सपना जुलोजिकल पार्कको

समाधान संवाददाता २०७५ पुष २७ गते ११:४१


– ०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिडियाखानाको एक समारोहबीच शिलान्यास गरेपछि युनाइटेड क्लबले महोत्सवको आयोजना गरी चिडियाखाना निर्माणको उद्देश्यले बामे सर्ने बाटो खुल्यो ।

गीता रानामगर
अमरसिंह चोक आसपासका जुझारु युवाको सक्रियतामा २०६७ सालमा युनाइटेड क्लब स्थापना भयो । स्थापनाकालदेखि पोखराको अमरसिंह माविको खेल मैदानमा पोखरा महोत्सव गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका काम गर्दै आएको छ । नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमीसहित सेती नदी संरक्षणमा काम गर्दै आएको क्लबले नवाैँ महोत्सवसम्म आइपुग्दा छुट्टटै छवि बनाउन सफल भएको छ ।

विसं २०६६ चैत ७ गते अमरसिंह चोकका राजेन्द्रबहादुर थापाको अध्यक्षतामा अमरसिंह आसपासका करिब सय जना जुझारु युवाको बृहत भेलाले हिमालय बख्रेल अध्यक्ष रहने गरी ११ सदस्य संस्थापक समिति गठन भएको थियो । उक्त संस्थापक समितिको उपाध्यक्षमा राजेन्द्रबहादुर थापा, सचिवमा सुकबहादुर गुरुङ, सह सचिव सन्तोष सिग्देल, कोषाध्यक्ष रवि शर्मा थिए । सदस्यमा सीमा गुरुङ (राई), सन्तोष कार्की, शान्ताबहादुर थापा, प्रतीक थापामगर, दीपकमान गुरुङ र कृष्णबहादुर मगर थिए ।

चैत महिनाको ७ गते संस्थाको गठन गरेपछि विसं २०६७ वैशाख ७ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भइ पुसको अन्तिम सातादेखि पहिलो पोखरा महोत्सव सुरुआत भएको हो । नवाैँ महोत्सवसम्म आइपुग्दा यसले सदस्य संख्यामा समेत बृद्धि गर्दै अमरसिंहमा मात्र सीमित नभइ समग्र पोखरालाई समेट्ने गरी सदस्यता वितरण गरेको छ । क्लबमा हाल आजीवन १ सय ५३ सदस्य आवद्ध छन् ।

Advertisement

युनाइटेड क्लबले स्थापनाकालदेखिनै शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित जेहन्दार र गरिब बालबालिकालाई लक्ष्य गरी छात्रवृत्ति कोष स्थापना गर्दै आएको छ । विभिन्न विद्यालयमा विद्यार्थीलाई पोसाक, शैक्षिक सामग्री, कम्प्युटर जस्ता सामग्री प्रदान गर्दै आएको छ । कास्की र तनहुँ जिल्लामा रहेका १२ वटा सरकारी विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको छ । क्लबले छुट्टै १० लाखको शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । प्रत्येक महोत्सवको आम्दानीको १५ प्रतिशत रकम थप हुँदै जान्छ ।

आगामी दिनमा पनि शिक्षा कार्यक्रम अन्तर्गत यसलाई निरन्तरता दिँदै गरिब तथा जेहेन्दार विद्यार्थीका लागि वैज्ञानिक शिक्षा सामुदायिक विद्यालयसँग सहकार्य गरी सञ्चालनमा ल्याउने योजना छ ।

Advertisement

त्यसैगरी स्वास्थ्य कार्यक्रम अन्तर्गत आर्थिक अभावका कारणले अस्पतालको बेडमा मृत्युसँग जुध्दै गरेका बिरामीलाई आर्थिक सहयोग गर्दै आइरहेको छ । क्लबले हालसम २० जनाभन्दा बिरामीलाई सहयोग गरिसकेको छ । दुर्गम भेगमा रहेका गाउँ, जहाँका नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित छन्, उनीहरुका लागि प्रयोगशालासहितको बृहत स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ । गरिब तथा असहायहरुलाई लक्ष्य गरी स्वास्थ्य कार्यक्रम अन्तर्गत १० लाखको स्वास्थ्य अक्षयकोष स्थापना भइसकेको छ भने नवौं पोखरा महोत्सवको आम्दानीबाट १५ प्रतिशत रकम थप हुने छ ।

क्लबले युवाहरुलाई कुलतमा लाग्न नदिनका लागि खेलकुदका गतिविधिसमेत सञ्चालन गर्दै आएको छ । सुरुआतदेखिनै खेलकुद क्षेत्रमा क्लबले काम गर्दै आइरहँदा हालसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता र राष्ट्रियस्तरको बास्केटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ । प्रतियोगितासँगै पोखरा र आसपासमा हुने स्थानीय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा आर्थिक सहयोग र प्रवद्र्धकको रुपमा रही काम गर्दै आएको छ । क्लबले निकट भविष्यमा आफ्नै खेलकुद एकेडेमी सञ्चालन गर्ने समेत सोच राखेको छ ।

क्लबले महोत्सवलाई निरन्तरता दिँदै जाँदा विगतमा लोडसेडिङको मार र भित्री सडकहरुमा हुने विकृति न्यूनीकरण गर्ने उद्देश्यले पोखराका विभिन्न टोलमा १ सय ५० थान सौर्य बत्ती जडान गरिसकेको छ । भने हाल लोडसेडिङको अन्त्यसँगै यो कार्यलाई क्लबले स्थगित गरेको छ । क्लबले सामाजिक कामसँगै पोखराबीच भएर बग्ने सेती नदी दिन प्रतिदिन फोहोर हुँदै जाँदा क्लब पदाधिकारीको मन छोयो । सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले छैटांै महोत्सवदेखि प्रत्येक टिकटबाट १ रुपैयाँ छुट्याइ सेती संरक्षण अभियानमा जुटेका छन् ।

हालसम्म सेती संरक्षण अभियान अन्तर्गत सेती नदी खोच सरसफाइ गरी सेती नदीसँगै बृद्धचोकदेखि पृथ्वीचोक जोड्ने चाइना पुलमा हुने दुर्घटनासँगै फोहोरमैला फ्याल्नेको पहिचान गर्न ४ थान सिसी क्यामेरा जोडी कास्की प्रहरीलाई हस्तान्तरण गरिसकेको छ । यो कार्यलाई पनि आगामी दिनमा निरन्तरता दिने क्लबको उद्देश्य छ ।
……..
०७२ को साल वैशाख १२ गते गएको भूकम्पमा सबैभन्दा पहिला एक ट्रक खाद्यान्न सामाग्री पोखरा विमानस्थल मार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाउन तत्कालीन क्षेत्रीय प्रशासकीय अधिकृत रामजीप्रसाद कोइरालालाई हस्तान्तरण गरिएको थियो भने उक्त समयमा गोर्खाको घ्याम्पेसालमाथि देउराली भञ्ज्याङ गाउँमा पुगि राहत सामग्रीसमेत प्रदान गरेको थियो । क्लबले यस्तै विपदहरुलाई मध्येनजर गरी आफ्नो छुट्टै विपद व्यवस्थापन कोषसमेत स्थापना गरी अगाडि बढेको छ ।

युनाइटेड क्लबले पोखरा महोत्सवकै आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुदसँगै नयाँ पर्यटकीय गन्तव्य स्थल चिडियाखाना निर्माणमा पहलकदमी गर्दै नवौ पोखरा महोत्सवसम्म आइपुग्दा लेखनाथमा चिडियाखाना जुलोजिकल पार्क निर्माणको काम तीव्र रुपमा अगाडि बढाएको छ । महोत्सवको आयोजना गरी बचेको रकम साविकको जिल्ला विकास समिती कास्कीका स्थानीय विकास अधिकारी, ईश्वरीप्रसाद पौडेल र हिमालय बख्रेलको संयुक्त दस्तखतमा पोखराको हिमालयन बैंकमा बैंक खाता स्थापना गरी वर्षेनी महोत्सवको आम्दानीको २० प्रतिशत रकम जम्मा गर्न थालेको छ ।

क्लबले पोखरामा खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाइरहँदा तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले ०७१ पुसको २३ गते बृहत भेला राखेर पोखरा उपत्यका बृहत्तर विकास निर्माण गरी अन्तर्राष्ट्रिय सहरको रुपमा विकास गर्ने उद्देश्यले विभिन्न क्षेत्रका अगुवा, सरकारी निकायका प्रमुख, उद्योगी तथा व्यवसायी, समाजसेवी एवं विज्ञ, नागरिक समाज, पत्रकार तथा बुद्धिजिवीलगायतको उपस्थितिमा सम्पन्न बैठकले युनाइटेड क्लबका तत्कालीन अध्यक्ष हिमालय बख्रेललाई पोखरा चिडियाखानाको संयोजक तोकी चिडियाखाना निर्माणको काम सुरु गरेको हो ।

त्यसपश्चात् चिडियाखाना निर्माणको जिम्मा पाएको बख्रेलले क्लबका पदाधिकारी, जिल्ला वन कार्यालयका वन अधिकृत प्रभात सापकोटा, अन्नपूर्ण संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्वबहादुर गुरुङ, वन विज्ञान अध्ययन संस्थान पोखराका प्रध्यापक, हाल पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी सहितको टोली पोखराका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनहरुमा चिडियाखाना निर्माणको लागि सम्भावना खोजी गर्दै अगाडि बढ्यो ।

सोही क्रममा तत्कालीन लेखनाथ नगरपालिकाको पचभैया सामुदायिक वन, चैनपुर सामुदायिक वन र चायापानी चिसाकुना सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टर वनलाई छनौट गरियो । वन छनौट भए पश्चात् विसं ०७१ माघ १७ गते पचभैया सामुदायिक वनका तत्कालीन अध्यक्ष मोहनबहादुर घिमिरे, चायापानी चिसाकुना सामुदायिक वनका अध्यक्ष विष्णु पोख्रेल, चैनपुर सामुदायिक वनका अध्यक्ष अग्निदत्त रिमाल, पचभैया प्रगतिशिल मञ्च, पर्यटन व्यवसायी दामोदर भक्त थापा, समाजसेवी शंकरनाथ पौडेल, लेखनाथ नगरपालिका भित्रका सरोकारवाला संघसस्था एवं सरकारी निकायबीच छलफल भयो ।

युनाइटेड क्लबका तत्कालीन अध्यक्ष तथा चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलको अध्यक्षता र तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय निर्देशक दिनेश थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले उक्त क्षेत्रमा अत्याधुनिक तथा प्राकृतिक चिडियाखाना निर्माण गर्ने सर्वसम्मत निर्णय भयो ।

त्यस पश्चात् विसं ०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिडियाखानाको एक समारोहबीच सिलान्यास गरेपछि युनाइटेड क्लबले महोत्सवको आयोजना गरी चिडियाखाना निर्माणको उद्देश्यले बामे सर्ने बाटो खुल्यो ।

यो सँगै युनाइटेड क्लबको रकम र साविक लेखनाथ नगरपालिकाको १० लाख नगद सहयोगले पोखरा आसपासमा घाइते अवस्थामा भेटिने वन्यजन्तुलाई उद्धार गर्ने उद्देश्यले इनक्लोजर, ढलान बाटो र कर्मचारी आवास भवन निर्माण सम्पन्न भयो । त्यसको लगतै पोखरा महानगरपालिकाले ३४ लाख रुपैयाँ विनियोजन गरी उक्त रकमले मृगस्थली र थप ढलान बाटो निर्माण सम्पन्न भयो ।

निर्माणलाई निरन्तरता दिँदै साविकको जिल्ला वन कार्यालय कास्कीका जिल्ला वन अधिकृत केदार बरालको पहलमा २४ लाखको अनुदानमा २ वटा चितुवाको इनक्लोजर निर्माण सम्पन्न भइसकेको छ । उक्त वन्यजन्तु उद्धार केन्द्रमा सुरुमा जिल्ला वन कार्यालयमा राखिएको १ थान घाइते मृगलाई लगेर राखियो भने लेकसाइडमा प्याराहकिङ गर्ने ३ वटा इजिप्सियन भल्चरलाई उद्धार गरी राखियो । उद्धारकै क्रम अघि बढ्दै जाँदा हाल केन्द्रमा अजिंगर, लाटोकोसेरो, चित्तल मृग, निलगाई, हुचिल, रतुवा मृग, श्याल, वन विरालो, खेल देखाउँदै भारतीय मुलका नागरिकले राख्ने गरेको मदारी बाँदर, कछुवा, सिबेट लगायतका वन्यजन्तु छन् ।

क्लबले ८ औं संस्करणको पोखरा महोत्सवलाई भव्यताका साथ सफल गरेर अगाडि बढिरहँदा ४५ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ । विगतमा उक्त ठाउँलाई पोखरा चिडियाखाना भनेर निर्माण कार्य अगाडि बढिरहँदा हाल आएर खुल्ला चिडियाखानाको अवधारणा अनुसार उक्त नामलाई परिवर्तन गरी पोखरा जुलोजिकल पार्क नाम दर्ता गरी कार्य अगाडि बढाउँदै आएको छ ।

हाल उक्त स्थानमा गण्डकी प्रदेश सरकारले आफ्नै गौरवको योजना ठानी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालय गण्डकी प्रदेश पोखराको प्रत्यक्ष निगरानीमा १ करोड ५० लाखको लागतमा चराको इनक्लोजर १, मृगको ठूलो इनक्लोजर ब्लक १, वन्यजन्तुको लागि पानी ट्याङ्की १, घाइते वन्यजन्तुको उपचार कक्ष १, बाँदरको इनक्लोजर १, विरामी तथा घाइते वन्यजन्तु बोक्ने स्ट्रेचर १, विभिन्न इनक्लोजरसम्म पुग्ने गोरेटो बाटो, हिमालयन थारको इनक्लोजर १, भालुको इनक्लोजर १ र उक्त क्षेत्रमा प्रवेश गर्ने प्रवेशद्धार निर्माणको लागि काम अगाडि बढिसकेको छ भने १ सय ३४ हेक्टर भित्रै विभिन्न वन्यजन्तुहरुको लागि प्राकृतिक बासस्थान अनुकूल हुने गरी विस्तृत अध्ययनका प्रतिवेदन (डिपिआर) का लागि १ करोड ५० लाख पनि गण्डकी प्रदेश सरकारले विनियोजन गरिसकेको छ ।

यसरी आगामी असोज भित्रमा हाल जारी रहेको विकास निर्माणको काम सम्पन्न भइसक्ने उद्देश्य रहेको छ भने पुस २७ देखि माघ ८ गते सम्मका लागि उक्त स्थान अवलोकनको लागि युनाइटेड क्लबले महोत्सवस्थलबाट पर्यटकलाई निशुल्क बस सेवाको व्यवस्था मिलाएको छ । हाल निर्माण काम सम्पन्न भएपछि असोजदेखि सर्वसाधारणका लागि उक्त स्थान खुल्ला गरी अवलोकन गर्ने व्यवस्था गरिएको छ । पर्यटकीय सहर पोखरामा नयाँ पर्यटकीय गन्तव्य स्थल र अध्ययन केन्द्र बन्नेमा कुनै दुईमत छैन । क्लबको अभियान सामुदायिक वनको सहयोगले गण्डकी प्रदेशकै नमुना पर्यटकीय गन्तव्य पोखरा जुलोजिकल पार्क बन्ने पक्का भएको छ ।

तपाईको प्रतिक्रिया