श्रृंखला खतिवडा बनिन् नेपाल-फ्रान्स सम्बन्धकी सदभावना दूत

समाधान संवाददाता २०७५ पुष २६ गते १३:५६

आउँदो अप्रिलमा नेपाल र युरोपेली मुलुक फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ७० पुग्दैछ । दौत्य सम्बन्धको ७०औं वर्षगाँठलाई काठमाडौंस्थित फ्रान्सेली दूतावास र परराष्ट्र मन्त्रालयले सन् २०१९ भरी नै विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

यसै सन्दर्भमा फ्रान्सेली विदेश सचिव मोरिस गर्दो मोन्तान बुधबार काठमाडौं आएका छन् । परराष्ट्र सचिव शंकरदास बैरागी र मोन्तानबीच आजै दुई पक्षीय बैठक भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुबै सचिवले विभिन्न कार्यक्रम गरी ७०औं वर्षगाँठ बनाउने विषयमा छलफल गरेका छन् ।

उक्त बैठकले मिस नेपाल श्रृखला खतिवडालाई नेपाल-फ्रान्स ७०औं वार्षिकोत्सवकी सदभावना दूत नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मिस वर्ल्डको अन्तिम १२सम्म पुगेकी श्रृंखलालाई आजै वैरागी र मोन्तानले सद्भावना दूतको प्रमाणपत्र दिएका छन् ।

Advertisement

सद्भावना दूत भएर श्रृंखलाले नेपाल-फ्रान्स सम्बन्धबारे सद्भाव, मित्रता र सहयोगको सन्देश विशेष गरी धेरै यूवा पुस्तामा पुर्‍याउने विश्वास गरिएको परराष्ट्रले जनाएको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा इकोल भिक्टर ह्युगो मञ्जुश्री विद्यापीठका विद्यार्थी आयुस कुँवरले तयार पारेको वर्षगाँठको लोगो पनि सार्वजनिक गरिएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै सचिव वैरागीले फ्रान्सले नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न चाहेको बताए । फ्रान्सका विदेश सचिव मोन्तानले दुई मुलुकबीचको साझा हितको विविध विषयमा खुला छलफल गरिएको प्रतिक्रिया दिए ।

Advertisement

उनले नेपालको पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा लगानी गर्न आफ्नो मुलुक इच्छुक रहेको पनि जानकारी दिए । बैठकमा नेपाली पक्षले नेपालको पर्यटन, उर्जा, व्यापार, सूचना तथा प्रविधि, जलवायु परिवर्तनको क्षेत्रमा लगानी गर्न फ्रान्ससँग आग्रह गरेको थियो।

तपाईको प्रतिक्रिया