पुतलीबजारका भित्री सडक फराकिलो बनाइँदै

समाधान संवाददाता २०७५ पुष २५ गते १०:०२


अर्जुन काफ्ले
स्याङ्जा

पुतलीबजार नगरपालिका १ भित्रका भित्री सडक फराकिलो बनाउन सुरु गरिएको छ । जिल्ला सदरमुकाम अन्तर्गतका भित्री सडकहरु भत्काउँदै फराकिलो बनाउने काम तीव्ररुपमा अघि बढेको छ ।

सदरमुकामको सहिद चोकबाट बैंक रोड हँुदै जिल्ला प्रशासन, टुँडिखेल, जिल्ला अदालत हुँदै ठाडो लाइन, कारागारदेखि आ“धीखोलासम्म र अभियान पथ, विष्णुपँधेरा हँुदै खेलमैदान मालेबगरसम्मको भित्री सडक फराकिलो पारी पिच गरिने छ ।

सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास कार्यालय पोखराले सडक निर्माणको प्रक्रिया थालेको हो । मन्त्रालयले टेन्डर खोलेर सडक दुवै छेउमा कुलोबनाइ पिच गर्ने जिम्मा गजिन्द्र निर्माण सेवालाई दिएको हो ।
सडक विस्तारका लागि गजिन्द्र निर्माण सेवाबाट रवि पोख्रेल, कृष्ण श्रेष्ठ र दुर्गा पौडेलले जिम्मा लिएर १५ दिनदेखि धमाधम काम भइरहेको छ ।
सडक गजिन्द्र निर्माण सेवाले २८ प्रतिशत छाडेर ३ करोड १७ लाखमा काम सक्नेगरी जिम्मा दिएको हो ।

Advertisement

सदरमुकामको १ किमी ३ सय मिटर मुख्य भित्री सडकमा पर्ने घर, भवन, चौतारा, सरकारी कार्यालयलका पेटी भत्काएर फराकिलो बनाउन थालिएको वडा अध्यक्ष निर्मल शेरचनले बताए । उनले सडक मापदण्ड विपरीत बनाइएका घर तथा भवनका कारण सडक साँघुरो भएकाले भत्काएरै भए पनि सडक फराकिलो पार्न लागिएको बताए ।

सडक साह्रै सा“घुरा भएको बताउँदै शेरचनले लामो समयदेखिको सडक विस्तार तथा राम्रो बनाउन बल्ल सफल भएको बताए ।
नगरपालिकाले नगरभित्र पर्ने प्रगतिनगर बजारतर्फका भित्री सडक भत्काएको बताउँदै शेरचनले सदरमुकामको मुख्य भित्री सडकमा कसैले ध्यान नगएको बताए ।

Advertisement

विकासे अड्डाको अगाडिका सडक बिग्रेको बताउँदै शेरचनले नगरपालिकाले आर्थिक वर्षको अन्त्य र चाडपर्वमा सडक टाल्ने र कालोपत्रे गर्ने गरेको आरोप लगाए । १ वर्षभित्रै सडक निर्माण सक्नेगरी काम सुरु गरिएको निर्माण सेवाको जिम्मा लिएका कृष्ण श्रेष्ठले बताए ।
उनले सहिद चोकदेखि बैंक रोड र जिल्ला प्रशासन कार्यालय आउने सडक नालीबाहेक ७ मिटर हुने बताए ।

ठाडोलाइन, अदालत, कारागार चोक हुँदै आ“धीखोलासम्म जोड्ने सडक नालासहित ६ मिटर कायम रहने छ भने अभियानपथ हुँदै कांग्रेस पार्टी कार्यालयसम्म पुग्ने सडक ५ मिटर कायम रहने श्रेष्ठले बताए ।

विष्णुपँधेरादेखि मालेबगर जाने बाटो पनि यही रकमबाट पिच गरिने छ ।
सडकमा ६७ वटा सोलार बत्ती राखिने बताउँदै श्रेष्ठले मन्त्रालयको निर्देशन अनुसार पटक पटक नबनाउने गरी सडक राम्रोसँग मर्मत गरिने बताए ।

नगरपालिकाले पहिले नै भित्री सडकखण्ड विस्तार गर्ने योजना बनाए पनि स्थानीयले घर भत्किने डरले डोजर लगाउन नदिएको बताउँदै वडा अध्यक्ष शेरचनले सडक विस्तारको लागि स्थानीयवासीले सहयोग गरेको बताए ।
सहरी विकास मन्त्रायको आर्थिक सहयोगमा भित्री सडकमा सडक विस्तार र सोलार जडान गरेपछि सदरमुकाम सोचेभन्दा राम्रो बन्ने शेरचनको विश्वास छ ।

निर्माण सेवाले सडक विस्तारको जिम्मा पाएर तीव्रता दिए पनि गुणस्तरहीन बालुवा र गिट्टी प्रयोग गरेको आरोप स्थानीयले लगाएका छन् ।

यता, निर्माण सेवाको जिम्मा पाएका श्रेष्ठले आंशिक सत्य भएको बताउँदै राम्रो बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

तस्बिरः पुतली बजारको सहिद चोकबाट जिल्ला प्रशासन कार्यालय जाने सडक विस्तार गरिँदै ।

तपाईको प्रतिक्रिया