Samadhan National Daily

      प्याड बनाउन सिकाउँदै पाेखरेली ‘प्याडम्यान’ अश्विन

      पाेखरा, १८ कार्तिक:

      मासिक स्राव भएका महिलालाई लक्षित गरी अति सस्तो प्याड बनाउने १ जना व्यक्तिको सफलताको कथा अक्षय कुमारको चलचित्र ‘प्याड म्यान’ मा देख्न पाइन्छ । तामिलनाडुका अरुणाचलम मुरुगनाथम नाम गरेका व्यक्तिले सस्तो प्याड बनाउन गरेको संघर्ष र सफलतालाई अक्षयले ‘प्याड म्यान’मा देखाएका छन् । ‘प्याड म्यान’का नामबाट ती व्यक्ति कहलिए ।

      अश्विन कार्कीलाई चिन्नेहरू पनि उनलाई प्याड म्यान नै भनेर बोलाउँछन् । पोखरा बैदामका अश्विनले जब महिनावारी र प्याडका विषयमा कुरा गर्न थाले, तब हाँसोको पात्र बने । उनको नाम नै ‘प्याड म्यान’ बन्यो । प्याड बनाउने तरिका सिकाउन र महिनावारीबारे अभियान थालेको केही महिनापछि ‘प्याड म्यान’ फिल्म आयो । अश्विनलाई ऊर्जा जुट्यो ।

      महिनावारीका विषयमा अझै पनि खुलेर कुरा नगर्ने नेपाली समाजमा उनले बोल्न थाले । उनी विभिन्न गाउँ पुगेर महिनावारीमा प्रयोग गर्ने प्याड बनाउने तरिका सिकाइरहेका छन् । उनले प्याड बनाउनमात्रै सिकाइरहेका छैनन्, यसबारे ज्ञान पनि बाँडेका छन् । फेरिफेरि प्रयोग गर्न मिल्ने प्याड बनाउने तरिका र यससँग जोडिएका स्वास्थ्यका विषय किशोरकिशोरीलाई बुझाइरहेका छन् ।

      आफैंले प्याड बनाउन सिकेर अरुलाई पनि सिकाउँदै हिँड्ने यी युवाको चाहना छ, समाजमा महिनावारी छुवाछुत र लुकाउने विषय नबनोस् । महिनावारी प्राकृतिक र नियमित प्रक्रिया भएकाले यस्तो बेलामा आफैं बनाएर सफा प्याड प्रयोग गर्न अश्विनको आग्रह छ । उनले आफैं बनाएर किशोरीलाई ४ सय प्याड बाँडिसके । उनको उद्देश्य प्याड बाँड्नुभन्दा पनि बनाउन सिकाउनु र यसबारे बुझाउनु हो ।

      यसो गर्न थालेपछि साथीभाइले उनलाई खिसिटिउरी पनि गरे । ‘यो कस्तो लाज नभएको केटा होला । केटीले लगाउने प्याडको विषयमा कुरा गर्छ’, केटी साथीले शौचालयको कुरा गरेको पनि सुने । केटा मान्छे भएर के केटीले लगाउने प्याडको कुरा गर्दै हिँडेको होला भनेर गिज्याए पनि । तर, उनले अभियान चलाइरहे । ‘महिलाका विषयमा महिलाले मात्रै बुझेर हुँदैन, पुरुषले पनि बुझ्नुपर्छ,’ अश्विन भन्छन्, ‘नत्र हाम्रा छोरीका विषयमा बुबाले के बुझ्ने ? कसरी बुझ्ने, हामीले हाम्रा दिदीबहिनीका समस्या कसरी थाहा पाउने ?’ उनले महिनावारीबारे बुझाउने, प्याड बनाउने र सिकाउने गर्न थालेको २ वर्ष भयो । अझै समाजमा महिनावारी लुकाउने विषय नै रहेको उनले बुझे ।

      अश्विनले यो अभियान किन सुरु गरे त ? ‘घरमा अहिले अलि सुस्त मनस्थितिकी दिदी हुनुहुन्छ । महिनावारी लगायत महिलाका समस्याबारे धेरै कुरा थाहा पाएँ,’ अश्विन भन्छन्, ‘दिदीको समस्या देखेरै उत्प्रेरित भएँ ।’ उनलाई कसैले प्याड बनाउन सिकाएन । उनले आफैं सिके । इन्टरनेटमार्फत यसका प्रकार र तरिकाबारे उनले खोजे ।

      ‘महिनावरीका बेला के गर्नुपर्छ भन्ने धेरैलाई थाहै छैन । महिनावारीका विषयमा अहिले पनि खुलेर छोरीले बुबासँग कुरा गर्न सक्दिन । अरु कुरामा चासो राखे झैं न बुबाले छोरीसँग महिनावारीबारे चासो राख्छन्,’ अश्विनले भने, ‘समस्या धेरै छन् । अझै महिनावारीमा फोहोर कपडा प्रयोग गर्ने अवस्था छ ।’ धेरै कुरामा फड्को मारे पनि महिलाका विषयमा खुलेर कुरा गर्ने समाज अझै निर्माण भइनसकेको अश्विनको बुझाइ छ ।

      उनले थुप्रै पटक सहरका किशोरकिशोरीसँग महिनावारी र प्याडका विषयमा छलफल गरेका छन् । सहरभित्र र गाउँका विद्यालयमा पुगेर प्याड बनाउन सिकाएका छन्, यसबारे बुझाएका छन् । १ वर्षअघि एक्स आर्मी स्कुल छोरेपाटनमा उनी महिनावारी र सेनेटरी प्याडबारे कार्यक्रम लिएर पुगे । ५० जना किशोरीलाई प्याड कसरी बनाउने र महिनावारीसम्बन्धी कुरा गरे । तर, किशोरीले महिनावारीका विषयमा खुलेर कुरा गर्न रुचाएनन् ।

      १ किशोर अगाडि उभिएर महिनावारी र प्याडको विषयमा कुरा गर्दा किशोरीहरु लाजले रातोपीरो भएछन् । ‘जब म विद्यालयमा पहिलो कार्यक्रम लिएर गएको थिएँ, त्यतिबेलै मलाई थाहा भयो कि समाज अझै महिनावारीजस्ता नियमित प्रक्रियाका विषयमा पनि कुरा गर्ने भइसकेको रहेनछ,’ अश्विनले भने, ‘त्यसो हो भने त यो विषय बुझाउनुपर्छ भन्ने ऊर्जा थपियो ।’ उनले अहिलेसम्म यस्तै कार्यक्रम लिएर ५ वटा विद्यालय पुगे । २ विद्यालयमा डाक्टरसहित ।

      उनले यस विषयमा सहरका किशोरीभन्दा अझै बढी गाउँका किशारीले खुलेर कुरा गरेको पाए । ‘अन्नपूर्ण गाउँपालिकाले वीरेठाँटी मावि, अन्नपूर्ण मावि भुजुङखोला जस्ता गाउँका विद्यालयमा पुग्दा अलि फरक अनुभव भयो । सुरुमा महिनावारीका विषयमा नखुलेका किशोरी एक छिनपछि खुलेर कुरा गरे,’ अश्विनले अनुभव सुनाए, ‘सहरका किशोरी धेरैजसोले प्याड प्रयोग गर्छन् तर मजाले खुलेनन् गाउँका किशोरी कम प्याड प्रयोग गरिरहेका पाइए तर खुलेर कुरा गरे ।’ सहरमा होस् या गाउँमा तर समस्या धेरै नै रहेको उनले पाए ।

      कक्षा ११ र १२ पढ्दै गर्दा आफ्नै उमेरका किशोरीसँग प्याडका विषयमा कुरा गर्दा उनले आक्षेप पनि खेप्नुपर्‍यो । अहिले त्यतिबेला नराम्रो भन्ने किशोरीहरु उनका साथी भएका छन् । शिक्षकले प्रोत्साहन गरिरहेका छन्, साथीहरुले सहयोग गरिरहेका छन् । सँगै पढेका दर्शन ढुंगाना प्याड बनाउन सहयोग गर्नै पुग्छन् । पहिले खिसिटिउरी गर्दै ‘प्याड म्यान’ भन्दै जिस्काउनेहरु अहिले गर्वसहित म्याड म्यानलाई सहयोग गर्न आउने अश्विनले सुनाए ।

      उनी कटनको कपडाको सेनेटरी प्याड बनाउँछन् । यो रुमाल जसरी पट्याएर लिएर हिँड्न मिल्छ । एक पटक बनाएपछि ३ वर्षसम्म प्रयोग गर्न सकिने अश्विन बताउँछन् । ‘बजारबाट कटनको कपडा किनेर आफैंले सिलाएर यो प्याड बनाउन सकिन्छ,’ अश्विनले भने, ‘सबै गरेर १ पिसको ५० रुपैयाँ जति पर्न आउँछ तर ३ वर्षसम्म धुँदै प्रयोग गर्न सकिन्छ ।’

      शुक्रबार र शनिबार बिदाका दिन गाउँ पुगेर आमा समूह, युवा क्लब र विद्यार्थीलाई प्याड बनाउन सिकाउने र यसबारे छलफल चलाइरहने योजना आश्विनको छ । महिनावारी, सेनेटरी प्याडबारे काम गर्ने अहिले बर्गेल्ती संस्था र अभियन्ता छन् । तर, अश्विनले आफैं खर्च जुटाएर अभियान चलाइरहेका छन् । महिला र महिलाका समस्या, संवेदनाका सवालमा समाज खुकुलो भइनसकेको उनको बुझाइ छ ।

      बजारमा थुप्रै प्रकारका सेनिटरी प्याड पाइन्छन् । प्याड प्रयोग गर्ने बढे पनि प्याडको व्यवस्थापन गर्ने भन्ने बारे धेरै नसोच्ने अश्विनले बताए ।

      ‘प्रयोग गरिएको प्याड जताभावी फाल्दा वातावरणमा त असर पारेकै हुन्छ, सडक बालबालिकाले ड्रग्सको रुपमा पनि यो युज गर्ने गर्छन्,’ अश्विन भन्छन्, ‘खाल्टो खनेर यसको व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।’ आफैं कटनको प्याड बनाएर प्रयोग गर्दा पैसा बच्ने र धेरै वर्ष पनि टिक्ने उनको सुझाव छ ।

      अश्विनका बुबा राष्ट्र बैंकका जागिरे छन् । उनी छोराको अभियानप्रति सहयोगीमात्रै छैनन्, कतिपय कार्यक्रममा प्याड बोकेर सँगै पुगेका छन् । उनलाई थानेश्वर पहारीले सुरुदेखि नै आर्थिक सहयोग गर्दै आएका छन् । अश्विनकी दिदी इन्जिनियर छिन् र भाइलाई कार्यक्रममा प्रस्तुत गर्ने चेतनामूलक सामग्री जुटाउँछिन् ।

      आमाले अश्विनलाई प्याड सिलाउन सहयोग गर्छिन् । उनको यो अभियानमा अहिले २, ३ जना अरु साथी पनि थपिएका छन् । ‘परिवार, गुरु, साथीभाइ सबैबाट सहयोग र प्रोत्साहन पाइरहेको छु,’ पोखरा विश्वविद्यालयमा डेभलपमेन्ट विषयमा स्नातक गरिरहेका अश्विन भने । हिजो साथीभाइले जिस्काउँदा अलि नमज्जा लाग्ने सुनाउँदै अश्विन भन्छन्, ‘अब त सबैले भनून् मलाई ‘प्याड म्यान’ । खुसी मिल्छ ।’


      प्रतिकृया दिनुहोस्