Samadhan National Daily

      जति ठूलो संघर्ष, त्यति ठूलो सफलता

      , २९ कार्तिक:

      –संसारका सफल व्यक्तिको जीवन अध्ययन गर्ने हो भने उनीहरु सफल हुनुमा निरन्तर मेहनत र कडा संघर्षको मुख्य भूमिका पाइन्छ ।

      ओलम्पिक स्वर्ण पदक विजेता विल्मा रुडोल्फले भनेकी छन्, ‘संघर्ष बिनाको पुरस्कारको त्यति महत्व हुँदैन ।’ ढुंगे युगदेखि आजको वैज्ञानिक युगसम्म आइपुग्नको लागि मानिसले ठूलो संघर्ष गरेका छन् । संघर्ष बिना कुनै पनि सफलता, कुनै पनि परिवर्तन सम्भव छैन । मानिसको शारीरिक परिवर्तनमा पनि संघर्ष आवश्यक हुन्छ, चाहे त्यो सामान्य प्राकृतिक परिवर्तन वा त्यो अप्राकृतिक परिवर्तन नै जुनसुकै परिवर्तन होस् ।

      कुनै मानिस कठिन परिस्थितिसँग संघर्ष गर्न डराएर बिग्रिन्छन् भने कुनै मानिस कठिन परिस्थितिसँग डटेर सामना गरी परिपक्व हुन्छन् । संघर्ष गर्न डराउने व्यक्ति समाजमा विचाराको पात्र हुन्छन् भने संघर्ष गर्ने व्यक्ति समाजमा उदाहरणीय र प्रिय पात्र बन्छन् । हिन्दीमा एउटा कविता छ, ‘एक पत्थर चोट खाके कंकड कंकड हो गया, एक पत्थर चोट सहेके शंकर शंकर हो गया ।’

      २ वटा ढुंगा (भगवानको मूर्तिवाला ढुंगा र मन्दिर जाने बाटोको सिंढीको ढुंगा) कुराकानी गरिरहेको थियो । कुराकानीमा सिंढीवाला ढुंगाले मूर्तिवाला ढुंगासँग रुँदै आफूलाई मानिसले हेला गरेको कुरा सुनाउँदै भन्दैथ्यो, ‘यार साथी, तिमी र म एउटै जातको, एउटै कुलको र एउटै खानीबाट एकैदिन निकालिएका हौं । तर तिमीलाई मानिसले श्रद्धा गरेर पूजा गर्छन्, दूध चढाउँछन्, ढोग्छन् तर मलाई लात्तीले हानेर हिँड्छन्, थुक्छन् । हामीमा यत्रो भेदभाव किन ?’

      सिंढीवाला ढुंगाको कुरा सुनेर मूर्तिवाला ढुंगाले भन्यो, ‘हेर साथी, हामी एउटै खानीबाट एकै दिन निकालेर मूर्तिकारले दुवैलाई मूर्ति बनाउन लागेकै हो । मूर्तिकारले मूर्ति बनाउन तिमीमाथि छिनो बर्साउँदा छिनोको पीडा सहन नसकी तिमी फुटिदियौ तर, म त्यो छिनोको पीडा सहेर बसिरहें । मूर्ति बनाउने क्रममा मैले छिनोको हानेको पीडा सहिरहें ।

      मूर्तिको आकार मिलाउनको लागि धेरै ठाउँमा काटियो । यसरी काट्दा मलाई यति दुख्थ्यो कि भन्दा पनि आङ सिरिङ हुन्छ । त्यसपछि पनि मूर्तिलाई चिल्लो बनाउनको लागि ममाथि खाग्सी रगड्दा पूरा खालो गएर कति तडपिन्थें कति । भर्खरै रगडेर चिल्लो बनाएको त्यो आलो घाउमा अझ आकर्षक बनाउनको लागि विभिन्न प्रकारका रंग दल्दा घाउले झनै पोल्दा कति मूर्छा परें ।

      कति तैपनि एकदिन आफू राम्रो हुने आशामा पीडालाई सहेरै बसिरहें । त्यही पीडा सहेको पुरस्कार स्वरुप अहिले मलाई मूर्ति बनाइदिए । मलाई पूजा गर्छन्, दूध चढाउँछन्, ढोग्छन् तर, पीडा सहन नसकि मूर्ति बन्नबाट पछाडि हटेको कारणले मानिसले तिमीलाई उनीहरु हिँड्ने भुईमा बिछ्याईदिए र अहिले तिमीलाई लात हान्छन्, थुक्छन् ।

      थिंक एन्ड ग्रो रिच पुस्तकका विश्व विख्यात लेखक नेपोलियन हिलले भनेका छन्, ‘सक्षमता र सफलता निरन्तर मेहनत र संघर्षबाट प्राप्त हुन्छ ।’ यस संसारमा सफल व्यक्तिको जीवन अध्ययन गर्ने हो भने उनीहरु सफल हुनुमा निरन्तर मेहनत र कडा संघर्षको मुख्य भूमिका रहेको पाइन्छ । आइपर्ने समस्यासँग संघर्ष नगरी सफलता प्राप्त गर्नु सम्भव छैन । मानिसमा मात्र होइन, यो संसारमा सबै वस्तुमा समस्या आउँछ र उनीहरुले उक्त समस्यासँग संघर्ष गर्नै पर्छ । सूर्यलाई पनि ग्रहण लाग्छ, तर ग्रहण लाग्यो भन्दैमा सूर्यले प्रकाश दिन छोड्दैन ।

      सूर्यलाई बादलले पनि छेकिदिन्छ तैपनि यसले प्रकाश दिन भने छोड्दैन र बादलमाथि विजय प्राप्त गरेरै छाड्छ । चन्द्रमामा पनि दाग हुन्छ, घट्छ पनि तै पनि यसले बिस्तारै आफ्नो आकारमा आउँछ, आकार सानो भयो भन्दैमा यो चम्कन छोड्दैन । सबै मानिसलाई जिन्दगीमा समस्या आउँछन् । जीवनमा कुनै पनि समस्या भोग्नुनपर्ने कुनै पनि मानिस हुँदैन । जुन व्यक्तिले समस्यासँग जुधेर संघर्ष गर्न सक्छ त्यो मानिस सफल हुन्छ भने समस्यासँग डराएर संघर्षबाट टाढा भाग्छ, उसले असफलता भोग्नु पर्छ ।

      सफलता एकै पटक आउँदैन । सफलता प्राप्त गर्नका लागि गरिने कार्यमा विभिन्न बाधा तथा अड्चनसँग डटेर संघर्ष गर्नुपर्छ । एक तोला सुन निकाल्नका लागि कयांै टन माटो खन्नुपर्छ । यो संसारको नियमले पनि यस्तै भन्छ, जुन चिज सजिलै पाइँदैन अर्थात जुन चिज दुर्लभ हुन्छ, त्यो चिज प्राप्त गर्नका लागि बढी मेहनत, संघर्ष गर्नुपर्छ ।

      एकजना किसान आफूले मेहनत गरेर लगाएको बालीलाई ठूलो हावा हुरी आएर ढालेर नोक्सान पु¥याएकाले भगवानको ध्यान गर्न थाल्यो । किसानको ध्यानबाट प्रसन्न भई भगवानले किसानलाई वरदान माग भन्नुभयो । किसानले भगवानलाई भन्यो, ‘हे भगवान, मैले यति धेरै मेहनत गरेर बाली लगाउँछु तर ठूलो हावा हुरी आएर बालीलाई नोक्सान पुर्‍याइदिन्छ । कृपया मैले लगाएको बालीलाई आवश्यक पर्ने हावाहुरी म आफैंले दिने शक्ति प्रदान गरिदिनुभयो भने मैले बालीबाट ठूलो मात्रामा उब्जाउ गरी लाभ लिन सक्ने थिएँ । भगवानले तथास्तु भन्नुभयो ।

      वरदान पाएपछि किसानले बाली लगाउन थाल्यो र बालीलाई एकदमै स्याहरसुसार गरेर बालीलाई थोरै थोरै मात्र हावा दिन थाल्यो ता कि बाली नढलोस् । एवं रितले दिन बित्दै गयो र बालीले फल दिने बेला हुन थाल्यो तर धेरै बालीमा फूल फुल्दै फुलेन र कुनै फूल फूलेको बाली पनि भाच्चिन थाल्यो । बालीको यस्तो अवस्था देखेपछि किसानले फेरि भगवानलाई पुकार्‍यो ।

