Samadhan National Daily

      फेवातालमा ‘पौडी म्याराथन’ हुँदै

      पाेखरा, २५ आश्विन:

      फेवातालमा ‘पौडी म्याराथन’ हुने भएको छ । नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघको आयोजनामा आठौं संस्करणको खुला पौडी प्रतियोगिता हुन लागेको हो ।

      आयोजक पौडी संघले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । २ हजार ५ सय मिटरको लम्बाईमा प्रतियोगिता गर्नुपर्ने आयोजकले जनाएको छ । आगामी २६ गते फेवातालमा हुने म्याराथनले पर्यटक आगमनमा सघाउने संघले दाबी गरेको छ ।

      ‘फेवातालको बाराहिघाटबाट पारिपट्टी लिची गार्डेन पुगेर पौडीबाजहरु पुनः बाराहीघाट फर्कने रुट हामीले बनाएका छौं ।’ नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले भने, ‘लामो डिस्टेन्सको पौडी प्रतियोगिता भएकैले हामीले यसलाई म्याराथनको रुपमा लिएका हौं ।’ विज्ञहरुले फेवातालमा पौडी खेल्न उपयुक्त छैन भन्दै आएपनि आयोजकले यो प्रतियोगितामार्फत फेवाताल सरसफाइ र संरक्षणको सचेतना पनि फैलाउने उद्देश्य राखेको छ ।

      फेवाताललाई ‘पौडी म्याराथन’का लागि विश्वकै आकर्षण केन्द्रको रुपमा स्थापित गरी पर्यटन प्रवद्र्धन गर्ने मुख्य योजना रहेको कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले बताएका छन् ।

      खुला पौडी प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

      फेवातालमा हुने प्रतियोगिताका लागि आयोजकले विशेष सुरक्षा व्यवस्था अपनाएको छ । सुरक्षाका लागि उसले डुंगा व्यवसायी संघ, सशस्त्र प्रहरी सहित अन्य स्वयंसेवक पनि खटाएको छ । नेपाल पौडी संघ गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक आनन्द कुँवरका अनुसार प्रतियोगिताका दिन २५ वटा डुंगा, ३ वटा कायक र सशस्त्रको मोटरबोटबाट सुरक्षा दिइनेछ ।

      नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघले खुला पौडी प्रतियोगिता भन्दा अघिल्लो दिन असोज २५ गते नवौं संस्करणको माछापुच्छ्रे कप पौडी प्रतियोगिता गर्ने जनाएको छ । विद्यार्थीबीच हुने प्रतियोगिताको जानकारी दिँदै पत्रकार सम्मेलनमा पोखरा याम्दीस्थित पेन्गुइन स्विमिङ पुलमा हुने जानकारी दिएको छ । प्रतियोगितामा काठमाडौंका ६०, नेपालगञ्जका १५ र पोखराका २५ जना विद्यार्थीले भाग लिँदै छन् ।


      प्रतिकृया दिनुहोस्