Samadhan National Daily

      महानगर लीलाः घर भत्काउन गएको डोजर बाटो सम्याएर फर्कियो

      पाेखरा, १३ कार्तिक:

      पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सोमबार पोखरा १ टुँडिखेलमा सार्वजनिक जग्गामा बनेको एउटा घर भत्काउन आदेश जारी गरे ।

      मेयर जिसीको आदेश पालना गर्दै नापी तथा इन्जिनियरिङ टोली त्यता लाग्यो । तर महानगरका अरु व्यक्ति गएनन् । न मेयर थिए न वडाका कुनै प्रतिनिधि । संरचना भत्काउन नपाएपछि डोजरले त्यहीं रहेको बाटो सम्याएर फर्किएको छ ।

      ‘कर्मचारी हातमा पत्र लिएर आएका छन् । आधिकारिक व्यक्तिबिना कसरी घर भत्काउन दिने ?’ भीडबाट थुप्रैले आवाज उठाउँदै थिए, ‘पहिले आफै संरचना बनाउन स्वीकृत दिने अहिले बिना मुआब्जा भत्काउन पाइन्छ ?’ महानगरले भत्काउन आदेश जारी गरेको घर थियो, छविलाल चापागाईंको । महानगरले १ मिटर जग्गा र १.५ मिटर नाला गरी २.५ मिटर बाटो क्षेत्र छुट्याएर मिचिएको संरचना भत्काउन आदेश जारी गरेको थियो ।

      संरचना बनेको जग्गा भने २०६८ सालदेखि नै विवादित रहेको स्थानीय बताउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संरचना बनेको २ कित्ता नम्बर सार्वजनिक रहेकाले अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालत पोखरामा उक्त जग्गाका विषयमा हालसम्म मुद्दा चलिरहेको छ । अदालतमा मुद्दा चलिरहेका कारण सो जग्गामा कुनै पनि संरचना बनाउन तथा किनबेच गर्न नपाउने कानुन छ ।

      २०७४ साल चैत २ गते मेयर जिसीकै कार्यकक्षमा सरोकारवालाको रोहवरमा २ नम्बर कित्तामा ३२.१० वर्ग मिटर जग्गाबाट निकास खोल्न सहमति भएको थियो । ‘टुँडिखेलमा रहेको छविलाल चापागाईं र गोेविन्द कोइरालाको घरबीचमा भएको नाली किनारबाट उत्तरतर्फ १.५ मिटर जग्गा निकासका लागि छोड्ने निर्णय भयो,’ सहमतिमा भनिएको छ ।

      नापी कर्मचारीका अनुसार सहमति अनुसार छोड्ने भनिएको डेढ मिटर जग्गा निकासका लागि छोडिएको छ । ‘पहिले सहमतिमा डेढ मिटर छाड्ने निर्णय भएको देखिन्छ । अहिले २.५ मिटर छोडेर भत्काउन आदेश जारी भएको छ,’ नापीकै १ इन्जिनियरले भने । १.५ र २.५ मिटर कुन लागु गर्ने विषयमा कुरा नमिलेपछि महानगरको डोजर बाटो सम्याएर फर्किएको थियो ।

      जग्गाधनी चापागाईंले चैतमा नागरिक समाजका अगुवा भनेर पार्टीकै मान्छेबीच राखेर झुठो सहमति भएको आरो लगाए । सहमतिमा मेयर मानबहादुर जिसी, वडाअध्यक्ष, सदस्य, वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, कानुन अधिकृत राममणि अधिकारी र नागरिक समाजका महेश्वर पोखरेल, धु्रव पराजुली, दामोदर रिजाल, लक्ष्मणप्रसाद चापागाईंको हस्ताक्षर छ । नागरिक समाजका सदस्य भनिएका सबै नेकपाका सक्रिय सदस्य हुन् भने लक्ष्मण जग्गा धनीका भाइ हुन् ।

      महानगरले भने मिचिएको संरचना भत्काई छाड्ने बताएको छ । विभिन्न कारणले रोकिए पनि केही दिनमा सहमति गरेर संरचना भत्काउने महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । ‘अहिले महानगर र संरचना धनीबीच छलफल चलिरहेको छ । सहमति अनुसार महानगरले संरचना केही दिनमा नै भत्काउँछ,’ उनले भने ।
      ….
      अतिक्रमित संरचना भत्काउन गएको महानगरको डोजर । संरचना भत्काउन नपाएपछि बाटो सम्याउँदै । डोजरले बाटोमा रहेको ट्याक्टर, ट्रक र माटोलगायत पन्छाएर फर्किएको थियो ।


      प्रतिकृया दिनुहोस्