Samadhan National Daily

      रवीन्द्र अधिकारी र ‘समृद्ध नेपाल’

      , ३० कार्तिक:

      – सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि जागरुक युवा नेता रवीन्द्रको कलम निरन्तर चलिरहनेछ, पाठकले उनका विचार पढ्न पाइरहने छन् ।

      २०२६ साल वैशाख २३ गते सोमबारका दिन कास्कीको पोमनपा– ३३, भरतपोखरीमा जन्मेका रवीन्द्र अधिकारी विद्यार्थीदेखि नै वामपन्थी राजनीतिमा लागेका सक्रिय युवा नेता हुन् । उनको माताको नाम लक्ष्मीदेवी र पिताको नाम इन्द्रप्रसाद अधिकारी हो । गाउँकै ब्रह्माज्योति प्राविमा ३ कक्षा पूरा गरी मावि तहको शिक्षा गाउँ नजिकैको शान्तिउदय माविमा पढेर प्रवेशिका उत्तीर्ण गरेका हुन् ।

      त्यसपछि उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक पूरा गरे । उक्त क्याम्पसमा पढ्दा उनी २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति चुनिए । यो क्याम्पसमा नेपालभरिकै ठूलो र धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस हो । त्यसैताका उनले प्रवीण गुरुङको हत्याकाण्डमा तत्कालीन राजपरिवारका एक सदस्य पारसको हात छ भनी उनलाई सो कसुरवापत दण्ड गरियोस् भनी ५० हजार नागरिकको हस्ताक्षर गरी दरबारमा बुझाएपछि उनी विद्यार्थी राजनीतिमा झनै चर्चित बन्न पुगेका थिए ।

      त्यसपछि उनी त्रिवि कीर्तिपुरमा पढ्न गए । त्यहाँ पनि उनी २०५३ सालमा स्ववियुको केन्द्रीय सभापतिमा निर्वाचित भए । त्रिवि कीर्तिपुरबाट उनले व्यवस्थापनमा स्नातकोत्तरसमेत पूरा गरे । साँच्चै भन्नुपर्दा नेपालमा प्रजातन्त्र पुन स्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ उनले माना होइन, पाथी पसिना बगाएका छन् ।

      बेलाबेलामा उनी प्रहरी हिरासत र जेलमा समेत परेका छन् विभिन्न समयमा पत्रपत्रिकामा उनका राजनीति र विकास सम्बन्धी लेखरचना प्रकाशित हुँदै आइरहेका छन् । केही समय अघि उनको संविधानसभा, लोकतन्त्र र पुनर्संरचना नामक पुस्तक प्रकाशित भएको थियो । व्यवस्थापिका संसद् अन्तर्गत विकास समितिका सभापति भइसकेका उनले आफ्नो निर्वाचन क्षेत्र र सिंगो देशका विकास र निर्माणका कार्यहरु सम्पन्न गरेका छन् ।

      अधिकारी संविधानसभाको दुवै निर्वाचनमा साविक कास्की क्षेत्र नम्बर ३ बाट र २०७४ सालमा सम्पन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा उनी कास्की क्षेत्र २ बाट संघीय संसद्मा निर्वाचित भएका छन् । हाल उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा केपी ओलीको वामपन्थी सरकारको नेतृत्वमा बनेको मन्त्री परिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न पुगेका छन् ।

      वर्तमान मन्त्रीपरिषद्मा उनलाई भरपर्दो र आशालाग्दो मन्त्रीका रूपमा हेरिएको छ । मन्त्री भएपछि उनले विमानस्थल सुधार, जहाज खरिद र पर्यटन क्षेत्रमा ल्याएका केही योजनाले उनलाई राम्रो काम गर्ने मन्त्रीका सूचीमा राखिएको छ । प्रस्तुत लेख उनै अधिकारीद्वारा लिखित ‘समृद्ध नेपाल’ नामक कृतिको संक्षिप्त चर्चामा केन्द्रित रहेको छ ।

      फाइनप्रिन्ट बुक्स, काठमाडौंले २०७२ पुसमा प्रकाशन गरेको उनको प्रस्तुत पुस्तकको खण्ड एकमा उनले बाल्यकालदेखि नै आफूमा दीनदुखी र निमुखा जनप्रति सहानुभूतिको भावना जागृत थियो भन्दै विद्यार्थीकालदेखि वामपन्थी राजनीतिमा लागेका कुरा व्यक्त गरेका छन् । आफ्नो शैक्षिक–यात्राको पनि वर्णन गरेका छन् ।

      खासगरी यस खण्डमा भूपरिवेष्टित देशले समुहसम्म जान–आउनका लागि बीचमा रहेको मुलुकबाट बाटो पाउनु पर्ने संयुक्त राष्ट्रसंघको महासन्धिलाई लत्याएर छिमेकी–मुलुक भारतले नेपालप्रति लगाएको नाकाबन्दीको तीब्र बिरोध गर्दै उसको हेपाहा प्रवृत्तिप्रति रोष प्रकट गरेका छन् ।

      यसमा उनले नेपालको संविधान निर्माणमा बुँदागत रूपमै असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाउनु उसको ठूलो भूल हो भनेका छन् । २०७२ सालको महाभूकम्पले देशमा पुर्‍याएको क्षतिप्रति चिन्तित हुँदै उनले आगामी दिनमा जतिसुकै शक्तिशाली भूकम्प आएपनि त्यसबाट सुरक्षित हुनका लागि भौतिक संरचनालाई राज्यले उपयुक्त डिजाइन गरी पुन निर्माण गर्नुपर्छ भनेका छन् ।

      साथै उनले नेपालका लागि उपयुक्त हुने खालको शिक्षा पद्धति लागू गरी जनशक्तिलाई समेत पलायन हुनबाट जोगाउनुपर्नेमा जोड दिएका छन् ।

      खण्ड २ मा उनले हाम्रो देशमा कुशल राजनीतिक नेतृत्व र दूरगामी दृष्टिकोणको अभाव छ, स्रोतका लागि दातामा निर्भर रहनुपर्छ, अत्यन्तै महत्वाकांक्षी लक्ष्य निर्धारण गरिन्छ, योजनैपिच्छे प्राथमिकता फेरिन्छ, कार्यान्वयनका अनुगमन एवम् मूल्यांकन संयन्त्र कमजोर छ । हाम्रो देशमा विकासको नीति असफल भएको छ ।

      तसर्थ उनले हाम्रो देशको विकासका लागि दीर्घकालीन योजना तथा कार्यक्रम लागु गर्नुपर्छ भन्दै विकास गरीब र विपन्न वर्गका लागि हुनुपर्छ भनेका छन् । उनले यसमा देशलाई औद्योगिकरणका लागि पुँजी, प्रविधि, जनशक्ति, कच्चा माल, उत्पादित मालको बजार र उद्योगमैत्री नीति गरी ६ वटा कुराको आवश्यकता पर्छ भनेर आफ्नो धारणा राखेका छन् ।

      तेस्रो खण्डमा उनले नेपाललाई जलस्रोतको धनी देश मानिए तापनि बहुसंख्यक दुर्गम गाउँका मानिसहरूले टुकी युगमा नै बाँच्नु परेको यथार्थता औंल्याएका छन् । यसमा नेपाल कृषिप्रधान देश भए तापनि यस क्षेत्रको स्थिति दयनीय छ भन्दै सरकारले जीवन निर्वाहमुखी कर्मलाई आधुनिक र कृषि व्यवसाय प्रवद्र्धन नीति लागु गर्नुपर्छ भनेका छन् ।

      यसै खण्डमा उनले हाम्रो जस्तो विकासोन्मुख देशका लागि आर्थिक प्रगतिको मूलमार्ग पर्यटनलाई मान्नुपर्छ भन्दै यसका लागि पदयात्रा, जलयात्रा, होमस्टे, प्याराग्लाइडिङ, तलाउ विहार, स्काई ड्राइभिङ, रक क्लाइबिङ, धार्मिक तीर्थस्थल, बन्जी, जम्पिङ, क्यानिङ, साहसिक खेल जिपवायर, जङ्गल सफारी, गुफाको यात्रा, जंगली जनावर, गाउँका उत्पादन स्थानीय आतिथ्य सत्कार जस्ता विविध पक्षको विकास गर्नुपर्छ भनेका छन् ।

      त्यसैगरी यस खण्डमा आजको युग सूचना प्रविधिको वैज्ञानिक युग हो भन्दै आम जनतालाई सुविधायुक्त राजमार्ग, निरन्तर बिजुली, सबै ठाउँमा पुग्न सक्ने स्थलमार्ग, पाँचसय मिटरदेखि दुई किलोमिटरसम्म प्रावि, स्वस्थ्य चौकी, बढीमा साढेसात किमी भित्र एक मावि र सुविधासहितको अस्पताल, घरघरमा टेलिफोन र सुलभ रूपमा उपलब्ध इन्टरनेट सेवा प्रदान गर्न सकियो भने मात्र समृद्ध नेपालको सपना साकार हुन्छ भन्नेमा जोड दिएका छन् ।

      साथै यस खण्डमा उनले देश विकासका लागि आवश्यक ठाउँमा फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने, उपलब्ध प्राकृतिक स्रोत र साधनको उच्चतम उपयोग गरी समग्र सामाजिक आर्थिक रूपान्तरणसँगै स्वावलम्बी अर्थतन्त्र निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि उद्यमशीलताको विकास गर्नुपर्छ भनेका छन् ।

      चौथो वा अन्तिम खण्डमा उनले नेपाल र भारतको सम्बन्ध दुवै देशको पारस्पारिक लाभ र समृद्धिलाई नै केन्द्रबिन्दु बनाएर अगाडि बढ्न सक्नुपर्छ भन्दै एकआपसमा सुमधुर सम्बन्ध सधैं कायम रहनुपर्नेमा जोड दिएका छन् । यस खण्डमा उनले दक्षिण कोरिया संसारैमा सबैभन्दा धेरै इलेक्ट्रोनिक्स र औद्योगिक सामान निर्यात गर्ने मुलुक रहेछ भन्दै आफ्नो अध्ययन भ्रमणबाट आर्थिक र समृद्धिका लागि उक्त देशको अनुभव ग्रहण गर्नुपर्ने भावना व्यक्त गरेका छन् ।

      यसै खण्डको अर्को लेखमा कम्युनिस्ट व्यवस्थामा देशको विकास सम्भव छ भन्दै हामी नेपालमा खुला र बहुलवादी समाजभित्रैबाट समाजवादतिर उन्मुख हुन सक्छौं भनेका छन् । उनले हरेक क्रान्ति एवं परिवर्तनका संवाहक नेपाली युवाहरूको इतिहास गौरवमय छ, उनीहरू देश विकासका ऊर्जा हुन्, जसको अदम्य आँट र साहस देश विकासमा राम्ररी प्रयोग गर्न सक्नुपर्छ भन्दै खण्डको अन्तिम लेखमा उनले देश विकास गर्न र गरिबी हटाउन सुगमका केही स्थानको विकास माथि विकास गरेर होइन दूरदराजका गाउँ ठाउँको विकासका साथै त्यहाँ अज्ञानता एवं अशिक्षामा रुमलिएका मानिसको मष्तिस्कमा ज्ञानको दियो बाल्नुपर्छ भनेका छन् ।

      यसरी १ सय ६० पृष्ठको समृद्ध नेपाल नामक कृतिलाई हेर्दा लेखक अधिकारी एक सामान्य मानिस भएकाले उनमा गुणैगुण मात्र छैनन् । उनमा केही अवगुण पनि छन् । तर, ती अवगुणलाई हटाउने प्रयत्नमा उनी सक्रिय देखिन्छन् । गुण र दोषलाई यस्तो र उस्तो भन्नुभन्दा पनि उनी आफैंले आफ्ना कमजोरीलाई आत्मसात् गरेर अगाडि बढ्ने पर्यत्न गरेकाले आगामी दिनमा उनको लेखनमा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

      अन्त्यमा प्रस्तुत पुस्तकका बारेमा मन्तव्य लेख्ने विद्वान् पीताम्बर शर्माको कुरालाई समर्थन जनाउँदै भन्न सकिन्छ– रवीन्द्र अधिकारीमा विकासप्रतिको व्यग्रता बढी छ र उनी आर्थिक पक्षधारका पक्षपाती देखिन्छन् । साथै राजनीतिक विश्लेषक झलक सुवेदीको शब्द सापटी लिने हो, भने रवीन्द्र अधिकारी, समृद्ध नेपालको सपना देख्नेहरूमा एक आशालाग्दो युवा नेता छन् ।

      मलाई विश्वास छ– सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि जागरुक युवा नेता रवीन्द्र अधिकारीको कलम निरन्तर चलिरहनेछ, पाठकले उनका विचार पढ्न पाइरहनेछन् ।

      मेरो शुभकामना !!


      प्रतिकृया दिनुहोस्