नेपाली कामदार भित्राउने यस्ताे छ जापानी तयारी

समाधान संवाददाता २०७५ पुष २६ गते १६:४६

समाधान सम्वाददाता

विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउने नीति पारित गरेपछि आगामी पाँच वर्षमा जापानले झन्डै तीन ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ ।

न‌ीतिअनुसार विदेशी कामदारले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउनेछन् । जापानले ब्यवसायिक ज्ञान र उच्च तहको सीप भएकालाई मात्र काम गर्न अनुमति प्रदान गर्ने विदेशी कामदार सम्बन्धी नीति अपनाएको थियो । तर, पुष १० गते विवादकाबीच जापानको संसद्ले देशमा कामदारको अभाव सहज बनाउन हजारौं विदेशी भित्र्याउने एउटा कानून अनुमोदन गरेको थियो ।

Advertisement

त्यसो त जापानको अध्यागमन नीति कडा मानिन्छ। तर, सरकारले देशको जनसङ्ख्यामा बृद्धहरूको सङ्ख्या बढिरहेको भन्दै विदेशीको खाँचो परेको नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने निर्णय गरेको हो । घट्दो जन्मदरसँगै कामदार अभावको गहिरो संकट झेलिरहेको जापानले नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट कामदार लिने भएको छ ।

जापानले विदेशी कामदार भित्र्याउने उद्देश्यले घोषणा गरेको नीतिगत प्याकेजअन्तर्गत जापानका विभिन्न स्थानमा नेपालीसहित ११ वटा भाषामा सहायता प्रदान गर्न सय वटाभन्दा बढी परामर्श केन्द्र खोल्ने घोषणा गरिसकेको छ ।

Advertisement

त्यस्तै विदेशी कामदारलाई जापानी भाषा सिकाउन ६० करोड युआन बजेट छुट्याएको छ । जापानले पहिलो ५ वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालनलगायत १४ वटा औद्योगिक क्षेत्रमा काम गर्ने अनुमति दिने योजना अघि सारेको छ । नयाँ कानुन अनुसार जापानले कामदारको सीप र विज्ञताको आधारमा दुई थरी प्रवेशाज्ञाको व्यवस्था गरेको छ।

पहिलो व्यवस्थाअनुसार जापानी भाषाको जानकारी र निश्चित स्तरको दक्षता भएका कामदारले पाँच वर्षको लागि अनुमति पाउनेछन्। उच्च स्तरको दक्षता भएका कामदारहरू प्रवेशाज्ञासम्बन्धी दोस्रो व्यवस्था अन्तर्गत पर्ने छन्। उनीहरूले आवासीय आवेदन दिन समेत अनुमति पाउन सक्छन्।

पहिलो व्यवस्थाअनुसार जापान जानेले ५ वर्ष बस्न पाउनेछन्, तर उनीहरुले परिवार लान भने पाउने छैनन् । दोस्रो व्यवस्था अनुसार जापान जानेले प्रवेशाज्ञा पटकपटक नविकरण गर्न पाउनेछन् र उनीले परिवार पनि लान सक्नेछन् ।

श्रमका लागि विदेश जान चाहने नेपाली कामदारहरुले पनि अगामी बैशाखदेखि जापानी भाषाको परिक्षा उतीर्ण गरेर जापान जान सक्नेछन् । जापान नेपालीहरूको निम्ति पनि रोजगारीको एउटा आकर्षक गन्तव्य मानिन्छ।

तपाईको प्रतिक्रिया