जाजरकोटमा शिक्षित परिवारका महिला पनि छाउगोठमा

समाधान संवाददाता २०७५ पुष २९ गते १५:३८
hfh/sf]6 h'lgrfFb] ufpFkflnsf– $ df 5fpuf]7df a;]sL dlxnf . oxfFsf clwsf+z dlxnf dlxgfjf/L x'Fbf / ;'Ts]/L x'Fbf uf]7 a:g] ub{5g . t:jL/ M x]dGt s];L, hfh/sf]6, /f;;

जाजरकोट (रासस)

जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । 

देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । 

परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै बताएका छन् । छाउगोठ बस्दा चिसोले समस्या हुने गरेको पीडित महिलाहरू बताउँछन् । 

जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । 

विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या भएको छ । शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन नसक्दा व्यवहारमा लागू हुन नसकेको हो । 

उमेर बढ्दै जाँदा शरीरमा देखापर्ने विभिन्न खालका परिर्वतनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहु¥याएर बस्ने र छात्रहरूले हाँसेर उडाउँदा कक्षा नियन्त्रण गर्न समस्या हुने गरेको शिक्षक बताउँछन् । 

विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य भएको नागरिक अगुवा शाहको भनाइ छ । जिल्लाको जुनिचाँदे गाउँपालिका–४ लहादहकी १९ वर्षीया सावित्रा केसीलाई महिनावारी हुँदा गोठमा बस्दा मृत्यु भएको समाचार रेडियोमा सुन्दा प्रत्येक महिनावारीमा डर लाग्ने गर्छ । 

आफू पनि चिसोका कारण कतै केही हुने त होइन भन्दै सधैँ मुटु काँप्ने गरेको उहाँको भनाइ छ । त्यस्तै गाउँपालिका मजकोटकी कौशिला कार्की भन्नुहुन्छ, “बर्सेनि महिनावारीका समयमा ७ दिनसम्म घरको आँगनसम्म छुन पाउँदिन, घरको काम भने सबै गर्नुपर्ने बाध्यता छ ।” कार्की थप्नुहुन्छ, “महिनावारीका समयमा पोषिलो खाना, तातो पानी लगायतका कुरा खानुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि देवता रिसाउँछन् भन्ने मान्यताका कारण घरका मालिकबाट दही, दूध, घिउ खान त के हेर्नसम्म नपाउने अवस्था छ । ” 

यता देउता रिसाए आँखा, कान, फुटाउँदै घोर अनिष्ट हुने उहाँको मस्तिष्कमा सामाजिक छाप परेको छ भने अर्कातिर महिनावारीका बेला चिसोले ज्यान जाने त्रासका साथै यौन दुव्र्यवहारमा परिन्छ कि भन्ने सधैँको पिरलो पनि छ । 

जिल्लाका दुर्गम गाउँमा महिलामा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन कायम हुँदा यहाँका महिलाहरूले महिनैपिच्छे पीडा भोग्नुपरेको छ । सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्नुपर्ने बाध्यता छ । 

छाउपडीलाई महिलाहरूले सामाजिक दवाबका कारण निरन्तरता दिन बाध्य छन् । यस्तो समस्या ग्रामीण शिक्षित र अशिक्षित महिलामा धेरै रहेको जुनिचाँदेका स्थानीय रेशम खड्का बताउनुहुन्छ । 

जिल्लाका अन्य ठाउँमा सुत्केरी हुँदा छुट्टै छाउगोठ नभए पनि गाईभैँसी बाँध्ने ठाउँको एक कुनामा स्थान बनाई बस्ने चलन छ । सुत्केरीदेखि महिनावारी हुँदासम्म गोठको एक कुनामा बस्ने चलन अहिले पनि कायमै रहेको ग्रामीण क्षेत्रका महिलाहरू बताउँछन् । 

नुनको धुलो र सुख्खा रोटीसँग ७ दिनसम्म बिताउनुपर्ने बाध्यता रहेको दुखेसो उनीहरूको छ । दुई तलाको घरमा तल्लो तलामा गाईभैँसी बाँध्ने गरिन्छ भने माथिल्लो तलामा मानिसहरू बस्ने गर्दछन् । गाईभैँसीको मल, मुत्र रहेको ठाउँमा बस्दा दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आउने गरेको बारेकोट गाउँपालिका–७ की पार्वती विकले बताउनुभयो । 

पढेलेखेका विद्यार्थी पनि परिवारको दवाबमा छाउ बार्न बाध्य छन् । द्वन्द्वकालमा समेत छाउपडी प्रथा हटाउन ठुलो प्रयास भएपनि नसकिएको तत्कालीन जनसरकार प्रमुख टेकबहादुर रावलले बताउनुभयो । “जबसम्म हाम्रो दिमागमा देवीदेवतासम्बन्धी मान्यता रहन्छ, तबसम्म यस्ताखालका सामाजिक कुरीतिसँग लड्न ठुलो बल प्रयोग गरेपनि सम्भव कम हुन्छ”, उहाँले भन्नुभयो । जिल्लाको जुनिचाँदे गाउँपालिकाले यो प्रथा उन्मूलन गर्न विभिन्न अभियान सुरु गरेपनि परिणाम आउन नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया