स्वर्ण विजेतालाई महेश्वरलाई मदनकाे सम्मान र बधाई

समाधान संवाददाता २०७५ पुष १९ गते १२:२५


दसौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण विजेता महेश्वर महर्जन सम्मानित भएका छन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमीको १० औं स्थापना दिवसको सन्दर्भमा खेलकुदको विकासका लागि ऐन, कानुन तथा नीति विचार गोष्ठी समापनको अवसरमा मंगलबार एकेडेमीले खेलाडी महर्जनलाई काठमाडौंमा सम्मान गरेको हो ।

खेलकुदको माध्यमबाट नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै एकेडेमीले सम्मान गरेको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बताए । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उनलाई सम्मान गरेका हुन् ।

Advertisement

थाइल्यान्डको चाङमईमा गएको मंसिर २५ देखि पुस २ गतेसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण जित्दै इतिहास रचेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा महेश्वरले जितेको उक्त स्वर्ण पहिलो हो । महेश्वर एसियाली शारीरिक सुगठनमा पनि स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् ।

यसअघि महर्जनलाई थाइल्यान्डस्थित नेपाली दूतावास तथा नेपाल शारीरिक सुगठन संघले क्रमशः २ लाख ५० हजार र ३ लाख नगदसहित सम्मान गरिसकेको छ ।

Advertisement

उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्वर तिमिल्सिना र सदस्य राजेश कुमार गुरुङलाई स्वागत तथा बधाई ज्ञापन गरिएको छ । राखेपमा आएसँगै खेलकुदको विकास र विस्तारमा थप ऊर्जा मिलोस् भन्दै उनीहरुलाई बधाई ज्ञापन गरिएको अध्यक्ष श्रेष्ठले जनाए ।

एकेडेमीले खेलकुदमा प्रशासन, संरचना, प्रतियोगिता, खेलाडी उत्पादन लगायत विषयमा छुट्टाछुट्टै विधामा विषयगत शाखा कार्यालय स्थापनाको माग गरेको अध्यक्ष श्रेष्ठले जनाए ।

तपाईको प्रतिक्रिया