ताल्चा ठोकी घर, नजाउ राजै सहर

समाधान संवाददाता २०७५ पुष २५ गते १२:४७

अमृत सुवेदी
अधिकांश ढुंगाले छाएका घर । कताकति छन्, टिनका खिया लागेका छाना । घरको पिँढीमा बाबुआमा वा बाजेबजै छैनन् । आँगनमा छैनन्, यताउता गर्ने बालबच्चा । गाउँमै छैनन्, मेलापात वा पानी पधेंरो गर्ने तन्नेरी ।

आँगनको डील वा छेऊछाउबाट आउँदैन फूलको बासना । घरका छानादेखि आँगनसम्मै छन् झारैझार तर ती पनि सुकेर खङग्रङ । घर छेउकै गोठबाट आउँदैन्, कुनै वस्तुभाऊको आवाज । हो, कास्कीको चिप्ली गाउँका सबै घरको अगेनाबाट पहिलेजस्तो धुवाँ उड्दैन ।
चिप्ली गाउँका आधा घर रित्ता छन् । मादी गाउँपालिका वडा नम्बर ६ मा पर्ने चिप्लीबाट पहिलेजस्तो खेताला चिच्याउँदैन् । त्यसैले बाँझिदै गएका गाउँका खेतबारी ।

६० घर रहेको चिप्लीमा पहिलेजस्तो चहलपहल पनि छैन । गाउँका ३१ परिवार घरमा ताल्चा ठोकेर सहर झरेका छन् । गाउँमा जति घर छन्, ती घरका युवा पनि धेरैजसो सहर छन्, कति त परदेश । गाउँका अधिकांश घरका सदस्य कि भारत तथा ब्रिटिस लाहुरे छन् कि वैदेशिक रोजगारीका लागि खाडी पुगेका छन् । बाँकी सहरतिरै छन् र गाउँमा युवा हम्मेसी भेटिन्नन् ।

चिप्लीमा २०५६ सालतिरबाटै बिजुली बल्यो तर अधिकांशले गाउँमा देखेनन् उज्यालो भविष्य । ६० को दशक सुरुतिरै काहुँखोलादेखि चिप्ली हुँदै सिक्लेस ताकेर सडक पुग्यो । अझै पनि गाउँलेले ठम्याएनन् सुविधायुक्त र सुरक्षित जीवनको बाटो ।

गाउँमा पुरानो एकमात्र शिद्ध प्रावि थियो । त्यहाँ न विद्यार्थी टिकिरहे न स्कुल नै रह्यो । डेढ घन्टा तल तप्राङको महारुद्र माविसँग यो विद्यालय मर्ज भयो । अहिले बच्चा पढाउन सबैजसो गाउँले पोखरा नै झर्छन् । यसरी काहुँखोला, थाक, तप्राङ हुँदै २ घन्टामै पुगिने चिप्ली गाउँ चकमन्न भयो ।
पैसा र सुविधाको खोजीमा गाउँबाट धेरै घरपरिवार बसाईं सर्दा गाउँ सुनसान बनेको चिप्ली टोल विकास संस्थाका अध्यक्ष नौबहादुर गुरुङको बुझाइ छ । नेपालका अधिकांश गाउँजस्तै चिप्लीमा पनि सुविधा उक्लिँदै गयो तर पनि गाउँ रित्तिँदै गयो ।

यतिबेला गाउँ पहिलेजस्तै गुल्जार बनाउन तन्नेरीहरु योजना बुनिरहेका छन् । सहरबाट युवा गाउँमा फर्केर पर्यटक बोलाउने र स्वागत गर्ने उपाय खोज्न थालेका छन् । अरु जिल्लाबाटै मान्छे झिकाएर भए पनि घर खाली नराख्न गाउँले कस्सिएका छन् । उ बेलाको जस्तो रोधीको रौनक होला, नहोला, सांकृतिक कार्यक्रम गर्न युवा जुटेका छन् । गाउँका आमाबाहरू समेत जागरुक बनेका छन् ।

होमस्टे चलाउने, गाउँकै अर्गानिक पस्कने
चिप्लीको बाटो हुँदै हुल बाँधेर पर्यटक सिक्लेस पुग्छन् । सिक्लेस पारीपट्टिको गाउँ ताङतिङ पनि पाहुनाले भरिन्छ । याङ्जाकोट पनि पर्यटकको रोजाइमा पर्छ । आसपासका गाउँ पर्यटकले भरिँदा चिप्ली भने चकमन्नै रह्यो । अब होमस्टे चलाएर आफ्नै बारीमा फलेको अर्गानिक स्वाद पस्कन थालेको छ चिप्ली ।

चिप्लीले होमस्टेमा पाहुना राख्न थालेको छ । गाउँमा युवा फर्काएर होमस्टे चलाउने र पाहुना बोलाउने थालनी यसै महिनादेखि भएको छ । ७ घरबाट सुरु भएको होमस्टे यतिमै खुम्याउने पक्षमा छैनन् गाउँले । अहिले ३० जना पर्यटक होमस्टेमा बस्न सक्छन् । त्योभन्दा बढी आए होमस्टे नचलाइएका घरले पनि स्वागत गर्छन् ।

पर्यटक बढेसँगै पाहुना राख्ने घर पनि बढाउँदै लैजाने योजना सुनाउँछन्, सिद्ध युवा क्लबका अध्यक्ष विशाल गुरुङ । पोखरामा बस्ने विशाल आफूजस्तै अरु युवालाई पनि फर्काउने योजनासहित गाउँलेमा ऊर्जा थपिरहेका छन् ।

‘रोजगारी र सुविधाको खोजीमा गाउँ रित्तिँदै गयो । अब उनीहरुलाई कसरी गाउँ फर्काउन सकिन्छ भनेरै क्लब गठन गरेका हौं,’ विशाल भन्छन् । धनकुमारी गुरुङको नेतृत्वमा चिप्ली सामुदायिक होमस्ट दर्ता भएको छ । महिलाले नेतृत्व गरेको होमस्टे चलाउन महिला नै उत्साही छन् । ‘गाउँका आएका पाहुनालाई सके जति राम्रो स्वागत गर्ने र धेरैभन्दा धेरै पर्याटक ल्याएर गाउँलाई स्वर्ग मनाउने हो,’ अध्यक्ष धनकुमारीले एकै सासमा सपना बोलिन् ।

गाउँ आएका पाहुनलाई बारीमा फलेको अर्गानिक तरकारी खुवाइने सचिव बालकुमारी गुरुङले बताइन् । चिप्लीमा आलु राम्रो फल्छ । पहिले गाउँको आलु पाहुनालाई बाँडेरै सकिन्थ्यो । अब उत्पादन बढाउने र होमस्टेका लागि प्रयोग गर्ने योजना गाउँलेको छ ।

चिप्लीमा साग राम्रो फस्टाउँछ, गाउँले बताउँछन् । सिमी, गोलभेडा फल्छ । गाउँ नजिकैको खोलामा असला माछासमेत पाइन्छ । अब त्यहाँको चिसो पानीमा ट्राउट माछा पाल्ने योजना क्लबका अध्यक्ष विशालले सुनाए । गाउँको लोकल कुखुराको मासु पाहुनाले खान पाउने छन् । उत्पादनसँग जोडेर कसरी युवालाई गाउँ फर्काउन सकिन्छ भनेर आफू लागेको उनी बताउँछन् । गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँसम्म होमस्टेलाई दिने खबरसँगै उनीहरुले त्यसका लागि प्रस्ताव हालेका छन् । सरकारबाट अनुदान पाउनेमा गाउँले ढुक्क छन् ।

चिप्लीमा बास, तारा हिलसम्म वाकिङ
पहिले चिप्ली गाउँमुन्तिरको खेतमा विदेशी टेन्ट टाँगेर बसेको याद गाउँलेमा ताजै छ । तर, अहिले त्यहाँ न सेता टेन्ट देखिन्छन् न पर्यटक । चिप्लीमा टेन्ट टाँगी बास बसेर जाने पर्यटकको पदमार्ग मोटर बाटोले खाइदियो । अहिले गाउँदेखि ३ घन्टामा पुगिने तारा हिलटपसम्म पर्यटक पुर्‍याउने योजना गाउँलेले बनिरहेका छन् ।

चिप्लीदेखि सिक्लेस–घलेखर्क ट्रेकमा पर्ने तारा हिलटप पुग्ने पदमार्ग विकास गर्न सके उत्कृष्ट गन्तव्य बन्ने आशा क्लबका अध्यक्ष विशालको छ । यो पदयात्रा मार्गको अध्ययनसमेत भइसकेको उनले सुनाए । हिल टपबाट आँखै अगाडि हिमाल, पोखरा बजार र आसपासको सुन्दर दृश्यावलोन देखिन्छ ।

हिल टप पुग्न अन्य गाउँबाटभन्दा चिप्लीबाट नजिक पर्ने भएकाले ती गाउँको समन्वयमा पर्यटक बोलाउने योजना गाउँलेको छ । पछिल्लो हप्ता पुछारसिटे अभियानका एक हुल युवा चिप्ली गाउँ पुगे । अभियानका सल्लाहकार डा. वसन्त गौतम भन्छन्, ‘गाउँको सत्कार, अर्गानिक खानाले पर्यटकको मन लोभ्याउँछ । त्यहाँबाट अर्को प्रोडक्टलाई पनि जोड्ने हो भने यहाँ धेरै पर्यटक आउन सक्छन् ।’

श्रीराम अधिकारीको नेतृत्वमा चिप्ली पुगेका युवा गाउँको सम्भावनालाई सिर्जनामा उतारेर फर्के । ‘चिप्लीको कथाजस्तै नेपालका अधिकांश गाउँको कथा छ । अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे चलाउन सके पर्यटक आकर्षित हुने छन्,’ गाउँमा होमस्टे चलाएर पर्यटक बोलाउने र युवा फर्काउने योजना बनिरहेका आमाहरु भन्दै छन्, ‘ताल्चा ठोकी घर, नजाऊ कान्छा सहर ।’

तपाईको प्रतिक्रिया