‘वाइड बडीबारे मबाट केही निर्णय भएकै छैन’

समाधान संवाददाता २०७५ पुष १९ गते १२:१५


‘यो सरकार वाइडबडी खरिद प्रक्रियामा सहभागी छैन, छानबिन गर्न म आफैं सहयोग गर्छु,’ मन्त्री अधिकारीले भने, ‘छानविनका क्रममा गल्ती भेटिएछ भने राजनीतिबाट बिदा हुन्छुु, ।’

समाधान संवाददाता
संसदीय लेखा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएको निस्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतलाई कारबाही सिफारिस गरेपछि देशभर यसकै चर्चा छ । पर्यटनमन्त्री अधिकारीको गृह जिल्ला कास्कीमा उनको आलोचना उकालो लागिरहेको छ ।

सामाजिक सञ्जाल वाइड बडीमय बनेको छ भने मन्त्री अधिकारीमाथि आलोचना चुलिइरहेको छ । मन्त्री अधिकारी भने पर्यटनमन्त्री भएकै कारण आफ्नो नाम जोडिएको बताएका छन् । वाइड बडी खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा पहिले ने भइसकेको बताउँदै मन्त्री अधिकारीले अहिले पर्यटन मन्त्रालयको नेतृत्वमा रहेकाले नाम जोडिएको बताए ।

Advertisement

‘मन्त्रालयको नेतृत्वमा भएकाले नाम जोडिनु स्वभाविक हो तर यो खालको प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ,’ मन्त्री अधिकारीले भने, ‘वाइड बडी खरिद प्रक्रियामा मेरो संलग्नता छैन भन्ने बेला आएपछि पुष्टि हुन्छ ।’
मन्त्री अधिकारीका पालामा जहाज खरिदको अन्तिम किस्ता भुक्तान भएको थियो । विवादित हुँदाहुँदै पनि अन्तिम किस्ता किन दिइयो भनेर

अधिकारीमाथि प्रश्न उठिरहेको छ । ‘म मन्त्री हुनुभन्दा पहिलेकै प्रक्रिया अनुसार रकम भुक्तान भएको हो । मैले केही गरेको छैन,’ मन्त्री अधिकारीले भने, ‘मबाट कुनै अनियमिता भएको छैन ।’

Advertisement

संसदीय समितिको प्रतिवेदनप्रति आफ्नो सम्मान रहेको मन्त्री अधिकारीको भनाइ छ । तर, आफू मन्त्री भएपछि वाइडबडीका सबालमा थप कुनै निर्णय नभएको मन्त्री अधिकारीले दाबी गरेका छन् ।

पर्यटन मन्त्रालयमा सुधारको काम गर्दा आफूमाथि प्रहार भइरहेको बताउँछन् । छानबिनबाट वाइडबडीमा आफ्नो गल्ती भेटिए मन्त्रीबाट मात्रै होइन, राजनीतिबाटै सन्यास लिने मन्त्री अधिकारीको भनाइ छ ।

‘यो सरकार त यो वाइड बडी खरिद प्रक्रियामा १ प्रतिशत पनि सहभागी छैन । त्यो छानबिनबाट आउला । छानबिन होस् भनिरहेकै छौं । यदि अलिकति पनि संलग्नता कसैले छानबिनका क्रममा भेटेछ भने दावाका साथ भन्छु राजनीतिक बिदा हुन्छुु,’ मन्त्री अधिकारीले भने, ‘कुनै डर छैन, नबिराउनू, नडराउनू भन्छन नि, जब बिराइँदैन, डर हुन्न ।’

वाइबडी खरिदको प्रक्रिया ३ वर्षअघि भएको उनको भनाइ थियो । कतिपय मानिसले बदनाम गर्न मात्रै आफूमाथि प्रहार गरिरहेको अधिकारीको दाबी छ ।

‘गल्ती भएको छ भने छानबिन गरेर को को दोषी हुन्, कारवाही गर्ने निकाय छन् । त्यो प्रक्रियामा जानुपर्छ भन्ने मेरो मान्यता हो । प्रहारको निशाना बनाउने र अन्योल सिर्जना गर्ने खालका मान्छेहरु छन,’ मन्त्री अधिकारीले भने । नेपाल एयरलाइन्सको अग्रगतिमा आफ्नो भविष्य नदेख्नेहरु थुप्रै रहेको र तिनीहरु पनि आफूविरुद्ध लागेको अधिकारीको दाबी छ ।

वाइडबडीको छानबिनमा सबैलाई सघाउने र दोषीमाथि कारवाही हुनैपर्ने पक्षमा आफू रहेको अधिकारीको भनाइ छ ।

संसदीय उपसमितिले वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारबाही सिफारिस गरेको छ । वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।
उपसमितिले पर्यटन सचिव कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्व सचिव शंकर अधिकारीलाई समेत कारबाहीको सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया