म्याग्दीको रघुगंगावासीलाई गाउमै सिंहदरबारकाे झल्काे

समाधान संवाददाता २०७५ पुष २७ गते ८:१०

राकेश शर्मा
म्याग्दी

स्थानीय तहको चुनाव प्रचारका क्रममा ‘गाउँगाउँमा सिंहदरबार’ नारा निकै सुनियो । यही नारालाई चरितार्थ गर्दै म्याग्दीको रघुगंगा गाउँपालिकाले घुम्ती शिविरमार्फत् जनतालाई घरदैलोमै सेवा दिन थालेको हो ।

गाउँपालिकाका ज्येष्ठ नागरिक, अपांगता परिचय पत्र, वडाका योजनाको सम्झौता, सम्पन्न भएको योजनाको भुक्तानी, योजनाको लागि आवश्यक पर्ने बैंक खाता खोल्ने लगायत सेवा दिँदै आएको छ । ८ वडा रहेको गाउँपालिकामा महिनैपिच्चे एउटा वडामा घुम्ती शिविर सञ्चालन हुँदै आएको छ ।

Advertisement

बिहीबार पालिकाको वडा नम्बर– ५, झिँमा र ६ को पाखापानीमा भएको कार्यक्रममा ७ वडा योजनाको सम्झौता, ७ वडा योजनाको बैंक खाता सञ्चालन सेवा दिइएको छ । बिहीबारै ९४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ११ वटा अपांगता परिचय वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

झिँमा गाउँपालिकाको टोलीले वडा रहेको गाउँदेखि पर्यटकीय स्थल टोड्ने जाने सडक मर्मत गरेवापतको अन्तिम किस्ता २ लाख २१ हजार रुपैयाँको चेक समेत गाउँमा नै पुगेर उपभोक्ता समितिलाई हस्तातरण गरिएको छ ।
गाउँमा नै सरकारी सेवा सुविधा पाएपछि गाउँका स्थानीय खुसी भएका छन् ।

Advertisement

दुर्गमका बासिन्दाको सेवा सुविधाको लागि गाउँपालिकाले शनिबार समेत बेला बेलामा वडामा गएर सेवा दिँदै आएको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताए । आयोजनाको चेक झिँ गाउँमा नै पुगेर हस्तातरण गर्दै भण्डारीले जनताको सेवा सुविधाका लागि स्थानीय सरकार आएको बताए । ‘हामीले अहिले जनताको सेवाका लागि शनिबार पनि भनेका छैनौं,’ उनले भने । गाउँपालिकालाई खोलाले २ भागमा विभाजन गरेको छ ।

१ ठाउँका जनतालाई मात्र सेवा दिएर हुँदैन भनेर आफूहरुले घुम्ती शिविर चलाएको अध्यक्ष भण्डारीले बताए । स्थानीयको सुविधाका लागि बैंकले गाउँपालिकाको टोलीसँगै गाउँ गाउँमा खाता सञ्चालन, भुक्तानी लगायतका काम गर्दै आएकोे प्रभु बैंक रघुगंगा शाखाका प्रबन्धक उमाशंकर सापकोटाले बताए ।

सामान्य काम लिन पनि २ दिन लगाएर सदरमुकाम र गाउँपालिकामा जानुपर्ने वाध्यता गाउँपालिका अन्त्य गरिएदिएको स्थानीय रामकुमारी थकालीले बताइन । ‘गाउँमा ७० देखि ९० वर्ष उमेरका ज्येष्ठ नागरिक धेरै नै छन्, उनीहरु परिचयपत्र बनाउन जान सकेका थिएनन्, घरदैलोमै सेवा पाएपछि सजिलो भएको छ,’ उनले भनिन् ।

गाउँपालिकाका अध्यक्ष भण्डारीले पाउने आफूले पाउने सेवा सुविधाको रकमबाट ५ परिवारको स्वास्थ्य बिमा समेत गरिदिएका छन् । गाउँपालिकामा रहेका असक्त, गरिब परिवारलाई स्वास्थ्य उपचारमा सहयोग पुगोस भनेर आफूले पाउने सेवा सुविधाबाट स्वास्थ्य बिमा गरिदिएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया