प्रदेश कार्यालयमा न पर्याप्त कर्मचारी न काममा अख्तियारी

समाधान संवाददाता २०७५ पुष २९ गते १२:५२

सुन्दरकुमार थकाली
जोमसोम

Advertisement

सरकारले मुस्ताङमा खोलेका प्रदेश कार्यालय सुनसान छन् । कर्मचारीविहीन हुँदा तिनले सेवा दिन सकेका छैनन् । प्रदेशले यहाँ ४ कार्यालय सुरु गरेको थियो ।

प्रदेशले यहाँ कृषि ज्ञाान केन्द्र इकाई, जिल्ला डिभिजन वन, पशुसेवा विज्ञ केन्द्र इकाइ र जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय खोलेको छ । साविक कृषि विकास कार्यालयमा खुलेको कृषि ज्ञान केन्द्रमा एक जना कार्यालय सहयोगीमात्र छन् । प्रदेशले म्याग्दी र मुस्ताङलाई समेट्ने गरी इकाई सुरु गरेको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दी कार्यक्षेत्रका वागबानी विकास अधिकृत भोजबहादुर थापाका अनुसार म्याग्दी र मुस्ताङमा १६ जना कर्मचारीको दरबन्दी छ । उनले म्याग्दीमा जम्मा ६ जनामात्र कर्मचारी रहेको खुलाए । ‘यहाँ पनि कर्मचारी छैनन्, कर्मचारी समायोज भइसकेको छैन,’ उनले भने, ‘यहाँको कर्मचारीको रिक्त दरबन्दी पुरा नभएसम्म मुस्ताङमा कर्मचारी पठाउन गाह्रो छ ।’ मुस्ताङका लागि ४ जनाको दरबन्दी हुन सक्ने उनले बताए ।

प्रदेशले कृषि ज्ञान केन्द्र सुरुवात गरे पनि कृषिको कुनै वैज्ञानिक वा विज्ञको उपस्थिति मुस्ताङमा छैन । कार्यालय सहयोगी एक्लैले कार्यालय कुरेर दिन बिताउँछन् । जोमसोमका किसान अजीत थकालीले भने, ‘मुस्ताङमा कृषि ज्ञान केन्द्र स्थापन हुनु राम्रो सुरुवात भए पनि विज्ञसहित अन्य कर्मचारी नहँुदा अन्योल बनेको छ ।’

Advertisement

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको हालत पनि उस्तै छ । उक्त कार्यालयमा पुग्दा सेवाग्राहीले एकजना पनि कर्मचारी देख्न पाउँदैनन् । यसको सम्पर्क कार्यालय पनि म्याग्दीमै छ । कार्यालय उद्घाटन गरिए पनि हाल यसले दिने सेवा भने शून्य छ ।

संघीय संरचना लागु भएपछि यहाँका किसान सेवाबाट विमुख भएको स्थानीय पशुपालक किसान अजीत थकालीको भनाइ छ । पशु परामर्श तथा उपचारका लागि कार्यालय पुग्दा सेवाग्राही निरास हुँदै फर्कन बाध्य भएको उनले उल्लेख गरे । ‘कार्यालयमा एकजना कर्मचारी छैनन्, साइन बोर्ड झुन्ड्याएर मात्र के फाइदा,’ उनले भने ।

साविक जिल्ला भू—संरक्षण कार्यालय खारेज गरेर प्रदेश सरकारले जोमसोममा वन डिभिजन कार्यालय स्थापन गरेको ग¥यो । तर, कार्यालयले वन संरक्षणको अख्तियारी पाएको छैन । मुस्ताङमा वन कार्यालय पहिलोपटक स्थापना गरिएको हो । हिमाली जिल्ला मुस्ताङ अन्नपूर्ण संरक्षित क्षेत्र अन्तर्गत पर्छ । वन सम्पदा तथा वनको रेखदेख र कार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले गर्ने इलाका संरक्षण क्षेत्र जोमसोमकी रेन्जर धनु गुरुङले बताइन् ।

एक्यापको क्षेत्राधिकार कटौती नगरी कार्यालय स्थापना भएको हो । एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण समिति सहायक सुरेश थापाले हाल वनको रेखदेख एक्यापले नै गर्ने बताए । ‘एक्यापको बन हेर्ने क्षेत्रअधिकार कटौती भएको छैन, वन कार्यालय यहाँ स्थापना भएको छ,’ उनले भने, ‘प्रदेशले वनको अख्तियार वन कार्यालयलाई दिएको पत्र आए, हामी पछि हट्छौं, अहिलेसम्म संरक्षित क्षेत्रका वनहरु एक्यापकै निगरानी छ ।’

वन कार्यालयमा २ जनामात्र कर्मचारी छन् । तर, गतिविधि शून्य छ । प्रदेश सरकार मार्फत स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालयको हालत पनि उस्तै छ । त्यहा पनि २ जनामात्र कर्मचारी छन् । यसअघि संघीय सरकारले सञ्चालन गर्दै आइरहेको सिँचाइ कार्यालय जोडेर प्रदेश सरकारले जलस्रोत थपेको हो । तर, त्यस कार्यालयलाई भने चालु वर्ष ८ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

गत भदौ महिनामा गएको बाढी पहिरो तथा सिँचाइका कामहरु अघि बढेको कार्यालयले जनाएको छ । प्रदेश सरकारद्वारा सञ्चालन भइरहेको जिल्ला अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि आवश्यकता अनुसारको दरबन्दी अपुग भएको पाइएको छ ।

तपाईको प्रतिक्रिया