Samadhan National Daily

      ५ लाख घुससहित पाेखराका सहन्यायधिवक्ता पक्राउ

      पाेखरा, २५ आश्विन:

      उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित बुधबार पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनलाई पक्रेको हो ।

      कपिलवस्तुका रामकुमार टन्डनसँग घुस लिँदै गर्दा थापा समातिएको अख्तियारको पोखरा कार्यालयका प्रवक्ता रमेश ढकालले जानकारी दिए । रामकुमारका छोरा अनुपमको वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने सर्तमा थापाले घुस लिएका हुन् ।

      टन्डनका छोरा अनुपमलाई ठगी मुद्दामा पक्राउ परी अदालतले दोषी ठहर गरिसकेको थियो । ठगी मुद्दामा जिल्ला अदालत कास्की र तत्कालीन पुनरावेदन अदालत पोखराबाट दोषी ठहर भई अनुपमले २ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानासमेत भुक्तान गरिसकेका थिए ।

      फेरि अनुपमको मुद्दा सर्वोच्चमा नपुर्‍याइदिने भन्दै रामकुमारसँग सहन्यायाधिवक्ता थापाले ५ लाख रुपैयाँ घुस मागेका थिए । अनुपमसँगै अर्का एकजना विदेशी नागरिकलाई समेत वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दा परेको थियो ।

      अख्तियार प्रवक्ता ढकालका अनुसार थापामाथि थप अनुसन्धान सुरु गरिएको छ । बुधबार बिहान पौने ९ बजे उच्च सरकारकी वकिलको कार्यालयबाटै पैसा लिँदै गर्दा थापा पक्राउ परेका हुन् । छोरा अनुपमलाई ठगीको मुद्दामा नपक्रिने व्यवस्था मिलाउँछु भन्दै थापाले पैसा मागेको अख्तियारले जानकारी दिएको छ ।

      अख्तियारको स्टिङ अप्रेसनमार्फत सहन्यायाधिवक्ता थापा पक्राउ परेका हुन् । कास्कीमा मंगलबारमात्रै अन्य २ कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका थिए । जिल्ला मालपोत कार्यालय कास्कीका ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा ५० हजार घुससहित मंगलबार पक्राउ परेका थिए ।

      पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको ढकालले जानकारी दिए । २ दिनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे पोखरामै छन् । प्रमुख पोखरामै रहेका बेला २ दिनमा ३ जना कर्मचारी घुससहित समातिएको संयोग जुरेको छ ।


      प्रतिकृया दिनुहोस्