Samadhan National Daily

      स्याहार पर्खाइमा पर्वतकाे चमेरे गुफा

      पर्वत, १२ कार्तिक:

      पर्वत फलेबास नगरपालिका–१० कुर्घा फाँटस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको चमेरे गुफाको उचित संरक्षण हुन सकेको छैन ।

      गुफाको उचित संरक्षण प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । कालीगण्डकी नदीको तटभन्दा ५ सय मिटर उचाइमा रहेको गुफामा कालीगण्डकी नदीमा स्तान गरी गुफामा पुजा गर्नाले मनोभावना पूरा हुने धार्मिक विश्वास छ । भगवानका आकृति रहेको गुफा झण्डै ४ रोपनी क्षेत्रफलमा फैलिएको स्थानीय रामु क्षेत्रीले बताए ।

      गुफाभित्र शंख आकारमा रहेका विभिन्न भगवानका आकृति भेटिनुका साथै गुफाभित्र पानीका मुहानसमेत देख्न सकिन्छ । गुफा परिसरमा चराचुरुंगी लगायतका अन्य वन्यजन्तुको समेत बासस्थान छ । ऐतिहासिक पर्यटकीय चमेरेको गुफाको विकासमा सम्बन्धित निकायको ध्यानाकर्षण भए पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने स्थानीयले आशा व्यक्त गरे ।

      पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँका स्थानीय नागरिकले पहल गरिरहेको नमुना युवा क्लब कुर्घाका अध्यक्ष विजय पौडेलले बताए । यस गुफाको संरक्षण र मर्मत सम्भार गर्नसके यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक भित्राउने प्रशस्त सम्भावना छ ।

      विगतदेखि सो गुफामा चमेराको वसोवास रहेकाले उक्त गुफाको नाम चमेरे गुफा नामाकरण रहन गएको वडाध्यक्ष शालिग्राम शर्मा पौडेलले वताउँछन् ।‘गुफामा सहजै पुग्न असजिलो छ,’शर्माले भने,’यहाँका युवाहरुले यसको संरक्षणमा चासो देखाएको खण्डमा वडाले समेत सर्मथन गर्छ ।’ सो गुफा मार्फत निस्केको पानीले त्यहाँका स्थानीयहरुले सिचाँई गर्दै आएका छन् ।

      यहाँका स्थानीयबासी नै गुफाका विषयमा अनभिज्ञ छन् । यस गुफाभित्र पानीका मुहान पनि प्रशस्त मात्रामा भेटिन्छन् । गुफा संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा गुफा ओझेलमा परेको स्थानीय शारदा माविका शिक्षक जितबहादुर थापा बताए । अब नगरपालिकासँग हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

      गुफासम्म जाने बाटो, गुफा वरिपरिको क्षेत्र सरसफाइ, गुफाले ओगटेको जमिनको बाहिरी भाग तारबार लगायतका काम तत्काल गर्न सके पर्यटकको आवागमन ह्वात्तै बढ्ने प्रचुर सम्भावना छ । प्रचारप्रसारको अभावमा गुफामात्र अवलोकन गर्न आउनेको संख्या एकदमै न्यून रहेको छ ।

      चमेरे गुफा कुर्घाको मात्र नभई समग्र पर्वत जिल्लाको पर्यटन विकासका लागि बलियो मेरुदण्ड हो । यसको पर्यटन प्रवद्र्धनले गति लिन नसक्दा पर्यटकको नजरमा ओझेलमा परिरहेको छ । यहाँसम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुँदा पनि गुफाका विषयमा जानकार भए पनि जान चाहनेलाई पुग्नै कठिन भएको छ ।

      गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्न दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना छ ।


      प्रतिकृया दिनुहोस्