भानु नगरपालिकाको २० वर्षे योजना

समाधान संवाददाता २०७५ पुष २९ गते १४:५०

कृष्ण न्यौपाने
दमौली
तनहुँको भानु नगरपालिकाले एकीकृत सहरी विकास योजना निर्माण गर्ने भएको छ । २० वर्षपछि नगरपालिकालाई कस्तो बनाउने भन्ने सन्दर्भमा विभिन्न योजनालाई आधार मानेर नगरपालिकाले एकीकृत सहरी विकास योजना निर्माण गर्न लागेको हो ।

भानु नगरपालिका घर भई हाल देशका विभिन्न ठाउँमा रहेका व्यक्तिरुलाई भेला गरी नगरपालिकाले शनिबार गोष्ठीको आयोजना गर्‍यो । गोष्ठीमा पूर्व प्रशासक, प्राध्यापक, राजनीतिज्ञ, इन्जिनियर लगायत सहभागी थिए ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले भानु नगरपालिकाको बृहत्तर विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढ्न २० वर्षे योजना निर्माण गर्न लागिएको बताए । भानु नगरपालिका पर्यटन र कृषिमा अब्बल रहेकाले त्यसैलाई आधार मानेर नगरपालिकाको दीर्घकालीन सोच र रणनीतिक योजना बनाउन लागिएको उनले जानकारी दिए । उनले भने, ‘साहित्यमार्फत् जसरी भानुभक्त आचार्य प्रख्यात भए, साहित्यिक पर्यटनकै माध्यमबाट अब समग्र नगरपालिकालाई समेत प्रख्यात बनाउन जरुरी छ ।’

Advertisement

कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले कृषि र पर्यटनलाई नगरपालिकाको विकासको प्रमुख माध्यम बनाउन आग्रह गरे । भानु नगरपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकाले त्यसैलाई नगरको विकासको प्रमुख माध्यम बनाउन मन्त्री चुमानले जोड दिए । नेपाली भाषाको धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको रुपमा परिचित रहेको भानु नगरपालिकाले साहित्यिक पर्यटनलाई समेत ध्यानमा राखेर योजना बनाउनुपर्ने उनको भनाइ थियो ।

संघीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले धार्मिक पर्यटन, साहित्यिक पर्यटन र कृषिलाई केन्द्रबिन्दुमा राखेर नगरपालिकाले दीर्घकालीन सोच निर्धारण गर्नुपर्ने सुझाव दिए । भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले नगरवासी सबैले अपनत्व स्वीकार गर्ने गरी सबैको सहभागितामा योजना निर्माण गरिने बताए । रिब्स इन्जिनियरिङ कन्सल्टका परामर्शदाता डा.केदार दाहालले कृषि, पर्यटन र प्राकृतिक स्रोत अग्रणी क्षेत्रको रुपमा पहिचान भएको जानकारी गराए । कन्सल्टका परामर्शदाताले विभिन्न चरणमा भानु नगरपालिकाको सम्भावनाबारे स्थलगत अध्ययन गरेका थिए ।

Advertisement

भानु नगरपालिकाको विकासका लागि कस्तो योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने आधार के–के हुन सक्छ भन्ने विषयमा समूहगत छलफल गरिएको थियो । सहभागीलाई भौतिक पूर्वाधार विकास, सामाजिक तथा सांस्कृतिक विकास, आर्थिक विकास, वातावरण व्यवस्थापन, जोखिम न्यूनीकरण र संस्थागत विकास समूहमा विभाजन गरी समूहका सदस्यले नगरपालिकाको दीर्घकालीन सोचर तिनलाई पुष्टि गर्ने योजना प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया