नुपर्नेमा समेत जोड दिए । प्रहरीमाथि राजनीतिकरण नरोकिएसम्म प्रहरीले स्वतन्त्र भएर काम गर्न नसक्ने भन्दै उनले भने, ‘प्रहरीमाथिको राजनीति अब बन्द गर्नुपर्छ । तबमात्र प्रहरीले स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न सक्छ ।’

      मुख्यमन्त्री गुरुङले नेपालको प्रहरी विश्वमै उत्कृष्ट रहेकोले यसलाई व्यावसायीकरण र आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । प्रहरी प्रशासनलाई स्रोतसाधन सम्पन्न बनाउन सके अपराध न्यूनीकरणमा प्रहरीले काम गर्न सक्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘प्रहरीमा सोध साधनको मात्रै कमी हो, अरु सबै कुरामा नेपाल प्रहरी अब्बल छ,’ उनले भने ।

      हिजो निरकुंशतन्त्रका विरुद्ध कर्मचारीहरुलाई राजनीतिक दलले प्रयोग गर्ने गरेको भएपनि अब त्यसको अन्त्य हुनुपर्ने उनको भनाई छ । ‘कर्मचारीलाई राजनीति गर्न राजनीतिक दलले नै सिकाए,’ उनले भने, ‘तर जुन उपलब्धि हासिल गर्न कर्मचारीलाई प्रयोग गरियो त्यो हासिल भइसकेको छ ।’

      कुसंस्कारका कारण बालबालिका कुलतमा फस्ने गरेको भन्दै उनले घरपरिवारले आफ्ना बालबालिकाको विशेष ख्याल गर्नुपर्ने बताए । ‘आमाबाबुको माया नपाएर र बढी पुलपुलाएर बालबालिकाहरु लागुऔषधमा फसेको पाइएको छ,’ उनले भने, ‘अपराध नियन्त्रणका लागि घरपरिवारको पनि उत्तिकै भूमिका रहन्छ ।’

      बेरोजगार युवाहरु पनि बढी मात्रामा कुलतमा फस्ने गरेको भन्दै उनले शिक्षा प्रणालीलाई रोजगारसँग जोडेर लैजानुपर्ने बताए । त्यसैलाई मध्यनजर गर्दै प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय खोल्न लागेको उनले जानकारी दिए ।

      जनताको इच्छा र आंकाक्षा धेरै रहेपनि प्रदेश सरकारसँग स्रोत साधन नरहेको उनले गुनासो गरे । मुख्यमन्त्री गुरुङले प्रदेश सरकार अहिले कानुन निर्माण र कर्मचारी व्यवस्थापनमा लागेकोले सबै कुरा एकैचोटि पूरा हुन नसक्ने बताए । ‘३ हजार २ सय कर्मचारी मागेकोमा संघीय सरकारले २ हजार ६ सय कर्मचारी मात्रै स्वीकृत भएको अवस्था छ,’ उनले भने, ‘संघीय सरकारले समेत प्रदेश सरकारलाई त्यति प्राथमिकता दिन सकेको छैन ।’

      हरेक पत्रिकाहरुमा नकारात्मक कुरालाई मात्रै प्राथमिकता दिने गरिएको गुनासो गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सकरात्मक कुरालाई भन्दा पनि धेरै नकरात्मक कुराहरु मात्रै लेख्ने प्रचलन भयो । कुकुरले मान्छे टोक्यो भन्ने समाचार बन्दैन । मान्छेले कुकुर टोक्यो भन्ने कुरा कहाँबाट लिएर आउने भन्ने मात्रै ध्यान हुन्छ ।’

      कार्यक्रममा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले महिला हिंसा र लागुऔषध घटनाले सरकारलाई चुनौती थपिएको भन्दै यसको अन्त्यका लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।

      प्रतिनिधि सभा समानुपातिक सांसद कलिला खानले प्रहरीले तत्कालै पीडकलाई कारवाही गर्न सके हिंसाका घटना घट्न सक्ने बताइन् । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले महिला हिंसा विरुद्ध नागरिकले प्रहरीसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

      गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बलात्कारपछिको हत्या अस्वभाविक रुपले बढिरहेकाले यसको नियन्त्रणका लागि सचेत समुदाय पनि लाग्नुपर्नेमा जोड दिए ।

      गण्डकी प्रदेशका सदस्य आशा कोइरालाले नेपालको विकासमा महिला हिंसा र लागुऔषध बाधक बनेको भन्दै समाजलाई महिला हिंसामुक्त र लागुऔषध मुक्त बनाउनुपर्नेमा जोड दिइन् । गण्डकी प्रदेशका सदस्य सरिता गुरुङले महिला हिंसा दिनप्रतिदिन बढेपनि यसको नियन्त्रणका लागि सरकार असफल भएको बताइन् । गण्डकी प्रदेशका सदस्य डोवाटे विकले महिला हिंसा र लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम टोल–टोलमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

      कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायतले महिला हिंसा र लागुऔषधविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । त्यस अवसरमा सहभागीले महिला हिंसा र लागुऔषध विरुद्धका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।


      प्रतिकृया दिनुहोस्