Samadhan National Daily

      चाडबाडमा ‘देखावटी’ अनुगमन, कारवाही गर्न नसक्ने निरिह प्रशासन

      स्याङ्जा, २६ आश्विन:

      चाडपर्वको आगमनसँगै वालिङ नगरपालिका भित्रका पसलमा सामानको मूल्य बढ्न थालेको छ । अनाधिकृत रुपमा बढिरहेको सामानको मूल्य रोक्न सरोकारवाला निकाय मौन रहँदा उपभोक्ता मारमा परेको उनीहरु बताउँछन् ।

      ‘अनुगमन भएजस्तो हुन्छ तर देखावटीमात्रै,’ उपभोक्ताको गुनासो छ, ‘अनुगमन भएपनि हामी जनता अझै मूल्य बृद्धिको मारमै छौं ।’ वालिङमा ७५ रुपैयाँ प्रतिकेजी चिनी बजारमा ९० रुपैयाँमा किन्नु परेको शुक्रबार वालिङमा भेटिएका एक ग्राहक बताए । उनका अनुसार अन्य खाद्यान्न, तरकारी लगायतका दैनिक उपभोग्य बस्तुको समेत बजार मूल्य पसलैपिच्छे फरक छ ।

      प्रशासनले भने बेलाबेला बजार अनुगमन गर्दै आएको छ । तर अनुगमन फिक्का भएको र प्रभावकारी नभएको ग्राहकले गुनासो गरिरहन्छन् । वालिङ नगरपालिकामा मात्रै आर्थिक वर्ष ०७४÷७५ साउनसम्ममा अनुगमन टोलीले १८ पटक अनुगमन गरिसकेको छ । प्रत्येक २ महिनाको फरकमा अनुगमन हुँदै आएको छ ।

      असोज २३ गते गरिएको अनुगमनमा पनि अधिकांश पसल इजाजत बिनै खुलेको पाइएको छ । तोकिएको दररेट भन्दा फरकमा बिक्री तथा इजाजत बिना खुलेका पसललाई अनुगमन टोलीले केही समयमानै कानुनी दायरमा ल्याउने बताएको छ । पटकपटकको निर्देशनपछि पनि पसले अटेरी गरिरहेका छन् ।

      सर्वसाधारणले किनमेल गर्ने पसलहरुमा अनुगमन नगरी निश्चित ठाउँमा मात्रै अनुगमन गरिएको ग्राहकको आरोप छ । ‘सर्बसाधारणले किनमेल गर्ने भुम्रे , भकुण्डे , नयाँ बजार , भिआइपी टोल लगायत श्रेत्रमा अनुगमन नै भएन । अनुगमन नभएपछि मनपरी मूल्य राखेर सामान बेच्दैछन्,’ एक ग्राहकले भने ।

      अनुगमन प्रभावकारी हुन नसकेको जनगुनासो बढेपछि इलाका प्रशासन कार्यालयले जनप्रतिनिधिका कारण भएको बताए । कार्यालय प्रमुख दामोदर शर्माले भने, ‘स्थानीय सरकारसँगै ‘हिँडेर’ बजार अनुगमन गर्नुपर्छ । जनप्रतिनिधिसँग बजार अनुगमनमा गएपछि राजनैतिक संरक्षण हुन्छ । कसलाई कारबाही गर्ने ?’ पसलमा मूल्य एकता नभएको, इजाजत नभएको, मूल्यसुचि नभएको थाहा हुँदाहुँदै पनि जनप्रतिनिधिका कारण समस्या जटिल बन्दै गइरहेको खुलाए ।

      ‘जनताबाट निर्वाचित भएकाले उल्टै जनतालाई कारबाही गर्दा गाह्रो पर्ने भएकाले स्थानीय तहमा यो समस्या छ,’ शर्माले भने । ग्राहकले खरिद गर्ने सामानको मुल्य अध्ययन नै नगरी खरिद गर्ने प्रबृत्ति पनि अनियमितता भएको उनले प्रष्ट्याए । कुनै पनि सामान खरिद गर्दा प्याकिङ मिति, मूल्य, प्रयोगवधि ख्याल गर्नुपर्ने उनको सुझाव थियो ।


      प्रतिकृया दिनुहोस्