मास्टर बन्न नसकेका दलबहादुरको ड्राइभर बन्ने सपना

समाधान संवाददाता २०७५ पुष १९ गते १८:०२


मोहसिन अलि मियाँ
गोरखा
पुसको जाडो । ‘प्वालैप्वाल’ परेर च्यातिएको झुत्रो कपडा लगाएरका दलबहादुर चेपाङ्गको न बस्ने ठेगान छ न खाने नै । गण्डकी गाउँपालिका ६ पालेवनका दलबहादुर उमेरले बल्ल १४ बर्ष टेके ।

बुवा आमा जिवितै भएर पनि सानैमा अनाथ बनेर भौतारिएका उनले कलिलैमा संघर्ष गर्न सिके । झण्डै एक दशकमा उनले धेरै चुनौतीसंग लडे । धेरै अभाव ब्यहोरे । कैयौ रात भोकै सुते कहिले सडकमा सुते, कहिले गोठमा, कहिले गाडीमा त कहिले टौवाको ओत लाग्दै पनि सुते ।

उनी ६ बर्षका थिए । गाउँमा आफु संगैका साथीभाई स्कुल गएको देखेर उनले पनि बाबुलाई कर गरे । बुवाले गाउँकै भद्रकाली माध्यामिक विद्यालयमा भर्ना पनि गरिदिए । तर दलबहादुर एक कक्षाबाट दुईमा पनि जान नपाउदै उनको जिन्दगीमा ठूलो बज्रपात आइलाग्यो । ‘सानोमा बा संग मास्टर बन्छु भन्थें रे म’ दलबहादुरले भने ‘तर के गर्ने जिन्दगी पूरै बदलियो, सानैमा आमाले छाडिन, त्यसपछि बा ले घर छाडे ।’

Advertisement

आमा अर्कैसंग गएपछि दलबहादुरका बुवा काम गर्न भन्दै चितवन झरे । आँखाभरी आँसु बनाउदै दलबहादुर सम्झन्छन् ‘बाले अर्कैको घरमा काम गर्न थाले, बा उता गएपछि म पनि उतै गए ।’ चितवन गएपनि उनको पढ्ने इच्छा भने मरेको थिएन । उनि भन्छन् ‘पढ्न मन त थियो तर साहुले बा लाई कहिले कता कहिले कता पठाउथ्यो, आफु एक्लै बस्न नसक्ने, जहा नि बा संगसंगै हिड्दा स्कुलको नाकमुकै देख्न पाइन ।’

मास्टर बनेर गाउँकै स्कुलमा पढाउने सपना देखेका दलबहादुर चेपाङ्ग अहिले गाउँ फर्किएका छन् । यस अन्तरालमा उनका दुई दिदीले पनि बिहे गरिसके । दाई पनि चितवनतिरै ट्याक्टर चलाउछन् । ‘बुवालाई दाईले नि वास्ता गर्दैन, दिदीहरुले आफै बिहे गरे’ चेपाङ्ग भन्छन् ‘बुवाले नि अर्कै आमा ल्याउनु भएको छ, मलाई त्यहा बस्नै मन नभएर गाउँ फर्केको हुँ ।’

Advertisement

उनि गाउँ फर्केर दिनभरी भौतारिएर हिडेको पनि डेढ बर्ष बित्यो । उनलाई अहिले जन्म दिने आमाको अनुहार समेत हेक्का नरहेको छैन । ‘डेढ बर्ष भयो गाउँमा आएको, यहाँ पनि आफ्ना भन्ने कोही छैनन्, गाउँमा कसैको काम भए गर्दिन्छु, नत्र हल्लिएरै हिड्ने हो ।’ चेपाङ्गले थपे ‘कसैले दिए खान्छु, नभए कहिलेकाही त भोकै सुतिन्छ ।’

चितवनबाट फेरी स्कुल पढ्ने सपना बोकेर गाउँ फर्केका चेपाङ्ग अहिले झनै निराश देखिन्छन् । ‘पढ्ने रहर भएरै गाउँ आएको, तर हामीलाई कसले पढाइदिने’ उनले दुखेसो पोखे ‘अहिले ट्याक्टरमा झुण्डिएर हिड्ने गरेको छु, गाडी सिकेर ड्राइभर बन्छु अब ।’ हाल उनलाई दाजु र बुवाले समेत वास्ता गर्न छाडेका छन् ।

तपाईको प्रतिक्रिया