ट्राफिक व्यवस्थापनमा कडाइ गर्दैै महानगर

समाधान संवाददाता २०७५ पुष २० गते १२:२१


पोखरा प्रदर्शनी केन्द्र अघिल्तिर महानगरको खाली जग्गा छ । त्यस ठाउँमा लामो समयदेखि व्यक्तिगत प्रयोजनका लागि गिटी, बालुवाजन्य पदार्थ थुपारेर राखेका छन् । महानगरले पटकपटक पत्राचार गर्दा पनि उनीहरुले त्यहाँबाट बालुवाजन्य पदार्थ उठाएका छैनन् ।
यसपटक भने महानगरले त्यस ठाउँबाट बालुवा हटाएउने भएको छ । महानगर ट्राफिक व्यवस्थापन समितिको बिहीबार सरोकारवालासँग बसेको बैठकले उक्त निर्णय गरेको हो । महानगरले त्यहाँबाट बालुवा हटाएर पार्किङस्थल बनाउने भएको छ । ‘पत्राचार गरिसकेका छौं । भोलि (शुक्रबार) नै त्यहाँबाट सबै बालुवा हटाएर पार्किङ स्थल बनाउने छौं,’ महानगर ट्राफिक व्यवस्थापन समितिको सदस्य सचिव सुरेन्द्र पौडेलले भने
मूख्य सडकका ग्यारेज हटाइने
पृथ्वीचोक भित्र खुलेका सम्पूर्ण ग्यारेजले समेत पार्किङ व्यवस्थापनमा समस्या ल्याएको गुनासो आइरहन्छन् । ग्यारेजको आफ्नै छुट्टै पार्किङस्थल नहुने र सडकमै पार्किङ गर्नाले सडक साँघुरिएको भान हुन्थ्यो । महानगरले १५ दिनभित्र मूख्य सडकका ग्यारेजलाई हटाउने भएको छ । पृथ्वीचोकदेखि हल्लनचोकसम्मका मुख्य सडकमा खुलेका सबै वर्कसपलाई पनि भित्री सडकमा सार्ने निर्णय गरेका छौं,’ पौडेलले भने ।
‘पोखरा महानगरभित्र घर तथा व्यवसायिक संघसंस्था, अस्पताल, पार्टी प्यालेसले पनि आफैं पार्किङको व्यवस्था गर्नुपर्नेछ,’ पौडेलले भने, ‘१५ दिनभित्र उनीहरुल आफैं पार्किङ व्यवस्था मिलाउन सकेनन् भने कारबाही गर्नेछौं ।’ उनले मूख्य सडक छेउमा बनेका अन्डरग्राउन्ड व्यवसायिक भवनले पार्किङ स्थल बनाउने र भूइँतलालाई व्यापारिक क्रियाकलापमा प्रयोग गर्न नपाइने प्रष्ट्याए ।
यात्रु कुर्ने गाडीलाई पनि कारबाही
मूख्यचोकका बसस्टपमा गाडीहरुले लामो समय लगाएर यात्रु कुर्ने समस्या पुरानै हो । बेलाबेलामा कुर्न नपाइने, कुरेमा कारबाही गर्ने हल्ला बाहिर आइरहन्छ । यसपटक पुन मुख्य चोकमा समयभन्दा बढी यात्रु कुर्न नपाइने महानगरले नीति बनाएको छ ।
पोखराका मुख्य चोक जिरो, सभागृह, चिप्लेढुंगा, हल्लनचोक, विरोटा चोक, पृथ्वीचोकलगायत ठाउँमा आवश्यकताभन्दा लामो समयसम्म यात्रु कुरेर बस्न नपाइने र बसेको पाइए कारबाही गरिने गरी निगरानी थालिएको महानगर ट्राफिक व्यवस्थपान समितिले जानकारी दिएको छ । ‘अब त्यहाँ यात्रु ओराल्र्ने र चढाउने मात्रै गर्न पाइन्छ । त्योभन्दा धेरै बस्नै पाइन्न,’ पौडेलले भने, ‘बसेको पाइए कारबाही गर्छौं ।’
बाग्लुङबाट सिद्धार्थ राजमार्ग हुँदै आवतजावत गर्ने बसहरु सिर्जनाचोक। विरौटा हुँदै जानुपर्ने नियम बनाइएको छ । ‘स्याङजा जाने बसहरु पनि पृथ्वीचोक नआएर नागडुंगा हुँदै जानुपर्नेछ,’ पौडेलले भने । स्याङजा र बाग्लुङबाट आएका बस पृथ्वीचोक हुँदै आवतजावत गरेनन् भने स्वत सवारीसाधनको चाप घट्ने जाम पर्ने समस्यामा कमी आउने उनले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया