Samadhan National Daily

      पृथ्वी र अम्मरसिंह चोकपछि बिरौटाको आइल्यान्ड साँघुरियो

      काठमाडौं, २० कार्तिक:

      पोखरा १७ बिरौटा चोकस्थित आइल्यान्ड साँघुरो पारिएको छ ।

      सोमबार आइल्याडको आकार सानो भएसँगै चोक ठूलो देखिएको छ । वडा कार्यालय र महानगरपालिकाले आइल्यान्डलाई साँघुरो पारिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

      अघिल्लो वर्ष पृथ्वीथोक, अम्मरसिंह चोकलाई साँघुरो बनाउने काम महानगरले नै गरेको थियो । फराकिलो अभियानलाई निरन्तरता दिँदै भीड हुँदै आएको अन्य चोकलाई पनि फराकिलो गर्ने काम गरिँदै आएको छ । बिरौटा चोकको आइल्यान्डलाई लगभग ३ मिटर खुम्च्याइएको छ ।

      चोककोबीचमा रहेको सालिकलाई भने हटाइएको छैन । सालिक र सालिकको जगलाई नहटाई महानगरले आइल्यान्ड फराकिलो बनाएको हो । पौडेलले लामा गाडीलाई आवतजावतमा कठिन भएको कारण आइल्यान्डको क्षेत्रफल घटाइएको प्रतिक्रिया दिए ।

      आइल्यान्डको क्षेत्रफल घटेपछि चोक खुला भएको छ । महानगरपालिकाले पोखरामा अन्य चोकमा पनि अप्ठेरो भएर बसेको आइल्यान्ड हटाउने योजना रहेको पौडेलले बताए ।

      पौडेलले महानगरपालिकाले बाटोको छेउछाउमा पैदलयात्री हिँड्ने ठाउँमा राखिएको माटोलाई पनि महानगरपालिकाले हटाउने अभियान सुरु गरेको जानकारी दिए । पौडेलले प्रत्येक वडा कार्यालयसँग समन्वय मार्फत सबै वडामा काम सुरु हुने बताए ।


      प्रतिकृया दिनुहोस्