हुक्काको लोकप्रियता

समाधान संवाददाता २०७५ पुष १८ गते १५:०४

– चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्बनमोनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुक्कामा हुन्छ ।
– । विशेषज्ञले भनेका छन्, हुक्कामा प्रयोग हुने तम्बाकु (सूर्ति) सिसामा पनि त्यहि कार्सिनोजेनिक तत्व हुन्छ, जुन सिगरेटको तम्बाकुमा पनि हुन्छ । युसिएलका शोधकर्ताले हुक्का पिउनेमा कम अवधिमा मुटुको बिरामी हुने उत्तिकै सम्भावना हुनेगर्छ जति धुमपान गर्नेमा हुन्छ ।

खिम लामिछाने काजी

प्रायजसो रेस्टुरेन्टको मेनुको अन्त्यमा लेखिएको हुन्छ ‘हुक्का एभाइलेवल’ । हुक्कालाई सिसा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजा, आदि नामले पनि चिन्निछ । कतिपय रेस्टुरेन्टमा विभिन्न रङ र साइजका हुक्काहरु देखिने गरी सजाएर राखिएको हुन्छ । कतिपयको भने रेस्टुरेन्टको नाम नै ‘हुक्का बार’ राखिएको हुन्छ । यसैबाट प्रस्ट हुन्छ आजकाल हुक्का कति लोकप्रिय रहेछ युवायुवतीबीच । फेसन जस्तै बनेको छ । तर धेरै कमलाई मात्र थाहा होला एक हुक्का पिउनु २ सय वटा चुरोटको खिल्ली पिउनु भन्दा बढी हानीकारक हुन्छ । चुरोटको सर्को कहिल्यै नतानेका आजका युवायुवतीले हुक्काको स्वाद चाखिसकेका छन् ।
स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरी आदि विभिन्न फ्लेबरमा हुक्का उपलब्ध छन् । हुक्कामा राखिएको फ्लेबर सूर्तिलाई चारकोलको कोइला प्रयोग गरी सल्काइने गरिन्छ । चारकोलको धुवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ, जुन मानव स्वास्थ्यकोलाई अत्यन्त हानिकारक मानिन्छ ।
हाम्रो बाउबाजेको पालादेखि परिचित हुक्का नेपाली संस्कृति भने होइन । इतिहास अनुसार यसको उत्पत्ति ५ सय वर्षअघि पर्सियामा भएको हो । पछि यो भारत हुँदै नेपालमा भित्रियो । गाउँघर तिर उमेर पाका बुढापाकाले तान्ने गरेको हुक्का नेपालमा पर्यटकको आगमन हुन थालेपछि बिस्तारै व्यवसायको रुपमा देखिन थालेको हो । पहिले पित्तल र काठबाट निर्मित हुने तमाखु–हुक्का अहिले आकर्षक काँचका फ्लेबर हुक्काले प्रतिस्थापित गरेको छ । कुनै बेला सम्भ्रान्त वर्गको बैठकको सान हुने हुक्का अहिले हरेक सहरको गल्ली र चोकमा खुलेका रेस्टुरेन्ट, बारमा सजाएरको पाइन्छ ।
लेकसाइडको एक रेस्टुरेन्टमा भेटिएका एक १९ वर्षे पारखीले हुक्कालाई धुम्रपान मान्न अस्वीकार गर्छन् । पुदिना फ्लेवरको हुक्काको सर्को तान्दै उनी भन्छन्, ‘हुक्कामा सूर्ति हुँदैन । फ्लेवर मात्र हुन्छ । फेरि यो धुवा त पानीबाट पास भएर फिल्टर भएर आएको हो । यो धुवामा चुरोटको जस्तो निकोटिन पनि हुँदैन ।’ हुक्कालाई फेसन र मनोरञ्जनको रुपमा लिनेहरुको तर्क जे सुकै होस् तर यथार्थमा अध्ययनहरूले भने हुक्कालाई चुरोट सेवनभन्दा कयौ गुणा घातक हुने निष्कर्ष निकालेका छन् । विश्व स्वास्थ्य संगठनको रिपोर्ट भन्छ– हुक्का सेवन गर्नेहरूले चुरोट सेवन गर्नेभन्दा २ सय गुणा बढी हानीकारक धुवाको सेवन गरिरहेका हुन्छन् । चुरोटभन्दा हुक्का यस कारणले पनि बढी हानीकारक हुन्छ किन कि १ खिल्ली चुरोट पिउन ५ देखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घन्टा देखि १ घन्टासम्म लाग्छ । चुरोट १ वा बढीमा २ जनाले बाँडेर पिउने गरिन्छ भने हुक्का ४ देखि ५ जनाभन्दा धेरैले सामूहिक रुपमा पिउने गरिन्छ । जसले गर्दा १ व्यक्तिमा भएको रोग अर्कोमा सजिलै संक्रमण हुन सक्छ । त्यसैगरी हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत सर्ने खतरा बढी हुन्छ । फेरि रेस्टुरेन्टहरुमा ग्राहकको भीड बढेको बेला हुक्का र पाइप राम्रोसँग सफा नै गरिन्छ भन्ने के ग्यारेन्टी छ ? चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्बनमोनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुक्कामा हुन्छ ।
सूर्तिजन्य वस्तु चुरोट, बिँडी, पान, गुट्का, हुक्का आदिले स्वास्थ्यमा पर्ने असर बारेमा विभिन्न देशमा विभिन्न समयमा अध्ययन–अनुसन्धान भइरहेका हुन्छन् । विश्वमा सूर्ति सेवनको कारण वार्षिक ६० लाख मानिसको ज्यान जाने गरेको छ । ती सबै अध्ययनको निष्कर्ष ‘सूर्तिजन्य पदार्थको सेवनले क्यान्सर लगायत प्राण घातक रोग लाग्न सक्छ’ । युवामाझ लोकप्रिय हुक्काले पनि ज्यानै लिने रोगहरु उत्पन्न गराउँछ । हुक्का सेवन अन्य सूर्तिजन्य पदार्थ जस्तो हानीकारक चिज होइन भन्ने गलत विश्वास र भ्रमका कारण यसको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै छन् ।
आजकल हुक्का सेवन गरेको फोटो सामाजिक सञ्जालमा सजिलै राखिन्छ । चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरु हुक्का पिएको फोटो भने सजिलै अपलोड गर्छन् । जसले गर्दा जुनियर्सहरु त्यसबाट बढी प्रभावित भए । फलत हुक्का प्रयोगकर्ता बढ्दै गए । रेस्टुरेन्टहरुमा १५ देखि २५ वर्ष समूहका युवायुवती नियमित हुक्काको प्रयोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ ।
क्यान्सर इपिडिमियोलोजी, बायोमार्कर्स एन्ड प्रिभेन्सन जर्नलमा सान डिआयो स्टेट युनीभर्सिटीका शोधकर्ता नाडा कासिमले उल्लेख गरे अनुसार, हुक्का प्रयोग गर्ने र त्यसको धुवा सुँघ्न बाध्य मानिसमा खतरनाक रसायन बेन्जिनको प्रभाव परेर रक्तक्यान्सर ल्युकेमिया हुने सम्भावना बढ्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले बेन्जिनलाई एक नम्बरको क्यान्सरजन्य तत्व मानेको छ । बेन्जिनको कुनै पनि स्तरको मात्रा मानिसलाई हानीकारक हुन्छ । हुक्कामा प्रयोग गरिने लोकप्रिय सूर्ति मोजेलमा स्वादका लागि ३० प्रतिशत सूर्तिलाई मोलासेस तथा ग्लेसेरिन रसायनिक तत्वसँग मिसाइ तयार पारिएको हुन्छ । कासिमको टोलीले सन् २०१३ मा अनुसन्धान गर्दा अमेरिकी कलेजका २६.६ प्रतिशत पुरुष र २३.२ प्रतिशत महिलाले कुनै बेला हुक्का प्रयोग गरेको तथ्य बाहिर ल्याएको थियो । कासिमको अनुसन्धानको निष्कर्ष अनुसार हुक्काले ल्युकेमियाको खतरामा मात्र बढाउँदैन, फोक्सो र मुखको क्यान्सर तथा मुटुको रोग लाग्न सक्छ । अनुसन्धान टोलीले हुक्का प्रयोग गर्ने १ सय ५ जना र प्रयोग नगर्ने १ सय ३ जनाको पिसाबमा बेन्जिनको एक स्वरूप एस– फिनायलमरक्याप्चरिक एसिड (एसपीएमए) जाँच गरेको थियो । जसअनुसार हुक्का प्रयोग गर्नेहरूको पिसाबमा एसपिएमएको मात्रा ४.२ गुणाले बढको देखियो । अर्कोतर्फ हुक्का प्रयोग गर्नेहरूको समूहमा बसेका धूमपान नगर्नेहरूको पिसाबमा समेत २.६ गुणाले एसपिएमए बढेको थियो । विशेषज्ञले भनेका छन्, हुक्कामा प्रयोग हुने तम्बाकु (सूर्ति) सिसामा पनि त्यहि कार्सिनोजेनिक तत्व हुन्छ, जुन सिगरेटको तम्बाकुमा पनि हुन्छ । युसिएलका शोधकर्ताले हुक्का पिउनेमा कम अवधिमा मुटुको बिरामी हुने उत्तिकै सम्भावना हुनेगर्छ जति धुमपान गर्नेमा हुन्छ ।
