Samadhan National Daily

      मूक्तिनाथमा तीर्थालुका ८ बोरा अन्डरवेयर

      मुस्ताङ, १७ कार्तिक:

      मूक्तिनाथ पुगेपछि पापबाट मूक्ति पाइने ,धर्म प्राप्त हुने धार्मिक विश्वास छ तर त्यहाँ पुगेका केही झक्तजनले नै विवेकहीन बनेर फोहोर गरेको पाइयो ।

      धार्मिक तपोभूमिमा वातावरण चुस्त,स्वच्छ र सफा राख्नुपर्ने सबै नागरिकको कर्तव्य हो । तीर्थालुले हजारौं रुपैयाँ दान गरेर मूक्तिनाथबाट फर्कन्छन् तर, यस परिसर सफा राख्ने विषयमा समितिले चासो दिएको पाइएन ।

      मूक्तिनाथ क्षेत्रमा तीर्थालुले फ्याँकेका अन्डरवेयरले म्याग्दीका प्रकाश पौडेल र मुस्ताङका पेमा छेतेन बिकलाई हुटहुटी चलायो । जताततै फाहोर देखेपछि दुखित बनेका उनीहरुलाई मन्दिर परिसर सफा गरेर फर्कन पाए हुन्थ्यो भन्ने लाग्यो । उनीहरुले सरसफाइका क्रममा तीर्थालुले फ्याँकेका ८ बोरा अन्डरवेयरलाईे खाल्डो खनेर पुरे मूक्तिनाथलाई नै फोहोरबाट मूक्ति दिलाएर असल नागरिकको परिचय दिए ।

      समितिको दान कोेषमा करोडौं रुपैयाँ मौज्जाद छ । हजारौ रुपैयाँ दैनिक भेटी जम्मा हुने गर्छ । मन्दिर परिसरको सौन्दर्य नै कुरुप हुने गरी तीर्थालुले फोहोर मिल्काइरहँदा व्यवस्थापन समितिले किन फोहोर राख्ने डस्टबिन राख्न सकेको छैन ? मन्दिरमा कर्मचारी तथा सुरक्षाकर्मी छन् । साथै आनी र पूजारी पनि त्यही बस्छन् । उनीहरुले आफ्नै आँखा अगाडिको फोहोर टुलुटुलु हेरेर बसिरहँदा कस्तो सन्देश देला जनमानसमा ? पर्यटकले मूक्तिनाथको फोहोरको चाङ देख्दा कस्तो ठान्लान्? यस्ता प्रश्नहरु अनुत्तरित बनेका छन् ।

      मन्दिर आएका तीर्थालुले १ सय ८ धारा र कुण्डमा स्नान गरेपछि अन्धाधुन्ध अन्डरवेयर र फोहोर मिल्काएको पाइयो । यो सुहाउँदो धार्मिक सभ्यता थिएन । मन्दिर वरपरको रुखका हाँगामा समेत अन्डरवेयर ध्वजाजस्ता झुन्डिएको देखिन्थे । यसले विशुद्ध मनले पूजाआजा गर्नेलाई तीर्थालुलाई असहज बनाएको छ । यसरी फालिएका कपडालाई कसरी ,कहाँ व्यस्थित गर्ने भन्ने बारेमा अहिलेसम्म सूचनासम्म प्रकाशित गरिएको छैन ।

      म्याग्दीका प्रकाश मुस्ताङसँग परिचित व्यक्ति हुन् । मुस्ताङसँग राजनैतिक तथा भावनात्कम सम्बन्ध छ । उनको यही सम्बन्धका कारण उनी मूक्तिनाथको फोहोरको दृश्य देखेर यसलाई व्यवस्थापन गर्नेतर्फ कस्सिए । उनले सहकर्मी मुस्ताङका विद्यार्थी नेता पेमाछेतेन बिकलाई लिएर बुधबार मूक्तिनाथ पुगे । उनीहरुले मन्दिरका केही कर्मचारीको सहयोग लिएर दिनभरि मूक्तिनाथ परिसरको व्यापक सरसफाइमा जुटे ।

      बिद्यार्थी नेता पौडेलले धार्मिक आस्थाको केन्द्र मूक्तिनाथमा फोहारको थुप्रो देखिनु अस्वाभाविक भएको बताए । उनले मन्दिरमा जथाभावी फोहोर मिल्काउनु राम्रो नभएको र यहाँ आएका तीर्थालुले देख्ने गरी यसबारे जानकारी गर्नुपर्ने सुझाए । अर्का विद्यार्थी नेता विकले धार्मिक क्षेत्रमा पुण्य गर्न गएका तीर्थालुले जथाभावी फोहोर गर्न नसुहाउने बताउँदै यसमा मन्दिर व्यवस्थापनको समेत कमजोरी औंल्याए ।


      प्रतिकृया दिनुहोस्