Samadhan National Daily

      के मुख्यमन्त्री गुरुङकाे गर्धन चिलाएकै हाे त !

      काठमाडौं, ८ कार्तिक:

      गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आलोचना सहन नसक्ने शासक तानाशाहमा रुपान्तरण हुन सक्ने बताएका छन् ।

      दसैं तिहारको अवसरमा नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री गुरुङले शासकले रचनात्मक आलोचना सुन्न तयार हुनपर्ने विचार राखे ।

      उनले गण्डकी प्रदेश सरकार स्वस्थ र रचनात्मक आलोचना सुन्न तयार रहेको उल्लेख गरे । निरंकुश शासकले भारदारलाई बांगो रुखलाई सिधा भनेर समर्थन जुटाएको उदाहरण दिंदै मुख्यमन्त्री गुरुङले सत्य बोल्नेले महाराज गर्धन चिलाएर हो कि मैले त बांगो देखेको भनेको स्मरण गरे ।

      उनले लोकतन्त्रमा नागरिक सत्यको पक्षमा बोल्नैपर्ने बताए । ‘गण्डकी प्रदेश सरकारले रचनात्मक आलोचनालाई जहिले पनि स्वागत गर्छ, ’मुख्यमन्त्री गुरुङले भने, ‘ध्यंसात्मक नभएर रचनात्मक आलोचनालाई ग्रहण गर्न प्रदेश सरकार तयार छ ।’

      फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले सशस्त्र द्वन्द्वको व्यवस्थापन, संविधान निर्माण लगायतको काममा अरु देशको तुलनामा नेपाली नेताले गरेको योगदान उल्लेखनीय भएको बताए । राजनीतिक परिवर्तन पछि मुलुकको सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन हुन नसकेको विश्लेषण गर्दै उनले नेपालका क्रान्तिको नेता धेरै भए पनि निर्माणको नेता कोही बन्न नसकेको टिप्पणी गरे ।

      उनले संविधान र संघीयता कार्यान्वयनको सही दिशामा अगाडि बढेको बताए ।‘क्रान्ति पछिको निर्माणको कामले गति लिन सकेन, ’मुख्यमन्त्री गुरुङले भने, ‘कामको गति र मति मुलुकको आवश्यकता भन्दा धेरै धिमा छ ।’ उनले काम गर्ने जाँगर र उत्साह नमरेको उल्लेख गरे ।

      संघीय सरकारले निर्धारण गरेको मर्यादाक्रम नमिलेको टिप्पणी गरेका मुख्यमन्त्री गुरुङले श्रोत र साधनको विनियोजन र कर्मचारीको व्यवस्थापन नगरेकोमा संघीय सरकारको आलोचना गरे ।

      संविधानले श्रोत बाँडफाँडको जिम्मा संघीय सरकारलाई दिएको कारण प्रदेशले सरकारको अनुभुती गर्न नसकेको प्रतिक्रिया दिए । उनले सपथग्रहण, नीति तथा कार्यक्रम र बजेट बाहेक प्रदेशले सरकारको अनुभुती गर्न नसकेको उल्लेख गरे । मुख्यमन्त्री गुरुङले श्रोत र साधन, कर्मचारी र चलअचल सम्पत्ति नभएकोले प्रदेश सरकारलाई काम गर्न कठिनाई भएको उल्लेख गरे ।


      प्रतिकृया दिनुहोस्