Samadhan National Daily

      अब अंकमा लेकसाइडका गल्लीहरुको नामकरण

      पाेखरा, १२ कार्तिक:

      लेकसाइडका भित्री गल्लीलाई अंकका आधारमा नाम दिइने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकाले १, २, ३ ४ गर्दै नामकरणको तयारी भएको हो । अहिले कतिपय गल्ली नामकरण भए पनि केहीको छैन ।

      पोखरा पर्यटन परिषद (पिटिसी)ले पोखरा महानगरपालिका–६ वडासँग सहकार्य गर्दै तिहारभित्रै ती सबै गल्लीलाई भिन्दाभिन्दै नम्बर दिने निर्णय गरेको परिषद अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार केदारेश्वर मन्दिर अघिल्तिरको गल्लीलाई १ नम्बर मान्दै खहरेसम्मका गल्लीलाई भिन्दाभिन्दै नम्बर दिइनेछ ।

      ‘अहिले होटल र रेस्टुरेन्टका नाममा ती गल्लीको पहिचान गरिएको छ । झुक्किने गरी एकैखाले नामका होटल, रेस्टुरेन्ट रहेकाले पाहुनालाई पहिचानमा समस्या भएको छ,’ उनले भने, ‘अब पहिलो गल्लीलाई एकनम्बर मानेर क्रमैसँग नम्बरिङ गरिनेछ ।’

      पोखरेलका अनुसार झन्डै ३० वटा गल्ली अहिले त्यस क्षेत्रमा छन् । ती सबै गल्लीलाई फरक नम्बर र नामले पहिचान दिलाउने उनले बताए । ‘अहिले नम्बरिङ नहुँदा कतिपय होटल कुन गल्लीमा छन् भन्ने थाहा पाउन पनि मुस्किल छ,’ उनले भने, ‘गल्ली नम्बर अनुसार होटलले पनि पहिचान दिलाउँदा पर्यटकलाई आउजाउमा सहज हुनेछ ।’ उनले गल्लीको नाम र नम्बरलाई रातीमा समेत देखिने गरि मुल सडकमा राखिने बताए ।

      पोखरा महानगरपालिका–६ का अध्यक्ष जगत पहारीले यसअघि पनि यस्तो प्रयास थालेकामा अब परिषद्सँग मिलेर सबै गल्लीलाई नामकरण गर्दै नम्बरले चिनाउने बताए । ‘कतिपय होटल र रेस्टुरेन्टका नाम करिब मिल्दा छन् । त्यसले गर्दा पनि पर्यटक झुक्किएका छन्,’ उनले भने, ‘यसले पर्यटकको आउजाउमा सहज हुन्छ ।’

      परिषदले आइतबार स्थानीय तहका पदाधिकारीसहित प्रहरी, ट्राफिक प्रहरीसँग पनि छलफल गर्दै लेकसाइडको सवारी आवागमनलाई व्यवस्थित बनाउन पहल गर्ने बताएको छ । होटलमा पाहुना ल्याउँदा र लैजाँदा ठूला आकारका बस लामो समय रोकिँदा त्यसले सवारी आवागमनमा अवरोध पुगेको भन्दै पर्यटक चढाउन र ओराल्नका लागि ३ देखि ५ मिनेट मात्र समय दिने भन्ने पनि निर्णय गरेको छ । ट्राफिक व्यवस्थापनका लागि पनि लामो समय ठुला आकारका सवारी रोक्न नहुने बैदाम चौकीका डिएसपी नवीन कार्कीले बताए ।

      ट्राफिक प्रहरीका निरीक्षक ऐनबहादुर मल्लले बिहान र बेलुकी होटल र घरसम्म यात्रु चढाउन आउने ठूला आकारका बसलाई पनि यात्रु बटुल्ने गरी लेकसाइड प्रवेश गर्न नदिने गरि कडाई गर्ने बताए । ‘कुनै पनि ठाउँका यात्रुले बुकिङ गरेको हुनाले आजको भोलि नै यसमा कडाई गर्न सकिन्न ।

      तर, १ सातापछि लागु हुने गरी नयाँ नियम लगाउन सकिन्छ,’ उनले भने, ‘अब यात्रु खोज्दै र बटुल्दै ठूला आकारका बस लेकसाइड प्रवेश गर्न पाउने छैनन् ।’ ती बसका यात्रुलाई चढाउने र ओराल्ने ठाउँ सम्बन्धित बस कम्पनीले गर्नुपर्ने उनले बताए । ‘घरमै बस पुग्ने होइन, यात्रु बस चढ्न केही दुरीसम्म जानुपर्ने हुनसक्छ,’ उनले भने ।


      प्रतिकृया दिनुहोस्