Samadhan National Daily

      गण्डकीका ३० गापामा सभा हल, सबै नपामा शौचालय

      महानगरमा स्मार्ट शौचालय बनाउन प्रदेश सरकारको ५० लाख

      पाेखरा, २० कार्तिक:

      गण्डकी प्रदेशले ३० गाउँपालिकामा यसै वर्ष बहुउद्देश्यीय सभा हल निर्माण गर्ने भएको छ ।

      प्रदेशका ३० वटा गाउँपालिका छनोट बहुउद्देश्यीय सभाहल निर्माण प्रक्रिया अगाडि बढेको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले बहुउद्देश्यीय सभाहल निर्माण सम्बन्धी कार्यविधि पारित गरिसकेको छ ।

      ३० गाउँपालिकाको केन्द्रमा यसै वर्ष बहुउद्देश्यीय सभा निर्माण गर्ने प्रदेशको योजना छ । ‘अब ३० गाउँपालिका छनोट गर्छौं । हामीले गाउँपालिकाहरुलाई सभा हल निर्माणका लागि प्रस्ताव ल्याउन भनेका छौं,’ भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘गाउँपालिकाको छनोट लगत्तै निर्माण प्रक्रिया अगाडि बढिहाल्छ ।’

      प्रदेशले गाउँपालिकासँग ६०ः४० प्रतिशतको सहकार्यमा सभा हल निर्माण गर्ने छ । सभा हल निर्माण गर्न प्रदेश सरकारले ३० गाउँपालिकालाई १० करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । सभा हल निर्माण हुने प्रत्येक गाउँपालिकाले ३५ लाख रुपैयाँका दरले प्रदेशबाट रकम प्राप्त गर्ने छन् ।

      सभा हल निर्माण गर्ने जग्गा गाउँपालिकाले उपलब्ध गराउने छन् भने प्रदेश सरकारले त्यसको डिजाइनसहित रकम उपलब्ध गराउने छ । ‘सभा हल कस्तो बनाउने, कसरी बनाउने, त्यसका आधारहरु केके हुन्ने भन्ने विषय समावेस गरी कार्यविधि बनाएका छौं,’ भौतिक पूर्वाधार मन्त्री बस्नेतले भने, ‘कार्यविधिअनुसारै बहुउद्देश्यीय सभा हल निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।’

      प्रदेश सरकारले गाउँपालिकाकाको केन्द्रहरुमा बहुउद्देश्यीय भवन निर्माण यसै आर्थिक वर्षभित्र गर्ने नीति तथा कार्यक्रममै समावेस गरेको थियो । यस वर्ष ३० गाउँपालिका छनोट गरी निर्माण गर्ने र अर्को वर्ष थप गाउँपालिकामा निर्माण गर्ने योजना प्रदेश सरकारको छ ।

      ३० गाउँपालिकामा बहुउद्देश्यीय सभा हल बनाउन लागेको प्रदेश सरकारले सबै नगरपालिकामा भने सार्वजनिक शौचालय निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत प्रदेशका सबै नगरपालिकामा यसै वर्ष सार्वजनिक शौचालय निर्माण हुनेछ । गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले सार्वजनिक शौचालय निर्माण कार्यविधि पारित गरेसँगै निर्माण प्रक्रिया अगाडि बढेको छ ।

      गण्डकीका २६ नगरपालिकाको केन्द्रमा यसै वर्ष अनिवार्य सार्वजनिक शौचालय निर्माण गर्ने योजना प्रदेश सरकारको छ । एउटा शौचालय निर्माण गर्न १६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सार्वजनिक शौचालय निर्माणमा प्रत्येक नगरपालिकाले ४० प्रतिशत रकम व्यहोर्नु पर्नेछ भने प्रदेश सरकारले ६० प्रतिशत व्यहोर्ने छ । प्रदेशले प्रति शौचालय १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

      सबै नगरपालिकामा सार्वजनिक शौचालय निर्माण हुँदा प्रदेशको एकमात्र महानगरपालिकामा भने स्मार्ट शौचालयको कन्सेभ अगाडि सारिएको छ । पोखरा महानगरपालिकाभित्र स्मार्ट शौचालय निर्माण गर्न कार्यविधि प्रदेश सरकारले बनाएको छ । महानगरमा स्मार्ट शौचालय बनाउन प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको छ । बाँकी ३३ लाख ३३ हजार रुपैयाँ पोखरा महानगरले हाल्ने सरकारका प्रवक्तासमेत रहेका बस्नेतले जानकारी दिए ।

      स्मार्ट शौचालय बनाउन जग्गाको जोहो गर्ने र डिजाइन गर्ने काम महानगरपालिका आफैंले गर्ने छ । ‘पोखराको कुन ठाउँमा बनाउने, कस्तो बनाउने भन्ने कुराको टुंगो महानगरले लगाउने छ,’ मन्त्री बस्नेतले भने, ‘स्मार्ट शौचालय बनाउन पनि कार्यविधि बनाएका छौं । त्यसैअनुसार प्रक्रिया अगाडि बढ्छ ।’


      प्रतिकृया दिनुहोस्