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ कि, हुक्कामा प्रयोग गर्ने तम्बाकुमा फल र केन्डी जस्तै फ्लेवर हुनेगर्छ । प्रमुख शोधकर्ता मेरी रेजाक हानाका अनुसार यही कारणबाट यो युवामा अधिक लोकप्रिय छ । धेरै मानिसलाई लागेको छ कि विभिन्न फ्लेवरको धुवा पानीबाट पास भएर फोक्सोसम्म पुग्दा फिल्टर भइसक्छ । यही भ्रमले गर्दा तम्बाकु (सूर्ति) भन्दा सुरक्षित छ भन्ने गलत विश्वास लिन पुग्छन । हुक्कालाई धूमपानको रूपमा नलिने युवा धेरै छन् । तर वास्तविकाता भने डर लाग्दो छ । विशेषज्ञहरुका अनुसार, ‘हुक्कामा तम्बाकुसँगै निकोटिन लगायत तार, कार्बनमोनोअक्साइड, आर्सेनिक, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता अनेकौ प्राण घातक तत्वहरु रहेका हुन्छन । हुक्काको स्वाद बढाउनको निम्ति स्याउ, कफी, स्ट्राबैरी, अंगुर, चकलेट लगायत थुप्रै फ्लेवरहरुमा पाहिने हुनाले हुक्का हानीकारक हुँदैन भन्ने गलत मानसिकताको विकास भएको पाइन्छ । त्यसैले गर्दा आजका युवालाई हुक्काले आकर्शित गरेको छ । धेरैलाई थाहा नहुन सक्छ फ्लेबर सिर्फ स्वादको लागि हो, जसलाई विभिन्न रसायनहरु मिलाएर तयार गरिएको हुन्छ । जुन स्वास्थ्यको लागि निकै हानीकारक हुन्छ ।
भ्रम तथा सत्य
– हुक्काको कुलतमा सजिलै फसिँदैन भन्ने भ्रम छ । तर, आजकल रेस्टुरेन्टमा हेर्दा युवायुवतीको पहिले रोजाइ नै हुक्का हुनेगर्छ । नियमित हुक्का प्रयोग गर्ने किशोरकिशोरीको संख्या दिनप्रतिदिन बढ््दो छ ।
– हुक्कामा निकोटिन हुँदैन भ्रम छ । तर, हुक्कामा निकोटिनमात्र होइन विभिन्न क्यान्सर जन्य पदार्थ रहेको अनुसन्धानबाट पत्ता लागेको छ । हुक्कामा सूर्तिलाई तातो बनाइ धुवा उत्पन्न गर्न बलिरहेको चार्कोल प्रयोग गरिन्छ, यसअतिरिक्त अन्य विषाक्त तत्वहरु पनि हुन्छन् ।
– हुक्कालाई धूमपान मानिँदैन, अर्को भ्रम । तर, हुक्का चुरोटभन्दा बढी हानीकारक हो भन्ने पुष्टी भइसकेको छ ।
– हुक्काको धुवाले क्यान्सर लाग्दैन भन्ने भ्रम छ । हुक्काको धुवामा क्यान्सर गराउने बेन्जिन, तार, कार्बनमोनोअक्साइड, आर्सेनिक तथा अन्य क्यान्सर जन्माउने तत्वहरु हुन्छन् ।
– हुक्काको असर दीर्घकालीन हुँदैन भन्ने भ्रम छ । सूर्तिजन्य पदार्थहरुले जस्तै हुक्काले पनि दीर्घकालीन असर गर्छ । जस्तैः दम, मुटु सम्बन्धी रोग, स्वासप्रस्वास सम्बन्धी रोग, मुख, घाटी, पेटको क्यान्सर, पल्मोनरी इन्फेक्सन जस्ता दीर्घकालीन रोग लाग्ने सम्भावन हुक्का प्रयोग गर्नेहरुलाई हुन्छ ।
आजको युवापिडीले पिएको चुरोट र हुक्काको धुवाले भोलिको पुस्तालाई समेत निगोरी बनाइरहेको छ । सरकारी तथा गैरसरकारी सबै तह र तप्काका व्यक्ति तथा संस्थाले सबै प्रकारका धूमपान तथा मद्यपानको कुलतमा नलाग्न र कुलतमा परेकालाई छुट्टाउन समयमा नै ध्यान दिन जरुरी छ ।
समयमा नै सचेत होऔ, रोग लाग्नबाट बचौ !

Advertisement

तपाईको प्रतिक्रिया