पाेखरामा बढ्दै साइबर अपराध, अभिभावक र प्रहरीलाई हैरानी

समाधान संवाददाता २०७५ पुष २९ गते १७:४१


विकास रोकामगर
पोखरा

केही महिनाअघि जिल्ला प्रहरीलाई फोन आयो – ‘सर हाम्री छोरी हराई । खोजी गर्नुपर्‍यो ।’ सूचना पाएर प्रहरी तत्काल खटियो । हराएकी छोरी फेला पारेर अभिभावकलाई बुझायो ।

त्यसपछि लगातार त्यही अभिभावकको फोन आउन थाल्यो । कास्की प्रहरी खटिँदै फेला पार्दै ल्याउने क्रम चलिरह्यो । एउटै किशोरीलाई खोज्न ६ पटकसम्म प्रहरी परिचालित भइसकेको छ ।

घटना अनुसार छोरीले पहिले अभिभावकसँग मोबाइल मागेकी रहेछिन् । अभिभावकले इच्छा पूरा गरिदिएछन् । पछि ऊ चौबिसै घन्टा मोबाइलमा बिताउन थालेपछि अभिभावकले गाली गरेछन् । छोरीले रिसको झोंकमा मोबाइल फोडिछन् र घर छोडेर हिँडिछन् ।

Advertisement

‘कहिले मर्छु भन्दै महेन्द्रपुलतिर जान्छे । कहिले तिमीहरु नै बस भनेर घर छोडेर हिँड्छे,’ ती अभिभावकको भनाइ उद्दृत गर्दै एसपी ओम रानाले भने, ‘मोबाइल किनिदिएर पनि सुख छैन । नदिएर पनि सुख छैन ।’ अहिले कास्कीमा प्रविधिको दुरुपयोग यसरी दिनानुदिन बढिरहेको एसपी रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा अहिले दिनहुँ ४-५ वटा मौखिक तथा लिखित निवेदन आउने गरेका छन् । तीमध्ये केही आफूले चलाइराखेको सामाजिक सञ्जालको पासवर्ड बिर्सेको पर्छन् त कुनै जीवन र समाज नै अन्त्य गर्छु भन्ने सम्मका निवेदन हुने गर्छन् । ‘धेरै त माया प्रेमका आउँछन् । पहिले मायाप्रेम गर्ने र पछि छुटिसकेर त्यसैबाट बल्याकमेलिङ गर्ने घटना धेरै भएका छन्,’ एसपी रानाले भने ।

Advertisement

सामाजिक सञ्जाललाई धेरैले आर्थिक प्रलोभनको माध्यम पनि बनाएका छन् । धनाढ्य परिवारलाई पसाउन नक्कली आफन्त बनेको निवेदन पनि कास्की प्रहरीमा निवेदन आउने गरेको पाइएको छ । ‘प्रलोभन देखाएर नक्कली आफन्त बन्ने, चिठ्ठा पर्‍यो भन्दै फोन अथवा मेसेज गर्ने घटना पनि बढिरहेको छ,’ रानाले भने, ‘प्राय ठगले पैसा असुलिसकेपछि मात्रै हामीकहाँ निवेदन आउने गरेको छ ।’

जिल्ला प्रहरी कार्यालयमा चालु आर्थिक वर्षमामात्रै साइबर अपराध सम्बन्धी ८ सय २२ वटा निवेदन परेको छ । ती निवेदन केही यहींबाट समाधान भएका छन् भने केही अन्य सम्बन्धित निकायमा पठाइएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साइबर अपराध सम्बन्धी लिखितभन्दा मौखिक निवेदन दिने धेरै छन् ।

‘हामीले यहाँबाट गर्न सक्ने समस्या यहींबाट समाधान गर्छौं नसक्ने मजकुर कार्यालयमा लिखित निवेदन पठाउँछौं,’ रानाले भने, ‘जटिल प्रकारका निवेदन मजकुर कार्यालयमा कारबाही गर्न सिफारिस गर्छौं ।’ उनले साइबर अपराध किशोरकिशोरीमा धेरै देखिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया