मुस्ताङमा दर्ताबिनाका व्यवसाय र मोटरसाइकल

समाधान संवाददाता २०७५ पुष १९ गते १२:०३

सुन्दरकुमार थकाली
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा करिब ३ सयको हाराहारीमा चाईनिज मोटर साइकल गुड्छन् । ती सबै मोटरसाइकल उत्तरी कोरलानाका तथा त्यहाँको गैर नाका हुँदै उपल्लो मुस्ताङमा भित्रिएका हुन् ।

मुस्ताङ र तिब्बतको ढुङ्वासेन राज्यबीचको सहमतिमा वर्षेनी असार र भदौ महिनामा व्यापार मेला लाग्ने गर्छ । मेलामा उपल्लो मुस्ताङका स्थानीयबासीले घरायसी सामानका अलावा चाइनिज मोटरसाइकल सस्तो मूल्यमा भन्सार छलेर नेपाल भित्रयाउँछन् । केही वर्षअघि उपल्लो मुस्ताङका स्थानीयले जुनसुकै बेला चाइनिज मोटरसाइकल तिब्बतबाट नेपाल भित्र्याउँथे । तर चालुवर्ष यसको कारोबार शून्य रह्यो ।

उपल्लो मुस्ताङ भित्रिएका चाइनिज मोटरसाइकल व्यवस्थापन गर्न इलाका प्रशासन कार्यालय लोमान्थाङलाई चुनौती बनेको छ । भन्सार छलेर ल्याएका मोटरसाइकल र चालक अनुमतिपत्र नलिइकन मोटरसाइकल चलाउने भएकाले दुर्घटनाको बढ्न सक्नेतर्फ प्रशासनको ध्यान केन्द्रित भएको छ । मोटरसाइकलको कारोबार रोकिएको छ तर भएका मोटरसाइकल कसरी कानुनको दायरामा ल्याउन समस्या भएको छ ।

उपल्लो मुस्ताङमा अवैध ढंगले कागजपत्र बिना नै मोटरसाइकल गुडिरहेका भए पनि इलाका प्रशासन कार्यालय कानुन कार्यान्वयन गर्ने अवस्था छैन । कतिपय कानुन कार्यान्वयनका विायमा प्रशासन र जनप्रतिनिधि एकमत नहुँदा समस्या सुल्झाउन सकिएको छैन । प्रहरी र प्रशासनभन्दा स्थानीय समुदाय बलियो भएकाले प्रशासनलाई चुनौती भएको हो ।

‘इलाका प्रशासनलाई २ वटा विषय कार्यान्वयनमा चुनौती भएको छ,’ इलाका प्रशासन कार्यालय लोमान्थाङका कार्यालय प्रमुख मुरारी निरौलाले भने । ‘ स्थानीय आफैं कमाऊ ,आपंmैं बाँच भन्ने मान्यता राख्छन् ,सरकारले के दियो र सरकारलाई हामीले किन दिने भन्ने सोच छ,’ प्रमुख निरौलले भने ।

स्थानीयले स्वघोषित पूर्व मुस्ताङी राजाको वचन अनुशरण गर्छन् तर प्रशासनको कुरामा चासो राख्दैनन् । इलाका प्रशासनले जनतालाई शान्ति सुरक्षा लगायत नागरिकता र पासपोर्ट आदिको सेवा दिएको उनको भनाइ छ । उनले व्यवसाय दर्ता र अवैध मोटरसाइकलले समस्या पार्‍यो ,’ उनले भने ।

‘कानुनको दायरामा आउनोस् भनेर ताकेता गर्‍याैं , उनीहरुले यसलाई गम्भीर रुपमा लिएका छैनन्, कानुनको दायरामा आउँदा मोटरसाइकल नै गुम्ने डर छ,’ कार्यालय प्रमुख निरौलाले भने । मोटरसाइकल व्यवस्थापन गर्न स्थानीय जनप्रतिनिधि सकारात्मक देखिए पनि खुलेर कानुनको पहुँचमा ल्याउन नसकेको इलाका प्रशासनले जनाएको छ ।

कार्यालय प्रमुख निरौलाले ‘चालु वर्ष जोमसोममा चिनिया पक्षसँग भएको वार्ता पूर्व ईलाका प्रशासन कार्यालयले मंसिर महिनामा एजेन्डाकै रुपमा प्रस्तुत गरेको बताए । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहभागी बैठकमा जनप्रतिनिधिले कार्यान्वयन गर्ने तर्फ खुलेर साथन नदिएको निरौलाले गुनासो गरे ।

यस्तै उपल्लो मुस्ताङका अधिकांश होटल, लज र पसल सञ्चालनमा छन् तर सबै व्यवसायी पानमा दर्ता भएका छैनन् । मुस्ताङी पूर्व राजाका भतिजाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय स्तरको होटल र लोटस होटल बाहेक लोमान्थाङ र लोघेकर गाउँपालिकामा व्यवसाय गर्ने कोही पनि पानमा दर्ता नभएको कार्यालय प्रमुख निरौलाले बताए । लामो समयसम्म परम्परागत राजाबाट सञ्चालित उपल्लो मुस्ताङमा राज्यलाई कर तिर्नुपर्छ भन्ने सोचाइ उनीहरुमा छैन ।

इलाका प्रशासन कार्यालयका प्रमुख निरौलाले राज्यले धेरै कुरा दिएकाले राज्यप्रतिको दायित्व नागरिकमा रहनुपर्ने सुझाए । उपल्लो मुस्ताङमा आन्तरिक राजश्वको टोली पुग्न सकेको छैन भने, इलाका प्रशासनले पनि कर संकलन गर्न सकिरहेको छैन । तल्लो मुस्ताङका अधिकांश व्यवसायी करको दायरामा छन् तर उपल्लो मुस्ताङमा राज्यले अर्थ संकलन गर्न समस्या परेको हो । कार्यालय प्रमुख निरौलाले स्थानीय जनप्रतिनिधिले नै जनतालाई यसबारे ध्यानार्कषण गराउनुपर्ने बताए ।

पर्यटकीय जिल्लाका रुपमा चिनिएको मुस्ताङमा वर्षेनी हजारौं पर्यटक उत्तरी नाका कोरलासम्म पुग्छन् । लोमान्थाङमा दर्जनौं विभिन्न प्रकारका व्यवसायी छन् । तर उपल्लो मुस्ताङमा कहिल्यै बजार अनुगमन हुँदैन । पोखरा र तिब्बतबाट ल्याइएका घरायसी तथा बिक्रीका सामान भण्डारण गरी राख्ने चलन छ । भण्डार गरेर राखिएका सामान समयमै सदुपयोग हुन नसक्दा प्रशस्तै म्याद गुज्रिएका अखाद्य सामान पनि भेटिन्छन् तर इलाका प्रशासनले देखेर पनि नष्ट गर्न सकिरहेको छैन ।

कार्यालय प्रमुख निरौलाले उपल्लो मुस्ताङमा एकलजातीय संरचना भएकाले प्रशासन निरीह बनेको छ । उनले म्याद गुज्रिएका सामान नराख्नुहोस् भन्छौं, व्यवसायीले हुन्छ भनेर टार्ने गरेको बताए । व्यावसायिक घरमा गएर प्रशासनले हस्तक्षेप गर्ने सामथ्र्य नभएको उनले स्पष्ट पारे । इलाका प्रशासन कार्यालयमा ६ जनाको दरबन्दी भए पनि हाल ३ जनामात्र कर्मचारी छन् ।

तपाईको प्रतिक्रिया