Samadhan National Daily

      पिपिएलमा काठमाडाैं रोयल्स र बुटवल ब्लास्टर्सको जित

      पाेखरा, ११ कार्तिक:

      पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा हुलास काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्सले जित दर्ता गरेका छन् । काठमाडौंले एक्स्पर्ट धनगढी ब्लुजलाई तथा बुटबलले चितवन राइनोजलाई पराजित गर्दै लिग तालिकामा समान २–२ अंक जोडेका हुन् ।

      काठमाडौंले ब्लुजलाई १७ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको काठमाडौंले १ सय ८० रन बनाएको थियो । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले पूरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ६३ रन मात्रै बनाएको हो ।

      धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय खेलेर टिमलाई सम्हाले पनि जिताउन भने सकेनन् । उनले ४२ बलमा ३ छक्का ३ चौका प्रहार गर्दै ५४ रन जोडे । धनगढीका लागि सन्दीप जोराले २७ रन जोडे । ११ बल खेलेका जोराले ३ छक्का र र १ चौका प्रहार गरे । त्यस्तै सौरभ खनाल १४ बलमा १७ रन बनाए । इंग्लिस खेलाडीद्वय पिटर डेभिडले १९ तथा लरेन्सले ८ रनमा बनाउन सफल भए ।

      काठमाडौंको बलिङमा सुसन भारी, अमरसिंह राउटेला र वसन्त रेग्मीले समान २ विकेट लिए । नन्दन यादव र गौरव तोमरले पनि १– विकेट लिएका थिए । ।

      काठमाडौंको जितमा भारतीय खेलाडी गौरव टोमारले ९५ रन बनाए । उनले ४४ बलमा १० छक्का र ४ चौका प्रहार गरे । शतकको नजिक पुगेका उनी १९ औं ओभरमा क्याचआउट भएका थिए । उनलाई तेस्रो विकेटका लागि नरेश बुढाएरले राम्रो साथ दिए । नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाएका थिए । धनगढीको बलिङमा लागि पिटर ट्रेगो, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १–१ विकेट लिए ।

      शनिबारनै भएको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको थियो । बुटवलले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको चितवन १७ औं ओभरमा ६५ रनमै समेटियो । पारस खड्का कप्तानीमा रहेको चितवनका कुनैपनि ब्याट्सम्यान चल्न नसक्दा राइनोजले पहिलो खेलमै पराजय भोगेको हो ।

      कप्तान खड्काले २ चौका प्रहार गर्दै १० रन जोडेर प्याभिलियन फर्किएका थिए । मध्येक्रममा आएका भुवन कार्कीले चितवनका लागि १९ रन बनाउँदै सर्वाधिक रन जोडे । अर्का ब्याट्सम्यान करण केसी, शक्ति गौचनसँग तालमेल नमिल्दा रनआउट भए ।

      चितवनका अन्य कुनैपनि खेलाडीले दोहोरो आँकडाको योगफल जोड्न सकेनन् । चितवनका ब्याट्सम्यानहरु बुटवलका कप्तानसमेत रहेका सोमपाल कामीको तीब्र बलअघि टिक्न सकेनन् । सोमपालले ओपनर अनिल साह, कप्तान पारस खड्का, आरिफ शेख र भारतीय खेलाडी स्मित पटेलको विकेट लिएका थिए ।

      घातक बलिङ गरेका सोमपालले पहिलो स्पेलमा ३ ओभर बल फाल्दा ८ रन खर्चेर ४ विकेट लिएका हुन् । बुटवलका ललितसिंह भण्डारीले २ तथा रोहन मुस्तफा, विपिन खत्री र अभिनाश बोहोराले समान १–१ विकेट हात पारे ।

      टस हारेपछि पहिला ब्याटिङ गरेको बुटवलले २० ओभर खेल्दा ६ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाएको थियो । राम्रो सुरुआत नपाएको बुटवलको तर्फबाट चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागरले ४६ तथा शंकरले ४८ रन जोडे ।

      सिद्धान्त लोहनी १७ रनमा नटआउट रहे । कप्तान सोमपाल कामीले ६ रन बनाए । इनिङको अन्तिम २ बलको सामना गरेका सोमपालले करण केसीको पहिलो बलमै छक्का प्रहार गरेका थिए । करणले पहिलो ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट झारेका थिए । रामनरेश गिरी र शक्ति गौचनले समान १ विकेट लिए ।


      प्रतिकृया दिनुहोस्