      भगवान पनि उपस्थित हुनुभई किसानको सबै कुरा सुन्नुभयो । किसानको कुरा सुनेपछि भगवानले भन्नुभयो, ‘तिमीलाई मैले बालीलाई आवश्यक हावाहुरी दिनसक्ने शक्ति त प्रदान गरें तर तिमीले बालीलाई अति माया गरेर ढल्ला कि भनेर निक्कै कम मात्रमा हावा दियौ । बालीलाई मजाले हल्लाउन सक्ने हुरी भने दिएनछौं । बाली फूल्न र फल्नको लागि ठूलो हुरीको आवश्यक थियो । ठूलो हुरी आएको भए हुरीबाट बच्नको लागि उसले आफ्ने जरा राम्रोसँग फैलाउंथ्यो र आफूलाई मजबुत बनाउन सक्थ्यो ।

      साथै हुरीले फूलहरुलाई एउटा बोटबाट अर्काेबोटसम्म उडाएर लैजान्थ्यो र जसको कारणले धेरै फल उत्पादन गर्न सक्थ्यो । थोरै हावा मात्र दिएको कारणले धेरै बोटले फल उब्जाउन सकेन र जसले उब्जाउन खोज्यो त्यसको बोट नै कमजोर भएको कारणले भांच्चियो । भगवानको कुरा सुनेर किसानले आफ्नो गल्ती महसुस गरी वरदान फिर्ता माग्यो ।

      किसानको कथाबाट भविष्यमा सफलताको स्वाद चाख्नुछ भने वर्तमानमा पीडा सहनुपर्छ भन्ने शिक्षा पाइन्छ । वास्तवमा धेरै आमाबुबाले आफ्ना बच्चालाई किसानले बालीलाई माया गरेजस्तै गरी पाल्छन् र उनीहरुलाई संघर्षको शिक्षाबाट टाढा नै राख्छन् । विनोद चौधरीले आफ्नो आत्मकथामा छोरा निर्वाण चौधरीलाई ६ वर्षको सानै उमेरमा भारतको देहरादुन स्थित वेलह्याम्स होस्टलमा राखिदिएको प्रसंग उल्लेख गरेका छन् । वास्तवमा एउटा अर्बपति बुबाको यो साहसिक निर्णय थियो ।

      ६ वर्षको निर्वाणले पापा….., मम्मी मलाई तपार्इंसँगै राख्नुस् भनेर चिच्याउँदा एउटा पिताको मनमा माया ममता भएतापनि छोराको भविष्यको लागि उसलाई संघर्ष गरी मजबुत बनाउनको, संसारको वातावरणका लागि, आफूलाई आत्मनिर्भर हुन सिकाउनका लागि, संसारभरका व्यक्तिसँगको सम्पर्क निकट बनाउनका लागि परिवारबाट टाढा राख्ने कठोर निर्णय लिएका थिए । विनोद चौधरीको उक्त कठोर निर्णयको फलस्वरुप निर्वाणले आज चौधरी ग्रुपको प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हाली पिता विनोद चौधरीको व्यवसायलाई उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

      डिजिटलको जमाना आउनुभन्दा पहिला फोटोलाई नेगेटिभ रोलमा कैद गरिन्थ्यो र अँध्यारो कोठामा धुलाएर फोटो निकालिन्थ्यो । जिन्दगी पनि त्यही नेगेटिभ रोलबाट धुलाएर निकाल्ने फोटो जस्तो हो । जसलाई अँध्यारो अर्थात् समस्याबाट पार गर्दै गर्दै अगाडि बढ्नुपर्छ । बच्चाले दुधे दाँत झर्ने बेलामा ठूलो पीडा पाउँछ तर त्यो पीडा सहेपछि केही दिनपछि त्योभन्दा बढी मजबुत दाँत उम्रन थाल्छ ।

      सामान्य मानिस भगवानसँग प्रार्थना गर्दा मेरो जीवनमा केही समस्या नआओस् भनेर माग्छन् भने महान तथा सफल मानिस मलाई समस्यासँग जुध्ने अर्थात् संघर्ष गर्ने साहास दिनुहोस् भनेर माग्छन् । समस्या नआओस् भनेर माग्ने पनि होइन, संघर्ष नगरी भाग्ने पनि होइन । समस्यासँग सामना गरौं । सामना गर्ने सहासका लागि कामना गरौं । संघर्ष गर्न छोडे असफलता प्राप्त गर्छ भने, जति ठूलो संघर्ष गर्न सक्छ, त्यति नै ठूलो सफलता प्राप्त गर्छ । जति ठूलो संघर्ष, त्यति नै ठूलो सफलता ।

      मल्ल ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।


      प्रतिकृया दिनुहोस्