Samadhan National Daily

      अस्ट्रेलियामा पाइलैपिच्छे पेनाल्टी

      पाेखरा, २८ कार्तिक:

      नेपालदेखि आएका बहिनी–ज्वाइँलाई एयरपोर्टबाट पिकअप गरेर आफ्नै घरतर्फ फर्कंदै गर्दा सिड्निको रकडेल स्थित ट्राफिक लाइटको रेडलाइटमा परे रकडेलकै युवा व्यावसायी विकास सेढाइ । त्यसको १५ दिन भित्रमा पेनाल्टी नोटिसको चिठी उनको घरमा आयो । अनलाईनमार्फत् उनले ४ सय ३३ डलरको फाइन तिरे, अस्ट्रेलियन सरकारलाई ।

      उता, रकडेलमै रहेको ईन्द्रेणी फन्कसन सेन्टरका सञ्चालक लक्ष्मण सापकोटाले पनि कोग्रा स्थित आफ्नै घर अगाडि पार्किङ कतै नभेटेपछि डिसेबल पार्किङमा गाडी राख्दा ४ सय ६५ डलर फाइन तिर्नुप¥र्या । उनले भने, ‘पानी परिरहेको थियो हतार हतार गर्दै गाडीबाट झरेर दगुर्दै घरको चाबी छोड्न गएको थिए १ हप्तापछि फोटोसहित फाइनको चिठी घरमा आएछ, नतिरी सुखै भएन ।’ अस्ट्रेलियामा यस्ता प्रकारका फाइन सबैले तिरेका हुन्छन् भन्दै उनले थपे, ‘त्यो १ मिनेटमा कति चाँडो नगरपालिकाको रेन्जर आएर मेरो गाडीको फोटो खिच्न भ्याएछ मलाई पत्तै भएन ।’

      अस्ट्रेलियाको हन्सब्बी बस्ने सुगम देवकोटा (राम) को व्यथा पनि यस्तै छ । एकदिन बेलुकीपख साथीको बर्थ–डे पार्टीमा जानको लागि गाडी निकालेर आफ्नै घर अगाडि गाडी भित्रै बसेर पार्टीमा सँगै जान लागे कि साथी सजनालाई २० सेकेन्ड कुर्दा उनले ३ सय ३७ डलर फाइन तिर्नुप¥या । कारण, त्यतिबेला उनको गाडी नो–पार्किङ लेखिएको बोर्डको मुनि थियो । उनले भने अनुसार, पछाडिबाट कसैले नो–पार्किङ मुनि मेरो गाडी देख्यो अनि फोटो खिचेर पुलिसलाई पठायो, जसका कारण मैले फाइन तिर्नुप¥यो । मेरो घर अगाडि पार्किङ फूल थियो । बाटोपारी वेट गरेको थिए, फाइनमा परिहाले’ उनले दुखेसो पोखे ।

      आधिकारिक मान्छेसँग गाडी चलाउन सिकिसकेपछि पनि हर्सभिल बस्ने अर्का अशेष पाण्डेयले जान्दा जान्दै हर्सभिल मै रेड लाईटको फाइन तिरेका छन् । उनी भन्छन्, ‘सिकेको कुरा व्यवहारमा उतार्न गाह्रो रहेछ, गाडी चलाउन जति सजिलो देखिन्छ उति नै गाह्रो छ । ढंग पु¥याएर गुडाउन, स्टेरिङमा बसेर चलाउन थालेपछि आँखाले कति ठाँउमा हेरेर भ्याउने, म जोगाउँछु भन्दा भन्दै ऐलो लाईनमा नरोकिएर रेड लाईटमा परेको हुँ ।’ त्यतिबेला गल्ती मेरै हो भन्दै उनले ४ सय ३७ डलर रेड लाईट फाइन तिरेको अनुभव सुनाए ।

      रेड लाइट फाइन तिर्नेको सूचीमा म आफू पनि अछुतो रहन सकिनँ । किन कि त्यतिबेला म सिड्नीको फेयर फिल्ड भन्ने ठाउँमा काम गर्थें । एकदिन बिहानै उठेर गाडी लिएर काममा जाँदै गर्दा भिजी रिसाइकलिङ नजिकको चोकमा रहेको ट्राफिक लाईटको रेड एरोमा परेर ४ सय ६५ डलर फाइन तिरेको तितो यथार्थ छ मसँग । यतिमात्र होइन म बस्ने ठाउँ कोग्रा स्थित आफ्नै घर अगाडि सधैं झै रोड पार्किङ गरेर गाडी राखिरहेको अवस्थामा १ सय १२ डलर फाइन तिर्नुपर्दा आगोमा घ्यू थपे जस्तै भएको थियो । २ घन्टाभन्दा बढी गाडी राख्न नपाइने नियममा मैले दिनैभरी गाडी राखेको हुनाले उक्त फाइनको भागिदार बन्नुप¥यो । थाहा भएअनुसार सो ठाउँमा यसअघि कहिल्यै चेकिङ नआएको र रेसिडेन्टल एरिया भएको हुनाले बाटोमै जतिघन्टा राखे पनि केही नहुने भनिएको थियो ।

      ‘अस्ट्रेलियामा गाडी चढिसकेपछि एउटा न एउटा बाहानामा फाइन नतिरी बस्ने को होला र भन्दै भर्खरै टिआर भिसामा रहेकी सरीता थापाले आफू घरबाट गाडी लिएर निस्केपछि बेलुकी फर्किंदासम्म कता फाइन पो आको छ कि ! भन्ने पीरले सताइरहने बताउँछिन् ।’

      तोकिएको समय अवधिभन्दा बढी पार्किङ गरेर फाइन तिर्नेहरूको सूचीमा एभरेस्ट कम्युनिकेसनका कर्मचारी अशोक घिमिरेको नाम यहाँ छुटाउन मिल्दैन । उनले पछिल्लो पटक १ सय १२ डलर फाइन तिरेका छन् । उनले २ घन्टाको पार्किङ छुट्टयाइएको ठाउँमा २ घन्टा १० मिनेट पछाडि जाँदा यो फाइन तिरेका हुन् । १० मिनेटले गर्दा यत्रो फाइन तिर्नुप¥यो भन्दै उनी थप्छन्, ‘यो देशमा माफी भन्ने नै हँुदैन, कतिपय गल्ती थाहा नभएर पनि हुन सक्छ तर त्यो अवस्थामा पनि फाइन तिर्नैपर्छ ।’

      एभरेस्ट कम्युनिकेसनमा कार्यरत राजेश सापकोटा पनि यो देशको फाइनको कानुनप्रति अति नै सचेत हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘एकदिन मेरो बुढीले काम गर्नै क्याफेमा उनलाई हेल्प गर्न जाने क्रममा ट्राफिक लाइटको पैदलयात्री हिँड्ने लाईट क्रस गर्नै लाग्दा पुलिसले देखेर मलाई सचेत गराउँदै औलो ठडाएको थियो, यसपछि मैले बुझिहाले कि म मान्छे हिँड्ने बाटोको रेड लाईट बलिसकेपछि हिँडेको रहेछु । त्यतिबेला पुलिस गाडीबाट झर्न भ्याएको भए मलाई ठाउँको ठाउँ ७५ डलर फाइन लगाउथ्यो, भाग्यबस बचे ।’

      मोडल तथा कलाकार विषम गौतम अस्ट्रेलियामा धेरैपटक सवारी फाइन तिरेका व्यक्ति हुन् । पछिल्लोपटक मात्रै उनले ओभर स्पिडको फाइन ८ सय ७३ डलर तिरेका छन् । ६० देखि ६६ को रेन्जमा गाडी चलाउनुपर्ने ठाउँमा उनले १ सयभन्दा माथिको स्पिडमा चलाएको हुनाले पुलिस गस्तीको टोलीले उनलाई पक्राउ गरेर सो फाइन तिराएको हो । टिम कन्सलटेन्सिका सत्य प्रकाश कँडेलले पनि बस जोनमा ३ मिनेट गाडी रोक्दा ३ सय ५० डलर फाइन स्वरुप तिर्नुपरेको थियो । अस्ट्रेलियामा विभिन्न सांगितिक कार्यक्रम गर्दै आएको संस्था मायालु इन्टरनेसनलका संयोजक विष्णु सापकोटाले पनि विभिन्न बाहानामा हालसम्म ६ हजारभन्दा बढीको फाइन तिरेका रहेछन् ।

      खासगरी, अस्ट्रेलियामा नियम र कानुनलाई अटेर गरेमा फाइन तिर्नुपर्ने अरू शीर्षकहरू थुप्रै छन् । रेलमा यात्रा गर्दा ओपल कार्ड ट्याब अन गरेको छैन भने २ सय डलरदेखि ५ सय, रेलमा थुके २ सय डलर, सिटमा खुट्टा राखेर बसे १ सयदेखि ११ सय डलरसम्म जरिवाना तिर्नुपर्छ । बुढाबुढी पार्कमा बसेर झगडा गरे ५ सयदेखि १५ सय डलर, टेलिफोनको बिल तिर्न ढिला गरे १५ डलर, पपमा गएर रक्सी खाएर हो–हल्ला गरे ५ सय डलर, नो स्मोकिङ जोनमा चुरोट खाए २ सय ५० डलर तिर्नुपर्ने प्रावधान छ । त्यस्तै, गुडिरहेको गाडीबाट फोहोर फालेमा ५ सयदेखि २२ सय डलर, बाटोमा राखिएको नगरपालिकाको बिनमा आफ्नो घरबाट ल्याएको फोहोर फालेमा २ सय ५० डलर, स्कुलको समयमा उक्त जोनमा ४० भन्दा माथिको स्पिडमा गाडी चलाएमा ५ सय ६१ डलर र बस जोनमा गाडी रोकेमा ३ सय ३७ डलर फाइन तिर्नुपर्ने हुन्छ ।

      माथि उल्लेखित फाइनहरू सवारी लाइसेन्सको प्रकृति, ठाउँ हेरेर घटी–बढी हुने बताइएको छ । ओभर स्पिडको हकमा समेत स्पिड घटी–बढीको आधारमा छुट्टाछुट्टै फाइन तिर्नुपर्ने नियम छ ।

      राष्ट्रिय निकुञ्जभित्र जहाँ प्रवेश निषेध लेखिएको हुन्छ त्यहाँ भित्र छिरे १४ हजार डलरभन्दा बढीको फाइन तिर्नुपर्ने हुन्छ । यो त नेपाली विद्यार्थीको लागि झन्डै १ वर्षको कलेज फि बराबरको मूल्य पर्न जान्छ । ठूला–ठूला टनेल भित्र तोकिएको सवारी साधन बाहेक अन्य हेभी सवारी गुडाएको अवस्था हेरी २५ सयदेखि ३ हजार डलरसम्म फाइन तिर्नुपर्ने हुन्छ । अस्ट्रेलियामा घर बनाउने सन्दर्भमा पनि प्रत्येक कुरामा विचार नपु¥याए फाइन तिर्नुपर्ने हुन्छ । ‘अरू त कुरै छाडौ, घरको सामान्य सिढी पनि यति फिटको बनाउँछु भनेर पहिल्यै फाइनल गर्नु पर्छ नत्र तपाईं हामीले सोचे भन्दा बढी फाइन तिर्नुपर्छ’ भन्दै सिड्नीका एक व्यावसायी युवराज भट्टराई अगाडि थप्छन्, ‘हाम्रो दिमागको यहाँ केही चल्दैन सबै रीत पु¥याएर मात्र घरको संरचना बनाउनुपर्छ ।’

      साईकल चढे्नेहरूले तिरेको फाइनको प्रसंग निकै रोचक लाग्दो छ अस्ट्रेलियामा । साईकल चलाउँदा हेल्मेट नलगाएको, बाटोमा हिँडे्का पैदलयात्रीसँग डिस्टेन्ट मेन्टेन नगरेको, ओभर स्पिडमा चलाएको, रेड लाइटमा फुत्त भागेको, साइकल भरी झोलै झोला झुडाएर हिँडेको आदि शीर्षकमा पनि ठूलै रकम फाइन तिर्नुपर्ने हुन्छ । एक तथ्यांकअनुसार, सन् २०१७ को अन्त्यसम्ममा १.३३ मिलिएन डलर बराबरको फाइन साइकलयात्रीबाट मात्रै संकलन भएको थियो । अस्ट्रेलियाको नियम अनुसार बिदाको दिन अर्थात् पब्लिक होलिडेमा लगाइने फाइन अरू दिनको तुलनामा दोब्बर हुन्छ साथै लाइसेन्सको डिमेरिटस् प्वाइन्ट पनि दोब्बर नै काटिने अनि कम्तीमा ३ महिनादेखि १ वर्षसम्म गाडी नै चलाउन नपाइने नियम छ ।

      कुनै पनि अपार्टमा भाडामा बसेर आफूले तोकेको समयभन्दा अघि या पछि कोठा सर्न खोजेमा ५ सय डलर फाइन तिर्नुपर्ने हुन्छ । अपार्टमेन्टको नियम अनुसार कोठा छाड्नु १५ दिन पहिला खबर गर्नुपर्ने र उनीहरूले तोकेको दिन र समयमा नै सर्नुपर्ने नियम छ । अन्यथा, १÷२ घन्टा ढिलो चाडो सर्ने तयारी गरेमा पेनाल्टी तिर्नुपर्छ । बताइएअनुसार अस्ट्रेलियामा विभिन्न शीर्षकमा सबैभन्दा बढी पेनाल्टी तिर्नेहरूमा विदेशी नै बढी भएको पाइएको छ । जानेर होस् वा नजानेर बढी फाइन तिर्नेहरूमा कोलम्बियन, चाइनिज, इन्डियन र नेपालीको संख्या निकै ठूलो छ । यसबीचमा, गाडी सिक्ने क्रममा मात्रै धेरै नेपालीले पेनाल्टी वापत् अस्ट्रेलियन सरकारलाई मोटै रकम तिरिसकेको कुरा एक अध्ययनले देखाएको छ ।

      माछा मार्न जाँदा तोकिएको एरिया बाहेक अन्य एरियामा माछा मारेमा फाइन, कुनै कारणबस तपाईंको घरबाट यहाँको पुलिस, एम्बुलेन्स सेवामा ३ पटकभन्दा बढी मिस कल अथवा फोनमा कोही पनि नबोले फाइन, ठूला ठूला बिल्डिङमा बिना सूचना फाएर होज रिल प्रयोग गरेमा फाइन, सार्वजनिक ठाउँमा दिसापिसाब गरेमा फाइन, घरको फायर आलाराम बजेमा अवस्था हेरी फाइन यी सबै अस्ट्रेलियाका सामान्य फाइनहरू हुन् । यी बाहेक यहाँ यस्ता ठूला फाइनहरू छन् जुन फाइनको रकम सुन्दा नै बेहोस पर्ने स्थिति आउँछ । त्यो मात्र होइन गल्तीको प्रकृति हरेर फाइन तिराउँदै समातेर उसकै देश फिर्ता पठाइ दिने कडा कानुन पनि अस्ट्रेलियामा छ ।
      एक तथ्यांकअनुसार २०१६÷१७ को एक आर्थिक वर्षमा बाटोमा राखिएका क्यामेराबाट मात्रै ३२३.३ मिलियन डलर बराबरको पैसा पेनाल्टी र फाइनबाट मात्रै यो देशले बटुलेको थियो । यस भित्र पनि १.१ बिलियन डलर पैसा ओभर स्पिडबाट मात्रै संकलन भएको तथ्य सार्वजनिक भइसकेको छ । त्यस्तै, सिंगो अस्ट्रेलियामा बर्सेनी ३.५ बिलियनभन्दा बढी रकम छुट्टाछुट्टै शीर्षकका पेनाल्टीबाट संकलन हुने गर्छ ।
      अस्ट्रेलियामा मानिसको चाप बढेसँगै यो पेनाल्टीको दर अझ बढ्न सक्ने सम्भावना जानकारहरू बताउँछन् । प्राय जसो विकसित राष्ट्रमा मानिसलाई अझ बढी सभ्य बनाउने, अनुशासित राख्ने, नियमकानुनको पालना गर्न सिकाउने सन्दर्भमा फाइनहरू राख्ने गरिएको पाइएको छ ।
      समग्रमा यो लेख तयार पार्दासम्म अस्ट्रेलियामा केहीदिन पहिला मात्रै ट्राफिक नियम सम्बन्धी नयाँ नियम लागु गरिएको थियो । सम्भवत उक्त नियम ट्राफिक लाईटसँग सम्बन्धित भएको र सवारी चलाउनेहरू अब हाईबे जाँदा निकै सचेत अनि सजग हुनुपर्ने देखिन्छ । यदि पेनाल्टी नोटिसको चिठी घरमा आयो भने खाइनखाई गरेर कमाएको पैसा फाइन वापत तिर्नुपर्दा मन कट्क्क खान्छ होला भनियो भने गलत अर्थ नलाग्ला । यसप्रकार अस्ट्रेलियामा दिनानुदिन फाइन सम्बन्धी नयाँ व्यवस्था, नियम, कानुन थपिँदै जाने हो भने अझ कतिजना सजायको भागिदार बन्ने हुन् त्यो समयले नै देखाउँला । यस्ता विभिन्न अनगिन्ती शीर्षकमा मापदण्ड राखेर फाइन तोकेको हँुदा कतै यो देशको अर्थतन्त्र पूरै फाइन र पेनाल्टीले मात्रै चलेको छ कि भनेर अनुमान गरियो भने पनि दुईमत नहोला ।


      प्रतिकृया दिनुहोस्