बिपीलाई बचाउन गोली थाप्ने योद्धा तारानाथको निधन

समाधान संवाददाता २०७५ पुष २५ गते ९:३४

समाधान सम्वाददाता
पोखरा
पञ्चायतकालको जगजगीविरुद्ध २०३६ को असोज पहिलो साता स्याङ्जाको राङ्खोलामा नेपाली कांग्रेसले आमसभा आयोजना गर्‍यो ।

आमसभामा विपी कोइराला नै सहभागी हुने जानकारी आएपछि लमजुङका तत्कालीन सभापति तारानाथ कोइराला पनि पुगे ।
त्यतिबेला अहिलेजस्तो भेला भएर विरोध जनाउन पाउने अवस्था थिएन ।

पञ्चायती व्यवस्थाका हिमायतीहरु र तत्कालीन राज्य संयन्त्रले आमसभा भाँड्न र नागरिकलाई सहभागी हुन नदिन धेरै प्रपञ्च रचे ।

Advertisement

आमसभा स्थल जाने बाटोमा भीरबाट ढुंगा गुल्ट्याउनेदेखि कुटपिट र झडपका घटनाहरु भए । आमसभा जसरी पनि सफल पार्न भन्दै सबै कष्ट छिचोलेर कांग्रे्रेस नेता, कार्यकर्तादेखि आम सर्वसाधारण उपस्थित भए । आमसभा सफल भयो ।

त्यो समयमा पञ्चायती सरकारले बहुदल वा एकदलीय पञ्चायती व्यवस्था भन्ने निर्णय लिन जनमत संग्रहमा जाने निर्णय गरेको थियो । बहुदलको प्रचार भर्खर सुरु भएको थियो, नेपाली कांग्रेस लमजुङका पूर्व सभापति कृष्णप्रसाद कोइराला भन्छन्, त्यो आमसभा पनि बहुदलीय व्यवस्थाको प्रचार गर्न आयोजना भएको थियो ।

Advertisement

आमसभा सकिएपछि पञ्चायती व्यवस्थाका हिमायती र प्रहरीसँग झडपको अवस्था आयो । विपी कोइराला आमसभाबाट फर्कँदै गर्दा गोली चल्न थाल्यो । विपी कोइरालालाई नै ताकेर गोली चलाउन लागेको देखेपछि तारानाथ उनका अगाडि गएर उभिए ।

प्रहरीले चलाएको गोली उनको खुट्टामा लाग्यो । त्यसयता उनी अपांगताका जीवन बिताइरहेका थिए । २०३३ देखि २०३६ सम्म नेपाली कांग्रेस लमजुङका संस्थापक सभापति तारानाथलाई विपी कोइरालाले नै पार्टीको क्रियाशील सदस्यता दिएका थिए ।

उनको सामाजिक राजनीतिक जीवन यतिमै सीमित छैन । कांग्रेसको युवा संगठन नेपाल तरुण दल लमजुङका संस्थापक अध्यक्ष रहेका तारानाथ गण्डकी छात्र संघका सदस्य, पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दा २०२९ देखि २०३१ सम्म जेल बस्नुपर्‍यो ।

फेरि २०४२ सालको सत्याग्रह आन्दोलनमा जेल बसेका तारानाथ कांग्रेस महासमिति सदस्य, अपांग सहायता कोषका केन्द्रीय सभापति र प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्यसमेत भएका थिए ।

लमजुङको कोइराला फाँटमा जन्मिएका तारानाथ त्यहाँबाट बसाइँ सरेर मध्यनेपाल नगरपालिका दुईपिप्लेमा बस्दै आएका थिए । कांग्रेसले तारानाथलाई ‘प्रजातन्त्र सेनानी’को उपाधिले सम्मान गरेको छ ।

तर उनले पछिल्लो समय कांग्रेसभित्र बिपी विचार मरेको र पार्टीमा पैसा र चाकडी गर्नेको हालीमुहाली भएको भन्दै चिन्ता व्यक्त गरिरहन्थे । गोली लागेर घाइते भएपछि सक्रिय राजनीति छाडेर घरमै जीवन बिताएका उनी बिपीको विचार र सिद्धान्त अ‌ंगीकार नगरे पार्टी चल्न नसक्ने उनको भनाइ रहन्थ्यो ।

आन्द्रासम्बन्धी समस्याका कारण पछिल्लो समय मनिपाल शिक्षण अस्पतालमा उपचाररत थिए तारानाथ । उपचारकै क्रममा बेहोस भएका तारानाथ २४ पुसमा कहिल्यै नफर्कने गरी चिर निन्द्रामा पुगेका छन् ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि लमजुङको मध्यनेपालस्थित दुईपिप्ले लगिएको का‌ंग्रेसका स्थानीय नेता नवराज न्यौपानेले जानकारी दिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई अन्तिम श्रद्धाञ्जली दिएपछि दुईपिप्लेकै सिसाघाटस्थित मादी नदी किनारमा अन्त्येष्टि गरिएको न्यौपानेले बताए ।

यसैबीच, कोइरालाको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदान कांग्रेसको इतिहासमा सदैव स्मरणीय रहने उल्लेख गरेका छन् । उनको निधनबाट पार्टीेले १ कुशल व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन् ।

‘कांग्रेसका क्रियाशील व्यक्तित्व एवं मेरा मित्र तारा कोइरालाको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुखित बनाएको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया