ल्होछार कि ल्होसार ?

समाधान संवाददाता २०७५ पुष १८ गते १२:४८

– प्रकृति र ज्योतिष विज्ञानलाई आधार मानि भन्नुपर्दा ल्होछार भन्नुको कुनै अर्थ देखिँदैन, अभ्यासले पनि त्यसरी चिनिँदैनन् । ल्होसारको अर्थ ल्हो त्वूपा र ल्हो स्यारपाबाट प्रष्ट हुन्ने स्वीकार गर्नुपर्छ ।
पोलबहादुर गुरुङ

नेपाली पात्रो अनुसार पुस १५ गुरुङ समुदायका लागि सबैभन्दा महत्वपूर्ण पर्व हो । नेपाली भाषाको प्रभावले गर्दा यस दिनलाई गाउँघरमा गुरुङले पुस–पन्ध्र भनेर नै बुझ्छन् । खासगरी मंगोलियन मूलका समुदायको वर्षमा एक पटक आफ्नो छुट्टै पहिचानयुक्त पर्व वा समय आउट जसले वर्षभरिको शुभ–अशुभ देखाइरहन्छन् । नेपालमा गुरुङ, तामाङ, शेर्पा, भोटे, थकाली आदि मूलका समुदायले यसै पर्वको अभ्यास गराउँछन्, यसलाई उनीहरु ल्होसार भनी चिन्छन्, सम्बोधन गर्छन् । यो पर्व प्रकृतिसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्धित रहन्छ । विभिन्न लेख, भनाई र व्यावहारिक अभ्यास अनुसार ल्होसारलाई आ–आफ्नो तरिकाले बुझाउने गर्छन् । जस्तै सोनाम, ग्याल्पो, तोला आदि । गुरुङले परापूर्वकालदेखि मान्दै आएको पर्व पुस–पन्ध्र हो, आजभोलि यसलाई ल्होसार– ल्होछार भनी विभिन्न संघसंस्था र गुरुङ विशेषज्ञसम्म वादविवाद छ । गुरुङ ज्योतिषशास्त्र अनुसार च्यूँ ( मुसा ), ल्वोँ ( गाई ), तो ( बाघ ), ह्युई ( विरालो ), प्ह्रु ( गिद्ध ), प्ह्री ( सर्प ), त ( घोडा), ल्हु ( भेडा ), प्र ( बाँदर ), च्ह्य ( चरा ), खि ( कुकुर ), फो ( मृग ) गरी विभिन्न पशुपन्छीलाई प्रतीक बनाएर १२ वटा ल्हो मान्छन् । यी १२ वटा ल्होलाई चक्रियरुपमा राखेर ल्होक्वुर बनेको हुन्छ । यहाँ ल्हो भन्नाले वर्ग र क्वुर भन्नाले गोलाकार वा चक्राकार भन्ने हुन्छ । किनभने यी ल्होहरु एकपछि अर्र्को हुँदै क्रमश १२ वटा वर्गपछि पुन त्यही ल्हो १ वर्षभरिका लागि आइरहन्छन् ।
गुरुङ ज्योतिषशास्त्रमा ल्होको ज्यादै महत्वपूर्ण भूमिका रहन्छ । शुभ–अशुभ भविष्यफलका लागि । जस्तो कुनै मान्छे बिरामी परेमा, उसको ल्हो गणना गरेर राम्रो–नराम्रो वा शुभ–अशुभ छुट्याइन्छ । यस विधिलाई गुरुङ ज्योतिषशास्त्रमा ल्हो स्यु थुपा भनिन्छ । यसैगरी घर बनाउने, चुडा गर्ने, नयाँ वस्त्र लगाउने, विवाह गर्ने आदि थुप्रै कामहरुमा ल्हो कै माध्यमबाट दिनबार छुट्याइन्छ । प्रत्येक पुस १५ गते ल्हो फेरिरहने यसै ल्होलाई ‘ल्हो सार’–‘ल्हो छार’ भनी आ–आफ्नै तरिकाले तर्क र व्याख्या गरेका भए पनि गुरुङ ज्योतिषशास्त्रमा भने ‘ल्हो त्वुपा’ (वर्ग फर्किने) र ‘ल्हो स्यारपा’ (वर्ग भोगचलन) भनिन्छ ।
ल्होछार
ल्हो भनेको नेपालीमा वर्ग भनी बुझिन्छ । छार भनेको शुद्ध गुरुङ भाषा हो भने यसको नेपाली अर्थ नयाँ भन्ने हुन्छ । प्रत्येक पुस १५ गते त्यस वर्षभरि भोगचलन गरिरहेको वर्ग सकिएर पुस १५ बाट अर्को पुस १४ गतेसम्मलाई वा १ वर्ष भरिलाई अर्को ल्हो आउँछ यसलाई गुरुङले ल्होछार (नयाँ वर्ग) भनी चिनिने गरेका छन् । छार शब्दले नयाँ भन्ने अर्थ लगाउँछ जुन एकपटक छार हुन्छ प्रयोग गरिसकेपछि पुराना हुँदै जान्छ, जस्तै धिँ–छार (घर नयाँ), क्वए–छार (कपडा नयाँ) क्याँ÷घ्या छार (बाटो नयाँ) । यस अर्थमा छार भन्नाले सधै नयाँ भइरहने, रहिरहने भन्ने बुझिन्छ । गएको पुस १५ देखि यही पुस १४ सम्म खि–ल्हो स्यारपा अथवा कुकुर वर्गले भोग चलन गरेको हो । अब पुस १५ देखि फो–ल्हो (मृग वर्ग) अर्को पुस १४ सम्मलाई आउँदैछ र गएको खि–ल्हो अबको १२ वर्गपछि अर्थात् एक ल्हो–क्वुर पूरा भएपछि आउँछ । त्यसैले अबको १२ वर्गपछि आउने खि ल्होछार हो या होइन भन्ने बुझ्न सकिन्छ ।
ल्हो–त्वूपा
गुरुङ भाषाको त्वूपाको नेपाली अर्थ फर्कनु हुन्छ, जस्तै ल्हो–त्वूपा (वर्ग फर्किनु) र त्वूपा (बाख्रा फर्किनु), सर्क–त्वूपा (हिँउद फर्किनु), प्हर्ख–त्वूपा (वर्षा फर्किनु) आदि । यीपा र तापा पनि फर्किनु भए पनि ल्हो सम्बन्धी यो भाषा प्रयोग हुँदैन । ल्हो–त्वूपा गुरुङ ज्योतिषशास्त्रको प्रचलित भाषा हो, यो भाषा र यसको व्यवहार गाउँघरमा सबै गुरुङले सजिलै बुझ्छन्, प्रयोग गर्छन् । १२ वटा ल्होहरु पालैपालो एकपछि अर्को देखापर्छन्, हराउँछन्, देखापर्छन् । हराउनु भनेको आफ्नो पछिकालाई पालो दिनु हो भने देखापर्नु भनेको आफ्नो पालो वा समय भोग गर्नु हो । यसैले यसलाई छार (नयाँ), स्युका (पुरानो) भनी गुरुङ ज्योतिषशास्त्रमा भनेको छैन । १२ वटा ल्होहरु पालैपालो आफ्नो समयमा सक्रिय भएर आउने वा फर्किने भएकाले यसलाई गुरुङ ज्योतिषशास्त्रमा ल्हो–त्वूपा भनेको हो ।
ल्हो–स्यारपा
गुरुङ भाषाको स्यारपाको नेपाली अर्थ क्रमैसँग पंक्तिवद्ध भन्ने हुन्छ । जस्तो क्याँर/घ्याँर म्ही स्यारपा (बाटोमा मान्छेको पंक्ति/एकपछि अर्को लर्को), रमै क्यूमै स्यारपा (बाख्रा भेडाको लर्को) आदि । स्यारपाको ज्योतिषी अर्थमा भोग गर्नु, समयावधि लिनु, आफ्नो पालोमा सक्रिय हुनु भन्ने हुन्छ । जुन वर्गले त्यस वर्षको समयावधि लिएको छ, त्यो त्यस वर्ष भरिका लागि ल्हो–स्यारपा हुन्छ । जस्तै गएको पुस १४ सम्म खी–ल्हो (कुकुर वर्ग) समय वा पालो थियो भने त्यस वर्ष भरिलाई खी–ल्हो स्यारपा भनिन्छ । यसैगरी यहि पुस १५ बाट अर्को पुस १४ गतेसम्मलाई फो–ल्हो (मृग वर्ग) छ, त्यसैले यसलाई फो–लहो स्यारपा भनिन्छ । ल्हो–त्वूपा भनेको वर्ग फर्किने भने जस्तै– ल्हो स्यारपा भनेको त्यो त्वूपा–ल्हो (फर्केको वर्ग) ले १ वर्षभरिलाई आफ्नो सक्रियता देखाउने हो । जस्तै– फो–ल्हो स्यारपा सप्ह्री सिङ्हैमु, ह्युइल्हो ल्हुल्हो थिसो ङ्हैमु सप्ह्री सिक्मो प्रल्हो सोक्यो मुप्ह्री छिके खि ल्हो रोक्यो । अथवा यस पटकको पुस १५ देखि फो–ल्हो स्यारपा भएको हुनाले सप्ह्री (सर्प), ह्युइ (बिरालो), ल्हु (भेडा) आदि वर्गहरु त्यति शुभ छैन । प्र–ल्हो (बाँदर वर्ग) सोक्याँ भन्नाले चुडा गर्दा, घरको जग बसाल्दा आदि कामको सुरुआत प्रल्हो (बाँदर वर्ग) ले गर्दा शुभ हुन्छ । मुप्ह्री (गिद्ध), खी (कुकुर) वर्गकाहरु सामान्य छन् भन्ने अर्थ लगाउँछन् ।
ल्होसार
गुरुङ भाषाको सारको नेपाली अर्थ फुल्ने भनेको हो । जस्तो नना सार (तोरीको फूल), लकै सार (काँक्रोको फूल), च्यारपु सार (पैयूको फूल) आदि । तर, फूलमात्र फूल्ने विरुवाको फूललाई प्हारपा भनिन्छ । जस्तो– ट प्हारपा (फूल फूलेको), म्हुर ट प्हारपा (सयपत्री फूल फूलेको), च्याेंरी ट प्हारपा (पातीले फूल फूलेको), पोरी ट प्हारपा (लालीगुराँस फूल फूलेको) माथिका यी २ वटा फूल फूल्ने तरिकाले २ वटै अर्थ लगाउँछन् । फल दिने र फलसँगै फूल फूल्नेलाई सारपा (फूलेको) फल नदिने तर फूलमात्र फूल्नेलाई प्हारपा (फूलेको) । यी २ वटा कुरा मध्ये प्हारपालाई छोडेर (किनभने ल्हो प्हार भन्दैनन्) सार वा सारपाको मात्र कुरा हुन्छ ।
गुरुङ समाजमा विवाद हुने, झन्–झन् समस्यातिर गइरहने र समाधान गर्नलाई निकै मुस्किल देखिने विवादित विषयहरु भनेका गुरुङबीचको स्तरीकरण, गुरुङबीचको धार्मिक विश्वास, गुरुङबीचको पुरोहित्याई र कर्मकाण्डीय स्वरुपहरु हुन् । पछिल्लोपटक त्यस्तै विवादित विषय बनेर आएको मुद्ध भनेको ल्होछार र ल्होसारबीचको शाब्दिक भाषा र अर्थमा हो नकि मान्ने शैलीमा । छार भनेको नयाँ हो, यसको कुनै अर्को मत छैन तर १२÷१२ वर्षमा फर्किरहने ल्हो–छार वा अर्को रुप लिएर आउँछन् या उही ल्हो उही रुप लिएर आउँछन् भन्ने विषयले प्रधानता पाउनुपर्छ । त्यसैले एकपटक प्रयोग भइसकेको वस्तु अर्को पटक नयाँ वा छार भएर आउँदैन । त्यसैगरी गुरुङको ज्योतिषशास्त्रमा ‘स्यारपा’ भन्ने शब्दले आफ्नो समयावधि भोग गर्ने भन्ने अर्थ हुने भएकाले ‘स्यारपा’ स्यारबाट सार भन्ने शब्दतिर गयो भन्ने तर्क दिन सकिन्छ । किनभने स्यारको नजिक छार भन्दा पनि सार आउँछ । यद्यपि ज्योतिषशास्त्रमा छार र सार भन्ने २ वटै भाषा वा शब्द छैनन् । अर्कोतिर गुरुङमा बढी शेर्पा, भोटे, थकाली आदिको प्रभाव परेको जस्तो देखिएकाले पनि ल्होसार र ल्होछार भन्ने शब्दजालभित्र अल्मलिएका हुन् । गाउँघरमा भने ल्होसार र ल्होछार यी २ वटै शब्द पुगिसकेका छैनन् । भोज खानेका नाममा पुस १५ र शुभ–अशुभ छुट्याउनेका नाममा ल्हो–त्वूपा र ल्हो–स्यारपा नै प्रयोग गर्छन् । गुरुङले मान्ने यो पर्व न नयाँ वर्ग हो, न नयाँ वर्ष हो त्यसैले यसलाई ल्होछार (वर्ग नयाँ), ल्होसार (वर्ग नयाँ) वा नयाँ वर्ष भन्नुभन्दा पनि ल्हो पद्धतिमा भरपर्ने विषय हो । ज्योतिषशास्त्रमा उल्लेखित २ वटा शब्द ल्हो–त्वूपा (वर्ग फर्किने) र ल्हो–स्यारपा (वर्ग सक्रिय) बुझ्नुपर्ने हुन्छ । त्यसैले ल्होछार भन्नुभन्दा पनि ल्होसार भन्नु बढी वस्तुवादी, प्रकृतिवादी, ज्योतिषविज्ञ र गुरुङले अभ्यास गरेको परम्परागतसँग मेल खान्छ ।
ल्हो गणना कसरी गर्ने ?
ल्होबाट वर्ष छुट्याउने अथवा उमेर थाहा लगाउने विधिलाई ल्होस्यु थूपा भनिन्छ । विशेष गरी हात्केलाबीचको ३ वटा लामो औलालाई पार्क मानेर ल्हो गणना गर्ने चलन गुरुङको ज्योतिषशास्त्रमा हुन्छ । सबैभन्दाबीचको औलाको पनि बीचको भाग छोडेर बाँकी भाग लिएर ८ वटा पार्क मानी ल्हो गणना गरिन्छ, यसबाट कुन ल्हो कुन पार्कमा छ त्यस अनुसारको भविष्यफल वा शुभ–अशुभ गुरुङको पैडी अथवा ज्योतिषीले थाहा लगाउँछ । गुरुङको बच्चा जन्मेकै दिनमा १ वर्ष भएको मानिन्छ, किनभने ल्हो अनुसार जुन बच्चा जुन ल्हो चलेको छ, त्यस वर्षमा १ वर्ष भएको मानिन्छ । यो पद्धति ल्हो गणना गर्ने र ल्होको अभ्यास गर्ने सम्पूर्ण मंगोलियन समुदायको हुन्छ । कुनै बच्चा पुसको १४ गते जन्मेको छ भने त्यसको भोलिपल्ट वा पुसको १५ गते उ २ वर्ष भएको मानिन्छ । जस्तै, ०७५ सालको पुस १४ गते जन्मेको बच्चा खि–ल्हो (कुकुर वर्ग) भेटायो भने २०७५ सालकै पुस १५ गते उक्त बच्चा फो–ल्हो (मृग वर्ग) मा प्रवेश गर्ने हुँदा २ दिनमै उ २ वर्ष भएको मानिन्छ । त्यसैले ल्हो गणना गर्दा १२ वर्षभन्दा मुनिका छन् भने त्यसलाई आफ्नो ल्होबाट गणना गरेर चालु ल्हो (ल्हो स्यारपा) सम्म गणना गरी सोहीअनुसार वर्ष छुट्याइन्छ । एउटा वर्ग चक्र (ल्हो क्वूर) पूरा गरेका छन् भने ल्हो गणना गरेर जुन ल्हो स्यारपा छ त्यसबाट १३,२५,३६,४९…… अथवा १३ बाट १२,१२ जोड्दै गएर गणना गरिन्छ । यो उक्त व्यक्तिको अनुहार वा शारीरिक रुपबाट जानकारी लिइन्छ । एउटा ल्हो क्वूर पूरा भएकोलाई ल्हेवर ख्री, २५ भित्रकालाई ल्हेवर ङ्यी, ३७ भित्रकालाई ल्हेवर सों एवं तरिकाले ल्हो गणना गरी फल छुट्याइन्छ ।
माथि जे–जस्ता विषयहरु प्रस्तुत भए पनि सन्दर्भ ल्होसारकै हो । जुन बेला यो शब्द गुरुङ समुदायमा आयो त्यसबेला यसले ल्हो–सारकै नामबाट चर्चा पायो, मान्यता पायो । विगत २÷३ वर्षदेखि भने यता यो शब्दमाथि बहस भयो, र ल्होसार नभई ल्होछार हो भन्ने की आवाजहरु आए । सबैलाई थाहा छ, नयाँ वर्ष वा नयाँ वर्ग हो भने ल्हो–छार नै हो किनभने छार भनेको शुद्ध गुरुङ भाषा हो जसको नेपाली अर्थ नयाँ हुन्छ । तर प्रकृति र ज्योतिष विज्ञानलाई आधार मानि भन्नुपर्दा ल्होछार भन्नुको कुनै अर्थ देखिँदैन, अभ्यासले पनि त्यसरी चिनिँदैनन् । ल्होसारको अर्थ ल्हो त्वूपा र ल्हो स्यारपाबाट प्रष्ट हुन्ने स्वीकार गर्नुपर्छ ।
ल्होसार आ–आफ्नै रमितामा मनाउने गरे पनि यसको विशेष महत्व छ । दी एसोसियसन फर एसिया स्टडिर्ज १९९० डिएफ मिरोन एल कोहेन ले चीनको उत्तरी भागमा अध्ययन गर्ने वेलामा त्यहाँका समुदायले ३ दिनको ल्होसार कार्यक्रम वा मनाउने शैलीको व्याख्या गरेका छन् । उनका अनुसार पहिलो दिनमा आफ्ना पूर्खालाई खानाहरु चढाउने, यसलाई चिनियाँ भाषामा स्याङ ज्याइगोजिगोङ (मिठाइ–फलफूल आदि) । दोस्रो दिनमा रेड अर मिट अफरिङ (स्याङ बोङ गोङ) । उनका अनुसार रेड भनेको रगत वा मासु हो यो दोस्रो दिनमा चढाइन्छ र तेस्रो दिनमा पूर्खालाई सम्झिने वाचा गर्छन्, त्यसबेला किटो र सङ जुजोङ गायन प्रार्थना गर्छन् ।
गाउँघरमा गुरुङले परापूर्वकालदेखि स्युकै (सबैबाट उठाएर खाने भोज, भात) खाने चलन छ । खासगरी तरुल, मासको दाल खाने गर्छन् । हिजो आज सहर बजारमा धेरै किसिमका कार्यक्रमहरु जोडेर यो पर्व मनाउने गर्छन् । आ–आफूले रुचाएको संघसंस्थामा गएर पूरोतिबाट आशीर्वाद लिनेदेखि तामभाम भएर हिँड्छन् । त्यसैले एकपटक काठमाडौंमा तमूहरुको ल्होसारमा स्व. डा हर्क गुरुङले यो गाउँघर, आफ्नो परम्परा अनुसारको ल्होसार नभई साम्राज्यवादी र पुँजीवादी तरिकाको ल्होसार भयो भन्ने भनाई राखेका थिए । जेहोस ल्होसारको यो अवसरमा सम्पूर्णलाई सुख शान्ति र दीर्घायुको शुभकामना ।

तपाईको प्रतिक्रिया