दार्शनिक चेतका कवि
डा. शुक्रराज अधिकारी
‘निचोरी निर्धाका रगत पसिना घुस बटुली
ठूलो पूजासामा सहित लिई बोकाहरु बलि
कुनै पूजा गर्थे जननी ! खुसी होऊ भनिकन
म रुन्थे त्यो देखी मनुज–मतिको उग्र पतन ।’
नव्यकाव्य तरुण तपसी भित्र पंक्तिबद्ध उल्लेखित श्लोकबाट अनुमान गर्न सकिन्छ कि कविशिरोमणि लेखनाथ पौडेलको काव्य सिर्जनामा दार्शनिक चेत कति थियो भनेर । समाजशास्त्री कार्लमाक्स, कार्ल मेनहिम लगायत समाजशास्त्रीहरुले हरेक मानवीय चेत तथा ज्ञान हरेक मानिस हुर्के बढेको एवं उसले व्यहोरेका समाजको उत्पादन हो भन्ने गरेका छन् । समाजशास्त्रीहरुको यो अभिव्यक्तिलाई अझ गहिरोमा रुपमा केलाँउदा मानवीय चेतना सम्बन्धित समाजको ऐतिहासिक सन्दर्भले निर्माण गर्दछ । उसले बाँचेको ऐतिहासिक जग र त्यस जगमा खडा भएका सामाजिक उत्पादन पद्धति, अर्थतन्त्र, नेतृत्व, सामाजिक सम्बन्ध आदिले त्यस समाजभित्र मानवीय ज्ञानको शृंखला निर्माण गर्दै लैजान्छ । हरेक मानवीय चेतना एवं ज्ञान सम्बन्धी सामाजिक सांस्कृतिक संरचनाले उत्पादन गर्छ भन्ने बुझ्न सकिन्छ । यहाँ उल्लेखित समाजशास्त्रीय सन्दर्भ जोड्न खोज्नुको अर्थ, लेखनाथकृत उल्लेखित पंक्तिहरुले लेखनाथकालको समाज–व्यवस्था एवं सामाजिक संरचनाको परावर्तनीय बिम्व प्रस्तुत गरेका छन् भन्ने हो ।
वर्तमानमा नेपाली समाजको आमूल परिवर्तनको नारा फलाक्ने राजनीतिक दल एवं ती दलका नेता गणहरुले राजतन्त्रको अत्याचारका कुराबारे बोल्ने हिम्मत गर्न डराउँदै गरेको देखे–भागेका हामी नेपालीका सामु भीम शमशेरको पाला दरबारको पुजारी सरह भएर जीवन व्यतित गरिरहेको त्यस कठिन ऐतिहासिक परिवेशमा लेखनाथले कवितामार्फत बोलेका पद्यांशले लेखनाथ एक क्रान्तिकारी सामाजिक अभियन्ता थिए भन्ने बुझाउँछ ।
त्यस बेला अर्थात विक्रमाब्दको १९ औं शताब्दीको को उत्तराद्र्धमा नेपाली राणशाही वर्गले लादेको क्रुर नेतृत्वले नेपाली समाज व्यवस्था कति शोषणका थियो भन्ने जनाउँछ । त्यही ऐतिहासिक परिवेशले नै लेखनाथमा त्यो विद्रोही ज्ञान चेतना निर्माण गर्न सघाउ पुर्याएको देखिन्छ ।
त्यस ऐतिहासिक कालखण्डमा नै क्रान्तिकारी चेत भएका लेखनाथको जन्म पिता दुर्गादत्त र माता वसुन्धराको कोखबाट विसं १९४१ साल पुस १५ गते ज्येष्ठ सुपुत्रको रूपमा कास्की जिल्लाको अर्घौंअर्चले मा भएको थियो । कविशिरोमणिको जन्मस्थल आफैमा प्राकृतिक छटाले युक्त थियो । उत्तर तर्फको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृखलाको काखमा हरियाली जगंलयुक्त डाँडा, दक्षिणतर्फ सफेद सेती नदीको प्रवाह एवं खास्टे, मैदी, दीपाङ, गुँदे, रुपा र बेगनासताल लगायतका मनमोहक दृश्यले भरिभराउ थियो । त्यही रमणीय वातावरणमा रमाउँदै लेखनाथको बाल्यकाल हुर्कंदै गएको थियो ।
हिन्दु सांस्कारिक परम्परा अनुसार ५ वर्षको उमेरमा अक्षारम्भ गरेका लेखनाथले त्यही बेलादेखि नै गणेशस्तोत्र, अमरकोश, दुर्गा सप्तशती लगायतका शास्त्रहरुका संस्कृतका श्लोकहरु पढ्न थाल्नु भएको थियो । कवि शिरोमणिको पालामा घरगाउँमा नै बसेर औपचारिक शिक्षा लिने विद्यालयहरु थिएनन् । प्रारम्भिक तहको औपचारिक शिक्षा लिनका पनि काठमाडौंनै र उच्च शिक्षा हसिल गर्न त नेपाल बाहिर वनारस, कलकत्ता लगायतका ठाउँहरुमा पुग्नुपर्ने हुन्थ्यो । प्रारम्भिक तहको औपचारिक शिक्षा तीनधारा पाठशाला, काठमाडाैंबाट प्राप्त गर्नुभएका कवि शिरोमणि उच्च शिक्षाको लागि भारतको वनारस पुग्नु भएको थियो । वनारसबाट मध्यमा तहको उच्च शिक्षा पूरा गर्नुभएका कवि शिरोमणिको बौद्धिक ब्यक्तित्व एवं संस्कृत भाषाको विशिष्टता भने औपचारिक डिग्रीको तुलनामा निकै उच्च रुपको थियो ।
५ वर्षको उमेरदेखि नै पढ्न थालेका लेखनाथलाई ९ वर्षको उमेरदेखि कविता लेख्ने प्रेरणा मिलेको थियो । त्यति कलिलो उमेरमा लेखनाथलाई कवि बन्ने विद्रोही चेत भने अर्चलेकै पितृप्रसादसँगको इखबाट प्राप्त भएको थियो । पितृप्रसादका अतिरिक्त काठमाडौं तीनधारा पाठशालामा बसेर शिक्षा आर्जन गर्ने क्रममा १ दिन छात्रावासको १ कोठामा गोर्खाका अग्निधरले रघुवंशको अर्थ लगाइरहेको बेला लेखनाथ त्यहाँ पुगेर सोध्दा उनले किताब बन्द गरेका र अर्थ सुन्ने इच्छा गरी उनलाई फेरि भन्न अनुरोध गर्दा लेखनाथको अनुरोधलाई उपेक्षा गरी टारिदिएका हुनाले उनलाई साहित्यमा लागेर ठूलो मान्छे बन्छु भन्ने दोस्रो प्रेरणा मिलेको थियो ।
लेखनाथका प्रेरणाका अर्का स्रोत शिवकुमार पनि थिए । शिवकुमारले छात्रावासमा समस्या पूर्ति गर्न दिन्थे । तर, समस्यापूर्ति गर्न लेखनाथलाई स्तर पुगेको छैन भन्दै सहभागी हुनबाट वञ्चित गर्दथे । स्तर नपुगेको भनेर आफूलाई नदिए पनि अरूको समस्या लिएर पूर्ति गरी पण्डितहरूलाई देखाउँदा ज्यादै राम्रो छ भन्दै प्रशंसा गर्दथे । त्यही प्रशंसाले प्रेरित भएर उहाँले संस्कृतमा श्लोक लेखी बनारसबाट निस्कने सूक्तिसुधामा छपाउने समेत गर्नुहुन्थ्यो ।
लेखनाथले नेपाली भाषामा लेखेको पहिलो कृति ‘वर्षा विचार’ थियो । वर्षा विचार लेख्ने प्रेरणा पनि उहाँले एकखालको इखमूलक कार्यबाट प्राप्त गर्नु भएको थियो । बनारसबाट फर्किएपछि १ दिन भोटाहिटीमा रहेको टिडिएच एन्ड पुस्तक पसलमा पाको उमेरका विद्वानहरुले फारसी र संस्कृत भाषाका उच्च ग्रन्थहरु नेपाली भाषामा निस्कन सक्दैन भनेर गफ गरिरहेका र सबै जसोले त्यसैमा हो–हो मिलाएर उहाँलाई एक्लो बनाएपछि उनीहरुलाई जवाफ दिने र नेपाली भाषालाई साहित्यको रुप दिने अठोट गर्दै उहाँले वर्षा विचार लेखेको सन्दर्भ पाइन्छ ।
सूक्तिसुधा, सुन्दरी र ‘माधवी’ लगायतका साहित्यिक पत्रिकाबाट कवि शिरोमणिको कवितायात्रा सुरु भएको थियो । संस्कृतका श्लोक भने समस्यापूर्तिको क्रममानै ‘सूक्तिसुधा’मा छापिइ सकेका थिए भने नेपाली भाषामा लेखिएका कविता ‘शृंगार पच्चिसी’ र ‘मानसाकर्षिणी’ शीर्षकमा ‘कविता कल्पद्रुम’ मा विसं १९६१–६२ तिर प्रकाशित भएका थिए । विसं १९६९ मा ५ ओटा कविता लालित्य नामक कवि शिरोमणिको र चक्रपाणि चालिसेका कविता सहितको संयुक्त कविता सँगालोमा प्रकाशित भएका थिए । कविशिरोमणिले चक्रपाणि चालिसेसँग मिलेर ‘शिशुबोधिनी’ नामक बाल साहित्यको पाठ्यपुस्तकको पनि निर्माण गर्नुभएको थियो । कविशिरोमणिको पहिलो सिंगो कृतिका रूपमा विसं १९७० मा शोकप्रवाह प्रकाशित भएको थियो भनिन्छ तर उक्त कृति वर्तमानमा उपलब्ध छैन ।
१९७३ सालमा सिंगो पुस्तक ऋतुविचार प्रकाशित भएको थियो । वि.सं. १९७५ सालमा प्रकाशित चक्रपाणि चालिसेले लेखेको नेपाली संक्षिप्त भारतभित्र ‘गीतासार’ कविशिरोमणिले लेख्नुभएको थियो । ‘गीतासार’ २०६१ सालमा छुट्टै पुस्तकका रूपमा पनि प्रकाशित भएको छ । १९७६ सालमा उहाँको अर्को सिंगो पुस्तक ‘सत्यकलि संवाद’ प्रकाशित भएको थियो ।
त्यतिबेलाको निरकुंश जहानिया राणाशासनको राजनीतिक दमनले गर्दा कृतिहरु छाप्न छपाउन निकै कठिन थियो । ‘सत्यकलि संवाद’ मा राजनीतिक प्रसंगहरू आएकाले राजद्रोही भनेर २–३ पटक पोल हालिएको र थुन्न खोजिएको थियो तर चन्द्रशमशेरले निर्दोष ठहर्याएका कारण थुनिनु परेको थिएन भन्ने प्रसंग पनि पाइन्छ । १९९४ सालमा ‘लक्ष्मीपूजा’ नाटक, २००४ सालमा ‘पञ्चतन्त्र’का मित्रभेदको अनुवाद, १९९४ सालमा नैे सप्त प्रश्नात्मक बुद्धिविनोदको पहिलो विनोद, २००८ सालमा अमर ज्योतिको सत्यस्मृति प्रकाशित भएका थिए । २०१० सालमा कविता सँगालो ‘लालित्य’ प्रथम भाग र विशिष्ट काव्य ‘तरुणतपसी’ प्रकाशित भएको थियो । ‘मेरोराम’ ‘रामयण सार’ २०११ सालमा प्रकाशित भयो भने कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ नाटकको अनुवाद २०१५ सालमा प्रकाशित भएको थियो । २०२० सालमा ‘भर्तृहरिनिर्वेद’ नामक संस्कृत नाटक र २०२५ सालमा ‘लालित्य’ भाग २ प्रकाशित भएको थियो ।
त्यसैगरी २०६१ सालमा ‘गंगा गौरी’ अपूर्ण (चक्रपाणि चालिसेको ‘नेपाली संक्षिप्त भारत भित्र’ रहेको गीतासार र ‘कविता’ पत्रिकामा छापिएका १ देखि ५ सर्गसम्मको ) महाकाव्य प्रकाशित भएको छ । माथि उल्लेख गरिएका प्रमुख कृति बाहेक १९८६ मा गीताञ्जलि, २००२ मा त्याग र तपस्याको युगल प्रकाश नामक काव्य कृतिहरू पनि प्रकाशित भएका भनिए पनि हाल भेटिदैनन् ।
उनका काव्यहरुले नेपाली साहित्यको माध्यमिक काल र आधुनिक काललाई छोड्दै आधुनिक कालको बज्रपात गराएका छन् । उनका रचनाहरु आधुनिक जीवन जगतको मूल्यांकन शोषणप्रतिको विद्रोह, विश्व बन्धुत्वको परिचय एवं मानवतावादी सिद्धान्तले चुलिएका छन् । उनका काव्यबारे जति लेख्दा पनि अपूरै हुन्छ । जीवनको उत्तराद्र्धमा आफूलाई मनपर्ने कृति जमाउन नसकेको असन्तोष भाव व्यक्त गर्ने लेखनाथले तरुण तपसीलाई अन्य सिर्जनाभन्दा बढी मन पराएको भाव व्यक्त गरेको पाइन्छ ।
८१ वर्षको जीवन व्यतित गरेका लेखनाथमा राष्ट्रियताप्रति अगाध माया भेटिन्छ । २०२२ सालमा बनारस जाँदा बिरामी परेपछि मर्ने बेला विदेश जान्न, म आफ्नै देशमा मर्छु, नेपालकै माटोमा मर्छु’ भनी फर्किएर देवघाट आइबसेको सन्दर्भ पाइन्छ । त्यही वर्ष २०२२ साल फागुन ७ गतेका दिन उनको देहावसान भएको थियो ।
पौडेलले आफ्नो जन्मभूमि अर्चलेप्रति चासो नराखेको, जीवनमा वैराग्य पालेर गेरुवस्त्रमा हिँडेको प्रसंगहरु पनि चर्चामा पाइन्छन् । हरेक व्यक्तिका नदेखिने पाटाहरु हुन्छन् । त्यो पाटो उनमा पनि थियो होला । जे होस् त्यस कठिन परिवेशमा पनि उनी जीवन पर्यन्त नेपाली साहित्यको सेवामा साधनारत रहे । त्यही साधानाको कदर गर्दै तत्कालीन सरकारले २००८ सालमा कविशिरोमणिको उपाधि प्रदान गर्यो । २०११ सालमा उनको रथयात्रा समेत गरिएको थियो ।
२०५३ सालमा नेपाल सरकारले थप नगरपालिकाहरु निर्माण गर्ने क्रममा लेखनाथको जन्मस्थल रहेको ठाउँलाई समेट्दै लेखनाथ नगरपालिकाको गठन ग¥यो । यो नेपालका साहित्यिक विभूतिहरुको नामबाट नामकरण भएको पहिलो नगरपालिका थियो । अहिले उक्त नगरपालिका पोखरामा गाभिएर महानगर बनेको छ । कविको जन्मस्थल अघौं अर्चलेलाई साहित्यिक पर्यटनस्थलको रुपमा विकास गर्न, लेखनाथका कृतिहरुको चर्चा एवं नेपाली साहित्य तथा संस्कृतिका अध्येतालाई सम्मान गर्ने हेतुले २०५५ साल भदौ २७ गतेका दिन यसै पंतिकार, रविलाल अधिकारी, शालिग्राम पौडेल, कृष्ण बास्तोला, पदमराज ढकाल, मदन भण्डारी, विश्व शाक्य लगायतका साहित्यकको अगुवाइमा लेखनाथ साहित्य प्रतिष्ठान नेपालको स्थापना गरिएको थियो ।
त्यसैको पहलमा जन्मस्थललाई साहित्यिक पर्यटनस्थलको रुपमा स्थापित गराउने पहल सुरु भयो । फलस्वरुप १९ वर्षको यात्रामा त्यहाँ पुग्ने बाटोको आधुनिकीकरण, लेखनाथ संग्रालय स्थापना जस्ता कार्य हुँदै आएका छन् । अबका दिनमा यसलाई साहित्यक धाम बनाउन पोखरा लेखनाथ महानगरले अबस्यनै आफ्नो दायित्व सम्झने छ ।
सन् २०६४ सालमा लेखनाथ साहित्य पुरस्कार स्थापना गर्ने पहल सुरु गरियो । त्यसका बारेमा लेखनाथकी कान्छी छोरी कुन्तीदेवी भट्टाराईको परिवार (कुन्तीदेवी आफैं कवियत्री पनि हुन) विशेष गरी कुन्तीदेवीकी माइली छोरी डा. प्रतिभा पाण्डेसँग यस पंक्तिकारले गरेको प्रस्ताव बमोजिम २०६६ सालमा लेखनाथ साहित्य पुरस्कार अक्षयकोशको स्थापना गरी २०६७ देखि हरेक लेखनाथ जयन्तीमा लेखनाथ साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ । उक्त अक्षयकोश स्थापना गर्न कुन्तीदेवीका छोराहरु– विजयनाथ भट्टाराई, प्रकाशनाथ भट्टाराई, विनयनाथ भट्टाराई, छोरीहरु डा. प्रतिभा पाण्डे, सुधा खकुरेल, शशि पौडेलको विशेष योगदान छ । त्यस सँगै कुन्तीदेवी शिक्षा पुरस्कारका लागि पनि अक्षयकोश थप गरी लेखनाथ नपाका सामुदायिक विद्यालयमध्येबाट प्रवेशिकामा प्रथम छात्रालाई कुन्तीदेवी शिक्षा पुरस्कार प्रदान गरिँदै आएको छ ।
लेखनाथ साहित्य पुरस्कारबाट पहिलो पटक २०६७ सालमा कवि शिरोमणिको रथयात्राको आयोजना गर्ने संस्था नेपाली शिक्षा परिषद् सम्मानित भएको छ भने दोस्रो वर्ष २०६८ मा लेखनाथ साहित्य पुरस्कारबाट लेखनाथका बारेमा अनुसन्धान गर्ने विद्वान प्रा.डा वासुदेव त्रिपाठी सम्मानित भएका छन् । त्यसै गरी तेस्रोपटक पूर्वीय वाङ्मयका साधक मदनमणि दीक्षित सम्मानित भए भने चौथोपटक जनकवि केशरी धर्मराज थापा र पाँचौंपटक पूर्वीय वाङ्मय साधक मोदनाथ प्रश्रित र छैटौ पटक कवि मुकुन्दशरण उपाध्याय र सातौ पटक भाषविद वालाकृष्ण पोखरेल र सस्कृतिविद जगमान गुरुङ सम्मानित भइसकेका छन् ।
यसै पंक्तिकारको संयोजकत्वमा गठित प्राडा रविलाल अधिकारी, डा. प्रतिभा पान्डे, रमा शर्मा र कृष्ण प्रसाद पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिले शिफारिस गरे अनुसार २०७५ सालको लेखनाथ साहित्य पुरस्कारबाट बरिष्ठ साहित्यकार तथा भाषाविद वसन्त कुमार शम्र्मा सम्मानित हुँदै हुनुहुन्छ । आज पुस १५ गते १३५ औं लेखनाथ जयन्तीको अवसरमा लेखनाथको जन्मस्थल अर्चलेमा विविध साहित्यिक कार्यक्रम बीच ५० हजार राशि र ताम्रपत्र सहित लेखनाथ पुरस्कार वितरण गरिँदै छ । अहिले लेखनाथ साहित्य तथा कुन्तीदेवी शिक्षा पुरस्कार अक्षयकोशको रकम १० लाख पुगेको छ । पदमराज ढकालको एकल साँझबाट बचत केही रकमहरु पनि त्यसमा थप भएको छ । त्यस कोशलाई वृद्धि गर्नु हामी सबैको कर्तव्य हुने भएकाले सबैमा यस पंक्तिकार विशेष अनुरोध गर्दछ । त्यस कोशबाट प्राप्त हुने ब्याजबाट ५० हजार रुपैयाँको लेखनाथ साहित्य पुरस्कार र १० हजार रुपैयाँको कुन्तीदेवी शिक्षा पुरस्कार वितरण हुँदै आएको छ ।
लेखेर नै लेखनाथ नाम चरितार्थ पारेका कविको जन्म जयन्तीमा सहभागी बनौं, उनको मानवतावादी आदर्शको अनुुसरण गरौं । उनको नामबाट भौतिक विकासको अभियान चलाऊँ । साहित्यिक साधकहरुलाई प्रेरित गरौं । यही नै लेखनाथ जन्मजयन्ती मनाउन सार्थकता हुने छ । कविशिरोमणि प्रति हार्दिक श्रद्धासुमन ।
(अधिकारी लेखनाथ साहित्य प्रतिष्ठानका सस्थापक सचिव, निर्वतमान अध्यक्ष एवं लेखनाथ साहित्य पुरस्कार अक्षयकोश सञ्चालक समितिका अध्यक्ष हुन् )
तपाईको प्रतिक्रिया