Samadhan National Daily

      सिर्जनामै व्यस्त तिलबिर र युवराज

      पाेखरा, १६ कार्तिक:

      नेपालीहरुको महान पर्व दसैं भर्खरै सकिएको छ । अर्को पर्व तिहार नजिकिएको छ । त्यसैले पनि अधिकांस नेपालीहरु यसपटकको तिहार कसरी मनाउने भन्ने योजनामा छन् ।

      चेलीहरु आफ्ना दाजुभाइको निधारमा सप्तरंगी टीका सम्झदै होलान् । दाजुभाइहरु दिदीबहिनीका लागि उपहारको पोको खोज्दै होलान् । कोही सेलरोटी, मीठा मीठा परिकारको कल्पनाले मुख मीठो बनाउँदै होलान् । तर, कलाकारद्वय तिलबिर सेञ्चुरी र युवराज लामिछानेलाई भने दसैं सकिएको पत्तै भएन ।

      आउँदै गरेको तिहारका बारेमा पनि दुबैजना बेखबर जस्तै बनेका छन् । घरपरिवार, साथीभाइ र आफन्तबाट पर रहेका उनीहरुलाई थाह छ त बन्दै गरेको मूर्तीका बारेमा । योजना पनि त्यसैलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने मात्रै छ ।

      वरपर बाँसका खटहरु । तिनै खटको भरमा ठडिंदै गरेको विशाल मूर्ती । हो, कलाकारद्वय सेञ्चुरी र लामिछाने यतिबेला चितवनको देवघाट परिषरमा महादेवको विशाल मूर्ती बनाउने अभियानमा छन् । बन्दै गरेको पैतिस फिटे मूर्ती नै उनीहरुको दिनचर्या बनेको छ । झण्डै आधा/आधि काम सकिएको छ । देवघाट धाम संरक्षण प्रतिष्ठान, चितवनले कलाकार सेञ्चुरी र लामिछानेलाई यो जिम्मा सुम्पिएको हो ।

      उनीहरुले कलाक्षेत्रमा बनाएको नाम, प्रतिष्ठा र यसअघिका कामहरु देखेरनै प्रतिष्ठानले यो जिम्मा सुम्पिएको सहजै अनुमान गर्न सकिन्छ । प्रतिष्ठानले सुम्पिएको जिम्मा र विश्वासलाई उनीहरुले पनि खेर फाल्ने वाला छैनन् । त्यसैले ठूला चाडपर्वको समेत प्रवाह नगर्दै उनीहरु आहोरात्र काममा खटिएका हुन् ।

      त्यसो त उनीहरुले गर्दै गरेको यो काम, मात्रै काम पनि होइन । यो कला हो । साधना हो । यसै क्षेत्रमा लामो कालखण्ड पूरा गरेका उनीहरुसँग यस सम्बन्धि राम्रो अनुभव छ । कलाकार सेञ्चुरीको कलाले पोखराको छोरेपटनस्थित गुप्तेश्वर गुफा परिषरलाई श्रृंगारेको छ । डेभिजफलभित्र विभिन्न जातजातिका मूर्ती पनि उनै कलाकार सेञ्चुरीले बनाएका हुन् । सेन्चुरीका यि मूर्तीमा सेल्फी खिचाउनेहरुको दिनहुँ भीड देखिने गर्दछ ।

      पोखरामा मात्र होइन, जुम्लाको पाण्डु गुफामा रहेका पाँच पाण्डव र द्रोपदीको मूर्ती बनाउने कलाकार पनि यिनै सेञ्चुरी हुन् । त्यस्तै, धरानको चताराधाममा रहेको ३५ फिटको हनुमानको मूर्ती, बेनीको गलेश्वर र धनगढीको मुक्तिनाथ धाममा कामधेनु गाई बनाउने कलाकार पनि यिनै सेञ्चुरी हुन् ।

      पोखरा–८ नागढुंगाका कलाकार युवराज लामिछानेद्वारा निर्मित शिव, पार्वती, गणेश, महाकाली, सरस्वती, लक्ष्मी लगायत देवदेवताका मूर्तीहरु कास्कीका विभिन्न गाउँघर तथा छिमेकी स्याङ्जा, पर्वत, तनहुँ लगायतका स्थानमा रहेका विभिन्न मन्दिरहरुमा पूजिएका छन् । कलाकार लामिछानेले देवदेवताका मात्रै होइन, संग्रहालयका लागि विभिन्न जातजातिका मूर्ती, सहिदका मूर्ती बनाएका छन् ।

      पोखराको नयाँबजारमा लागेको मःमः मेलामा अहिले सम्मकै ठूलो मःम बनाएका लामिछाने पछिल्लो समय कलाको आधुनिक शैली ‘थ्री डि’को अभ्यास पनि गरिरहेका छन् । उनी पानी र तेल रंगसँग क्यानभासमा राम्रै खेल्छन् । लामिछाने विद्यालयस्तरबाटै कला क्षेत्रमा लागेका हुन् । विद्यालयस्तरमा उनको चित्र देशमै अब्बल भएर एसिया स्तरीय प्रतिस्पर्धाका लागि छनौट भएको उनलाई याद छ । त्यस्तै, नेपाल सरकारको युवा कार्यक्रम अन्तर्गत उनी वर्ष २०७४ का लागि कास्की युवा घोषित हुँदै नगद सहित पुरस्कृत भएका थिए, जुन कला क्षेत्रमा उनले पाएको पछिल्लो पुरस्कार हो ।

      सुर्खेत, भेरीगंगा–८ का सेञ्चुरीले यसअघि कलासाधनाकै अभ्यासका क्रममा झण्डै १५ वर्ष भारतमा बिताएका थिए । कमजोर आर्थिक अवस्थाका कारण दैनिक ज्याला मजदुरीका लागि भारत पुगेका उनी मूर्तीकारको फेला परे । ‘घरको काम भनेर गएको मूर्तीको काम रहेछ, त्यहि समूहमा काम गर्दागर्दै मूर्ती बनाउन सिकेको’ उनले सुनाए । उनले भारतको हरिद्वार, दिल्ली, इलाहबाद, उडिसा, पञ्जाब, हिमाञ्चल, बरेली, मानसरोबर लगायतका स्थानहरुमा पुगेर मूर्तीको काम गरिसकेका छन् । कलाकार सेञ्चुरीलाई दर्जन बढी संघ-संस्थाले सम्मान गरिसकेका छन् ।

      पोखराको नागढुंगामा नागढुंगा मूर्ती उद्योग र छोरेपाटनमा छोरेपाटन मूर्ती उद्योग सञ्चालन गर्दै आएका यि २ कलाकारलाई चितवनले सहकार्यमा भेटाएको छ । ‘हाम्रो सहकार्यमा नेपाली कला क्षेत्र थप उचाइमा पुग्ने विश्वास लिएका छौं’ दुवैजनाको भनाई छ । यद्यपी, उनीहरुको सहकार्यले कलाक्षेत्रलाई कहाँ पुर्‍याउने हो, यो भने आगामी दिनले नै तय गर्नेछ ।


      प्रतिकृया दिनुहोस्