Samadhan National Daily

      काकाकुल अर्जुनचाैपारीः पानी जोहो मै बित्छ दिन

      स्याङ्जा, १४ कार्तिक:

      पानीको मुहानमा विवाद भएपछि अर्जुनचौपारी गाउँपालिकाका स्थानीय खानेपानी समस्यामा छन् ।

      ४० वर्षदेखि मूलको पानी निर्धक्क उपयोग गर्न बानी परेका स्थानीय बिहान १ घण्टा धारामा आउने पानी १२ घरधुरीले बाँड्न बाध्य भएका छन् ।

      भिरकोट नपा खिलुङमा रहेको मूलबाट बग्ने पानी पुस्तौँ पुस्तादेखि अर्जुनचौपारी गाउँपालिका १ माझफाँटका स्थानीयले प्रयोग गर्दै आएका थिए । पानी मूल विवादका कारण खिलुङका स्थानीयले पानी रोकेपछि १ सय ५० घरधुरी पानीको जोहोमै दिन बिताउन विवश छन् ।

      ‘१ टोलमा १ घण्टा पानी आउने १ धारा जोडिएको छ । १ टोलमा १२ देखि १५ छन् । १ गाग्री पानी १ जनाको भागमा पर्दछ,’ स्थानीय उषादेवी घर्ती क्षेत्रीले भनिन्, ‘एक गाग्री पानीले शौचालय, भान्सा, पशुगोठ, करेसाबारी कता कता पुर्‍याउनु ? पानी खोज्दा खोज्दै दिन बित्छ ।’ दसैं र तिहार जस्ता चाडपर्वको उमङ्गभन्दा चाडपर्वमा आउने पाहुना कसरी उम्काउने भन्ने चिन्ताले पिरोल्ने गर्छ ।

      शौचालय जाने तयारीका पाहुनालाई पानी छैन भन्नुपर्दा बेइज्जत हुने गरेको तीतो अनुभव सुनाउँछन् यमबहादुर जिसी । अझ चाडपर्वको समय कसरी गुजार्ने चिन्ता हुने उनको भनाइ छ । पानीको अभाव टार्न १ घन्टा पैदल ओरालो झरेर पुगिने घना जंगलको ठूलो खोलाबाट डोकोमा बोकेर पानी ल्याउन बाध्य छन् माझफाटका बासिन्दा । उज्यालो भएदेखि नै पानीको व्यवस्थापन गर्दागर्दै दिन टर्ने गरेको स्थानीयको दुखेसो छ ।

      ४ वर्षमा पनि योजना बनेन

      पानीको समस्या निराकरण गर्न आव २०७०÷०७१ मा सम्झौता गरी २०७१ असारबाट माझफाटा लिफ्टिङ खानेपानी योजनाको निर्माण कार्य सुरु भएपनि विद्युत प्राधिकरणको ढिलासुस्तीले योजना सम्पन्न गर्न बाधा पुगेको छ ।

      १ करोड ७० लाख लागतमा निर्माण भएको यस योजनाको अन्तिम किस्ता स्वरुप १५ लाख ७६ हजारसमेत प्राप्त भैसकेको छ । विद्युत मिटर जोड्ने काममात्र बाँकी रहेको छ ।

      आरकुनाबाट करिब १३ सय मिटर उचाइमा ल्याइने लिफ्टििङ सम्पन्न भएपनि यहाँको खानेपानी सुविधामात्र होइन, कृषि उत्पादन र स्थानीयको जीवननस्तरसमेत माथि उठ्ने देखिन्छ ।


      प्रतिकृया दिनुहोस्