पाेखरामा ‘नाे स्माेकिङ’ चासाे

समाधान संवाददाता २०७५ पुष २२ गते ११:५४

स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले पोखरालाई सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको दृष्टिले पोखरालाई नमूना शहर बनाउन सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कार्यक्रममा द युनियन एशिया प्रशान्त क्षेत्रका उपनिर्देशक डा तारासिंह बमले सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको क्षेत्रमा प्रभावकारी काम गरेर नमुना शहर बनाउन सुझाव दिए । सुर्तीजन्य पदार्थको नियन्त्रणको क्षेत्रमा काम गर्न एशिया प्रशान्त क्षेत्रका नगरहरुसंग सहकार्य गर्न सुझाव दिदै डा बमले नेपालका नगरपालिकाहरुको तर्फबाट सुर्ती नियन्त्रण सञ्जाल बनाउन सुझाव दिए ।

डा बमले ध्रुमपान रहित शहर बनाउन योजना थाले प्राविधिक रुपमा सहयोग गर्ने घोषणा गरे । ‘सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको दृष्टिले नमूना शहर बनाउने सवालमा सहकार्य गर्न तयार छौं, ’डा बमले भने, ‘स्वस्थ्य नागरिक बस्ने शहर बनाउन कार्य योजना तथा सयन्त्र बनाएर काम गर्नु आवश्यक छ ।’ डा बमले जनप्रतिनिधि सचेत र राजनीतिक प्रतिवद्धता आए सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन प्रभावकारी कार्यान्यन हुने दावी गरे ।

Advertisement

भुटान सुर्तीजन्य पदार्थ मुक्त देश बनेको जानकारी दिदै डा बमले भुटानमा सुर्तीजन्य पदार्थको उत्पादन तथा आयातमा पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताए ।

प्रतिनिधि सभाका सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको अभियान चलाएर च्याम्पियन बन्न पोखरा महानगरपालिकालाई सुझाव दिए । राम्रो सुरुवातले आधा काम सम्पन्न हुने उदाहरण दिदै प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका अधिकारीले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको कानुन कार्यान्वयनमा ध्यान दिन वडा अध्यक्षहरुलाई आग्रह गरे ।

Advertisement

पूर्वमन्त्री अधिकारीले मदिरा नियन्त्रण ऐन बनाउन पर्ने बताए । सुर्तीजन्य पदार्थका उत्पादकहरु धेरै शक्तिशाली भएकोले नीति निर्माणमा समेत प्रभाव पार्न सक्ने उल्लेख गर्दै सांसद अधिकारीले सुर्ती, चुरोटका बट्टामा ९० प्रतिशत चेतावनीयुक्त सन्देश र चित्र राखेको कारण सेवन गर्नेको संख्या घटेको दावी गरे ।

पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीले सुर्तीजन्य पदार्थ तथा अल्कोहललाई नियन्त्रण र व्यवस्थित गर्नमा ध्यान दिने बताए । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनको अनुगमन गर्न वडातहलाई जिम्मेवारी दिने जानकारी दिदै मेयर जिसीले अनुदान जुटाउन भन्दा पनि आफ्नै श्रोत र साधनलाई आधार मानेर काम गर्ने उल्लेख गरे ।

मेयर जिसीले पोखराको परिवेशलाई मध्य नजर राख्दै कार्ययोजना र सयन्त्र बनाएर काम गर्ने बचन दिए ।

कार्यक्रममा स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा प्रवक्ता महेन्दप्रसाद श्रेष्ठ, कानुन शाखाका उपसचिव पुश्कर नेपाल, प्राडा बद्री पौडेलले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि स्थानीय सरकारले सयन्त्र निर्माण गर्नु पर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया