चोरी शिकार नियन्त्रण गर्न सामुदायिक वनलाई प्रतिरोध सामग्री हस्तान्तरण

समाधान संवाददाता २०७५ पुष २४ गते १७:३८

कृष्ण न्यौपाने
दमौली

गैह्र सरकारी संस्था समन्वय समिति दमौलीले जिल्लाका विभिन्न २९ सामुदायिक वनलाई चोरी शिकार प्रतिरोध सामग्री हस्तान्तरण गरेको छ ।

वनबाट हुन सक्ने चोरी शिकार नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्तालाई उत्प्रेरणा जगाउने उद्देश्यले समितिले २९ सामुदायिक वनका ३ सय १९ सदस्यलाई सामग्री हस्तान्तरण गरेको हो ।

Advertisement

हस्तान्तरण गरिएका सामग्रीमा टिसर्ट, टर्च लाइट, रेनकोट, गमबुट लगायत रहेको समन्वय समितिका अध्यक्ष प्रतापसिंह गुरुङले जानकारी दिए । उनका अनुसार १२ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

मंगलबार दमौलीमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सामुदायिक वनको संरक्षण सँगसँगै जीवजन्तुको पनि संरक्षण गर्नु पर्ने बताए । उनले वनबाट जीवजन्तुको चोरी भइरहेकाले नियन्त्रणका लागि स्थानीय तह र स्थानीयवासीको समन्वय हुनु पर्नेमा जोड दिए ।

Advertisement

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले वनबाट हुने चोरी शिकारी नियन्त्रणका लागि सबै सरोकारवाला एकजुट हुनु पर्ने बताउँदै हस्तान्तरण गरिएका सामग्रीले त्यसको लागि उत्प्रेरणा जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले वनजंगलबाट वन्यजन्तु हराउँदै जान थालेपछि जंगली जनावरले मानवलाई आक्रमण गर्ने गरेको बताउँदै चोरी शिकार नियन्त्रणमा जोड दिए । मानिस बाँच्नका लागि जंगली जीवजन्तुको पनि संरक्षण हुनुपर्ने बताउँदै बरालले चोरी शिकारी नियन्त्रण गर्न सकिए मात्रै मानव पनि सुरक्षित रहन सक्ने जानकारी दिए ।

गैह्र सरकारी संस्था समन्वय समितिले हरियो वन कार्यक्रम मार्फत् जिल्लाका विभिन्न ठाउँका २९ सामुदायिक वनमा प्रतिरोध इकाई समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया