Samadhan National Daily

      पिपिएल समीकरणः सन्दीप उपाधि होडबाट बाहिर, पारस पनि संकटमा

      पाेखरा, १३ कार्तिक:

      पोखरा प्रिमियर लिगमा युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स उपाधि होडबाट बाहिरिएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पनि संकटमा परेको छ ।

      सन्दीप कप्तानीको विराटनगर काठमाडौं रोयल्ससँग ५ विकेटले हारेपछि उपाधि होडबाट बाहिरिएको हो । त्यस्तै पारसको चितवन राइनोज घरेलु टोली पोखरा पल्टनसँग ५ विकेटले नै पराजित भएसँगै संकटमा परेको हो । प्रतियोगितामा चितवनको यो लगातार दोस्रो हार हो ।

      यसअघि चितवन बुटवलसँग ७० रनले पराजित भएको थियो । प्रतियोगितामा चितवनको यात्रा अब अन्य टिमको प्रदर्शनमा निर्भर गर्नेछ ।
      लिग तालिकाको शीर्षस्थानमा रहेको बुटवलले २ खेलमा जित हाँसिल गर्दै ४ अंक बटुलेको छ भने दोस्रो स्थानमा रहेको पोखरा पल्टनले ३ खेलमा २ जित १ हारसहित ४ अंक जोडेको छ ।

      त्यस्तै तेस्रो स्थानमा रहेको काठमाडौंले २ खेलमा २ जितसहित ४ अंक जोडेको छ । चौंथो स्थानमा रहेको धनगढीले २ खेलमा १ जित १ हार निकाल्दै २ अंक बनाएको छ ।

      पोखरा रंगशालामा सोमबार भएको पहिलो खेलमा विराटनगर काठमाडौं रोयल्ससँग ५ विकेट पराजित भयो । टस जितेर ब्याटिङ गरेको विराटनगरले काठमाडाै सामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरका लागि मुहम्मद जैद आलमले अर्धशतक बनाएका थिए । उनले ४ छक्का र सात चौकाको मद्दतले ४७ बलमा ६७ रन बनाए ।

      ओपनर सुनील धमलाले २९ बलमा ३० रन बनाए । राजु पुलामी मगरले २७ बलमा ३० रन जोडे । काठमाडौंका लागि सुशन भारी, गौरव तोमर र वसन्त रेग्मीले समान २–२ समान विकेट लिए ।

      भारतीय व्याट्स्म्यान गौरव तोमरले ६६ रन बनाएपछि काठमाडांैको जित सहज भएको थियो । ४६ बलको सामना गरेका तोमरले ३ छक्का र ६ चौका प्रहार गरेका थिए । अमित श्रेष्ठले ३५ रन बनाए । विराटनगरको बलिङतर्फ सहाब आलमले दुई विकेट लिए भने सन्दीप लामिछाने, किशोरी महतो र जितेन्द्र मुखियाले १–१ विकेट लिएका थिए ।

      सोमबारै भएको अर्को खेलमा चितवन राइनोज पोखरा पल्टनसँग ५ विकेटले पराजित हुन पुग्यो । टस जितेर व्याटिङमा उत्रिएको राइनोजले पूरा २० ओभर खेलेर १ सय ४० रनको योगफल तयार पारेको थियो । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याएको पोखराले १७ बल बाँकी रहँदा ५ विकेट गुमाएर विजय लक्ष्य पार गर्‍यो ।

      पोखराका लागि भारतीय ब्याट्स्म्यान रवि इन्दर सिंहले ६५, शरद भेषावकरले ३७ तथा रोहितकुमार पौडेलले १९ रन जोेडे । दोस्रो ओभरमै शून्य रनमा दुई ब्याट्स्म्यान गुमाएको पोखराका लागि रवि र रोहितले तेस्रो विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । पोखराको पारिमा सनी पटेलले ४६ र कप्तान पारसले ४४ रन बनाएका थिए ।


      प्रतिकृया दिनुहोस्