बजार नपाउँदा बारीमै कुहिए ‘ग्राउन्ड एप्पल’

समाधान संवाददाता २०७५ पुष १९ गते १७:४२


सुशील सुवेदी
वालिङ

‘स्याउ निकाल्यो बजार छैन सबै खान सकिन्न कुहाएर फालेका छौं,’ वालिङ ३ का किसान प्रसाद गुरुङले बताए । केही वर्ष अगाडि ६ रोपनी जग्गामा प्रति किलो १ हजार रुपैयाँको बिउ किनेर लगाएको भुइँ स्याउ अहिले बजार नै नपाएपछि २ रोपनीमा खेती गर्दै आएको गुरुङको भनाइ छ ।
गुरुङ जस्तै जिल्लाको पुतलीबजार, वालिङ न.पा मा यस खेती गर्दै आएका किसानहरु प्रचार प्रशारको अभाबले लाभदायक फलको महत्व ओझेलमा परेको गुनासो गर्ने गरेका छन् ।

स्याङ्जामा भुइँ स्याउ अर्थात ग्राउन्ड एप्पलले बजार नपाउँदा किसान समस्यामा परेका छन् । व्यावसायिक खेती गर्दै आएका वालिङ नगरपालिकाका किसानहरुले बजार नपाएपछि बारीबाट भुइँ स्याउ नै निकालेका छैनन् ।

Advertisement

माटो मुनि फल्ने र रोपेकै वर्ष फल दिने भुइँ स्याउको बोक्रा ताछेपछि बजारमा पाईने महङ्गो स्याउ जस्तै स्वादिलो हुने गर्दछ । यसको सेवनले पत्थरी, सुगर, जण्डीस, कव्जीयत लगायत रोगको निदानका लागि फलदायी हुने भुइँ स्याउ ब्यापारी तथा किसान राजु गुरुङले बताए । उनले वालिङ न.पा १२ सिर्सेकोटमा लगाएको फल उत्पादन भएपनि बजारमा बिक्री बितरण भन्दा आफन्तजनलाइ कोशेली पठाउने र यसको महत्व बुझाउने गरेको बताए । बेला बेलामा हुने मेला महोत्सबमा यसको प्रदर्शनी गर्ने गरेको भएपनि लाभदायक फलको आकर्षण हुन नसक्दा उनी चिन्तित छन् ।

बाँदर तथा अन्य जंगली जनावरहरुले क्षति पुर्‍याउने पाखो जमिनहरुमा खेती गर्न सकिने भएकाले बजारीकरणमा पहल भए आर्थिक लाभ टेवा पुग्ने माँझकोट राम्चेका किसान लोकबहादुर गुरुङको भनाइ छ । बिगत ६ बर्षदेखि गर्दै आएको यस खेतीले बजार नपाएप५ि बारीमा त्यसै छाडेको गुनासो गरे । उनले भने , ‘एक लाख भन्दा बढीको नोक्सानी भयो , पसिनाको त मुल्य नै छैन ।’

Advertisement

पुतलीबजार नगरपालिका १० लुम्दीका खिमबहादुर थापाको समस्या पनि उस्तै छ । २ रोपनी जमिनमा भुइँ स्याउ लगाएका थापाले प्रचारप्रसारकै लागी २ सय रुपैया किलो पर्ने भुइँ स्याउ बुटवल, स्याङजा, वालिङजस्ता बजारका मेला, प्रदर्शनी, महोत्सव र सभामा पुग्ने र चखाउने गरेको बताए । उनले भने, ‘स्वास्थ्यको दृष्टिकोणबाट निकै लाभदायक भुँइस्याउका विषयमा चेतना हुन सकेन , उत्पादन भएको चिज कुहाएर फाल्नु परेको छ । ’

किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनहरुको बजारीकरणको लागि स्थानीय सरकारले पहल गरिदिए ठूलो राहत हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया